प्रकाशकिय : हामी किन आयौं ?
सहकारी क्षेत्रका विषयलाई संचारमाध्यमबाट आम सर्वसाधारणसम्म पुर्याउने उद्देश्य सहित ‘सहकारी पाना’ डिजिटल वेव पत्रिकाका रुपमा हामी यहाँहरु समक्ष उपस्थित भएका छौं । सहकारी सम्बन्धी सूचना, जानकारी, समाचार तथा विचारलगायतका उपयोगी जानकारीहरु एउटै क्लिकबाट उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हो ।
आर्थिक सर्वेक्षण–२०७९ अनुसार नेपालमा नेपालमा सहकारी संघसंस्थाको संख्या ३१ हजार ३७३ पुगेको छ । यी संस्थाहरुमा आवद्ध ७३ लाख ८१ हजार २१८ जना सर्वसाधारणको ९४ अर्व १५ करोड रुपैयाँ शेयर पुँजी, ४ खर्ब ७८ अर्ब ३ करोड बचत छ । यस्तै सहकारीबाट ४ खर्ब २४ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी भएको छ । सहकारी क्षेत्रबाट ९३ हजार ७७१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अर्थतन्त्रमा सहकारी क्षेत्रको वास्तविक योगदानबारे औपचारिक अध्ययन नभएपनि सहकारीबाट ५ लाखले अप्रत्यक्ष रोजगारी पाएको, कुल ग्राहस्थ उत्पादन (जिडीपी) मा ५ प्रतिशत तथा वित्तिय पहुँचमा २० प्रतिशत योगदान गरेको अनुमान छ ।
गरिव किसानलाई मलविउँ दिनका लागि सरकारी पहलमा सुरु सहकारी अभियानले यतिबेला बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, उपभोक्ता, स्वास्थ्यलगायतका क्षेत्रमा आफ्नो दरिलो उपस्थिती बनाइसकेको छ । बैंकको पहुँचमा पुग्न नसकेका वर्गलाई आधुनिक प्रविधियुक्त वित्तीय वित्तीय सेवादेखि, कृषिमा व्यवसायीकरण, सुपथ मूल्यमा दैनिक उपभोग्य सामान बिक्री वितरणलगतयका काममा सहकारीहरु क्रियाशिल छन् ।
सहकारीहरुको संख्यात्मक विकाससँगै गुणात्मक विकासको अवस्था भने कमजोर छ । कतिपय संस्थाहरुमा आर्थिक अनियमिता भएको र सदस्यको बचत जोखिममा परेको विषय पनि हामीबिच छर्लङ छन् । यो अवस्थाको एउटा कारण कमजोर सहकारी शिक्षाको पनि हो ।
संविधानले अर्थतन्त्रको एक स्तम्भका रुपमा स्वीकार गरेको सहकारी क्षेत्रको ब्यापकता भएपनि संचारमाध्यममा सहकारी क्षेत्रको प्राथमिकता भने अझै कमजोर छ । मुलधारका पत्रिका, टेलिभिजन, रेडियो र अनलाईनमा सहकारीका समाचारले खासै प्राथमिकता पाएको पाइदैन । जसको कारण सहकारी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान अझै ओझेलमा नै छ ।
यो अवस्थामा सहकारी क्षेत्रका विषयलाई संचारमाध्यमबाट आम सर्वसाधारणसम्म पुर्याउने उद्देश्य सहित ‘सहकारी पाना’ डिजिटल वेव पत्रिकाका रुपमा हामी यहाँहरु समक्ष उपस्थित भएका छौं । सहकारी सम्बन्धी सूचना, जानकारी, समाचार तथा विचारलगायतका उपयोगी जानकारीहरु एउटै क्लिकबाट उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हो ।
प्रविधिको विकास र विस्तारसँगै उदाएको अनलाइन पत्रकारीतालाई जिम्मेवार र मर्यादित बनाउँदै हामी आम पाठकमाझ सत्य र निष्पक्ष रुपमा सामाग्रीहरु प्रस्तुत गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं । हाम्रो प्रयासमा सबै सरोकारवाला निकाय र पाठकको साथ, सहयोग र शुभेच्छा रहन्छ भन्ने हाम्रो विश्वास छ । हाम्रो यो प्रयासमा हातेमालो गर्न सम्पूर्णमा हार्दीक अनुरोध गर्दछौं ।
लक्ष्मी श्रेष्ठ, अध्यक्ष
थ्री सिक्टी मिडीया प्राली.