ग्लोबल मनी विक २०२६: सहकारीमार्फत वित्तीय सशक्तीकरण
बढ्दो डिजिटल कारोबारको युगमा ई-बैंकिङ र अनलाइन भुक्तानी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र सुरक्षाका बारेमा सचेत रहन यो अभियानले विशेष जोड दिएको छ।
सन् २०१२ देखि विश्वव्यापी रूपमा मनाइँदै आएको 'ग्लोबल मनी विक' को १४ औँ संस्करण यस वर्ष मार्च १६ देखि २२, २०२६ (तदनुसार २०८२ चैत्र २ देखि ८ गते) सम्म "Smart Money Talks" भन्ने मूल नाराका साथ मनाइँदैछ। बालबालिका र युवाहरूमा वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले विशेषगरी पैसाको सही सदुपयोग, नियमित बचत र सुरक्षित लगानीका विषयमा परिवार तथा साथीभाइबीच खुला संवाद गर्न प्रोत्साहित गर्दछ। नेपाल राष्ट्र बैंक र सहकारी विभागले समेत यस अवसरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्पष्ट मार्गदर्शन गरिसकेका छन्। यस परिप्रेक्ष्यमा, नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेका सहकारी संस्थाहरूले यस हप्तालाई केवल औपचारिकतामा मात्र सीमित नराखी युवा पुस्तालाई सहकारी अभियानमा जोड्ने एउटा सुनौलो अवसरका रूपमा उपयोग गर्नु आजको आवश्यकता देखिएको छ।
वर्तमान समयमा नेपाली सहकारी आन्दोलनले भोगिरहेको एउटा मुख्य चुनौती भनेको युवाहरूको न्यून आकर्षण र घट्दो सहभागिता हो। धेरैजसो सहकारीहरू अझै पनि परम्परागत कार्यशैलीमा आधारित रहेका र युवाहरूको चाहना अनुसारको आधुनिक सेवा प्रवाह गर्न नसकेका कारण यो पुस्ता सहकारीबाट टाढिँदै गएको पाइन्छ। युवाहरू स्वभावैले छिटो, छरितो र प्रविधिमैत्री सेवा खोज्छन्। यदि सहकारी संस्थाहरूले आफूलाई डिजिटल रूपान्तरणको मार्गमा अगाडि बढाउन सके र आफ्ना सेवाहरूलाई प्रविधिमार्फत युवाहरूको हात-हातमा पुर्याउन सकेमा मात्र सहकारी पुन: युवा आकर्षणको केन्द्र बन्न सक्छ। ग्लोबल मनी विक २०२६ को मूल थिमले पनि डिजिटल कारोबारमा जोड दिँदै यसमा अपनाउनुपर्ने सावधानीका बारेमा सचेत गराउने लक्ष्य राखेकाले, सहकारीहरूले आफ्ना सदस्यहरूलाई डिजिटल साक्षरता प्रदान गर्न यो समयलाई भरपुर सदुपयोग गर्नु पर्दछ।
सहकारी संस्थाहरूले अबको बाटो तय गर्दा बालबालिका र युवाहरूलाई लक्षित गरी विशेष बाल बचत र युवा उद्यमशीलता योजनाहरू ल्याउनु पर्दछ। सानै उमेरदेखि पैसा व्यवस्थापनका सीपहरू सिकाउँदै "Learn, Save, Earn" को मान्यतालाई व्यवहारमा उतार्न सहकारीले विद्यालय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न सक्छन्। धेरै सहकारीहरूले मोबाइल बैंकिङ, क्यूआर कोड र अनलाइन भुक्तानी जस्ता प्रविधिहरू भित्र्याइसकेका छन्, तर यसबारे युवा सदस्यहरूमा पर्याप्त जानकारी पुग्न सकेको छैन। यस अभियानको अवसरमा डिजिटल सहकारीका फाइदाहरूका साथै यससँग जोडिएका सुरक्षाका चुनौतीहरू जस्तै—साधारण पासवर्ड नराख्ने, ओटिपी (OTP) शेयर नगर्ने र शंकास्पद लिङ्कहरूबाट जोगिने जस्ता विषयमा खुलेर संवाद गर्न सकेमा युवाहरूमा सहकारीप्रतिको विश्वास र अपनत्व बढ्ने निश्चित छ।
What's Your Reaction?

