देउराली सहकारीका पिडीतलाई सम्पर्कमा आउन सीआइबीको आग्रह
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ललितपुरस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थाका पिडीतहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि सीआइबीले हिनामिना भएको रकम उल्लेख गरी उजुरी दिने अनुरोध गरेको हो ।
संस्थामा जम्मा गरेको बचत फिर्ता नपाएको भन्दै सहकारीका सदस्यले उजुरी गरेपछि सीआइबीले विहिबार अध्यक्ष चौलागाईंलाई पक्राउ गरेको हो । अहिलेसम्म पीडितहरुबाट साढे चार करोड रुपैयाँ ठगी भएको भनेर उजुरी परेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
संस्थाले २० हजार सदस्यबाट ३ अर्ब बचत संकलन गरेको बताइएको छ । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीले भक्तपुर र न्यूरोडमा सेवा केन्द्र खोलेको छ । संस्थाले बचत रकम आफ्नै कम्पनीबाट घरजग्गामा लगानी गरेपछि संस्थामा समस्या देखिएको हो ।
यसअघि संस्थाले ठूला बचतकर्ताहरुलाई बचतको सट्टा जग्गा दिने र साना बचतकर्ताहरुलाई नगद नै फिर्ता दिने प्रतिवद्धता गरेको थियो । तर प्रतिवद्धता अनुसार पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले नियामक निकायमा उजुरी गरेका हुन् ।
What's Your Reaction?


