सहकारीको प्रशिक्षण संचालन गर्न मापदण्ड निर्धारण, तालिम कक्ष र दुई जना प्रशिक्षक हुनुपर्ने
काठमाडौं । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले सहकारीका प्रशिक्षणहरु संचालन गर्नका लागि न्यूनतम लागि मापदण्ड निर्धारण गरेको छ । ‘सहकारी शिक्षा तथा प्रशिक्षकसम्बन्धी न्यूनतम मानक निर्धारक २०८० ’ जारी गर्दैै केन्द्रले सहकारी शिक्षा सञ्चालन गर्ने प्रशिक्षण संस्थाहरूको भौतिक पूर्वाधार, जनशक्ति, तालिमका विषयवस्तु लगायतका विषयमा आवश्यक न्यूनतम योग्यता तोकेको हो ।
मापदण्डमा प्रशिक्षण संचालन गर्ने संघसंस्थासँग कम्तीमा एक वटा प्रशिक्षण कक्ष, प्रशिक्षार्थीहरूलाई प्रशिक्षण अवधिभर आवासको सुविधा हुनपर्ने प्रावधान तोकेको छ । यसैगरी कम्तीमा दुई जना आन्तरिक स्रोत व्यक्तिको व्यवस्था गर्नुपर्ने र हरेक तालिममा कम्तीमा २० प्रतिशत स्रोत व्यक्तिहरू प्रशिक्षण संस्था वा साझेदार निकायबाहेकबाट आमन्त्रण गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
सहकारी शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरूमा एकरुपता कायम गर्न तथा गुणस्तर सुनिश्चित गर्नका लागि आधारभूत संस्थागत निर्धारक तथा शैक्षिक तथा प्रशिक्षण कार्यक्रमहरूको प्रशिक्षार्थी समूहअनुसार पाठ्यक्रम, अवधि, स्रोत व्यक्तिको योग्यतालगायतका मानकहरू तोक्नका लागि केन्द्रले मापदण्ड तोकेको हो । सहकारी नियमावली–२०७५ को नियम ७९ मा सहकारीको शक्षिक क्रियाकलापको प्रमाणीकरण गर्ने प्रावधान छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवको अध्यक्षतामा रहने प्रमाणिकरण समितिमा राष्ट्रिय सहकारी महासंघ वा उसले तोकेको प्रतिनिधि, शिक्षा, राष्ट्रिय योजना आयोग र सहकारी मन्त्रालयका सहसचिव, सहकारी विभागका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक र एकजना विज्ञ सदस्य रहने प्रावधान छ । समितिको सदस्य सचिव सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य सदस्य सचिव रहने ब्यवस्था छ । प्रमाणीकरण समितिले नै सहकारी नियमावली अनुसार प्रशिक्षणको मापदण्ड तोकेको हो ।
उक्त समितिले नै गत असोजमा ‘सहकारीको शैक्षिक क्रियाकलापको प्रमाणीकरण कार्यविधि –२०७९’ जारी गर्दै प्रारम्भिक सहकारी शिक्षा बाहेकका सहकारी सम्बन्धी शैक्षिक तथा प्रशिक्षण कार्यक्रमका लागि पाठ्यक्रम प्रमाणीकरण गर्न निर्देशन दिएको थियो ।
मापदण्डमा तालिम संचालन गर्ने संस्थाको क्षमता, भौतिक पूर्वाधार, तालिम अवधि, यसका विषयवस्तुलगायतको विषयहरुमा पनि मापदण्ड निर्धारण गरिएको छ । मापदण्डमा पनि सहकारीका तालिम संचालन गर्नका लागि पाठ्यक्रम स्वीकृत गर्नुपर्ने प्रावधान राखिएको छ ।
What's Your Reaction?


