इमान्दारितापुर्वक आफ्नो कामलाई माया गरेर काम गर्दा सफलता मिल्छ : चित्रा कुमारी पाण्डे (अन्तर्वार्ता)

सुदूरपश्चिम प्रदेशकी उत्कृष्ट व्यवस्थापक चित्रा कुमारी पाण्डेले एकता साकोसको सफलता सुशासन, वित्तीय अनुशासन, प्रविधि र सदस्यको विश्वासमा आधारित रहेको बताएकी छन्। उनले डिजिटल प्रविधि सहकारीका लागि आवश्यकता बनिसकेको भन्दै संस्थालाई नमुना सहकारी बनाउने लक्ष्य सुनाइन्।

२०८३-०५-०२
 0  251
इमान्दारितापुर्वक आफ्नो कामलाई माया गरेर काम गर्दा सफलता मिल्छ : चित्रा कुमारी पाण्डे (अन्तर्वार्ता)

१. सर्वप्रथम, सुदूरपश्चिम प्रदेशको उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित हुँदा त्यो क्षण कस्तो रह्यो? पुरस्कारको खबर पहिलोपटक सुन्दा मनमा आएको पहिलो कुरा के थियो?

-सर्वप्रथम त मलाई आफ्ना अनुभवहरु राख्ने मौका दिनुभएकोमा सहकरिपाना टिम धन्यवाद दिन चाहन्छु।
 

साच्चे नै तपाई सुदुरपश्चिमको उत्कृष्ट व्यवस्थापकमा पर्नुभो भन्ने मेल आउदा मनमा खुसि पनि छायो साथै ईमान्दारी पुर्वक गरेको कामको नतिजा राम्रो नै आउनेरैछ पनि लाग्यो साथसाथै थप जिम्मेवारी थपिएको महसुस पनि भयो। अब त मलाई संस्था संग जोडिएको कुनै पनि कुरामा म सक्दिन, अहिले गर्दिन पछि गर्छु भन्ने छुट पनि रहेन थप जिम्मेवार भएर सदस्यहरुको हितमा अझ उर्जाका साथ लाग्ने उत्पे्ररणा पनि थपिएको अनुभुति पनि रह्यो।

२. एकता साकोसको नेतृत्व/व्यवस्थापनको जिम्मेवारी सम्हाल्दाको सुरुवाती समय सम्झिँदा आजको अवस्थासम्मको यात्रा कस्तो लाग्छ? यो यात्राको कुनै विशेष क्षण अझै सम्झनामा छ? 


-एकता साकोसमा सर्वप्रथम प्रवेश गर्दा संस्था प्रति सदस्यहरुको विश्वासमा कमि, नैराश्यता, ऋणको उच्च माग जस्ता विभिन्न चुनौतीहरु देख्दा सहकारीमा काम गर्न सक्दैन जस्तो पनि लाग्थ्यो । पछि काम गर्दै जादाँ जुन ठाउमा सदस्यहरुले आशा बोकेर मेरो समस्याको समाधान यहि संस्थामा हुन्छ भनेर आएछन् त आशा अनुसारको समस्या समाधान नहुदा गुनासो पोख्नु त सामान्य हो भन्दै आजको दिनसम्म पुगेका छौ।आजको दिनमा सबैभन्दा महत्वपुर्ण उपलब्धी भनेकै सदस्यहरुको संस्था प्रति अटुट विश्वास कायम रहनु हो।

३. सहकारीको व्यवस्थापक हुनु भनेको तपाईंका लागि केवल एउटा पेशा हो कि त्योभन्दा बढी केही हो? आफ्नो भूमिकालाई तपाईं कसरी हेर्नुहुन्छ? 


-सहकारीको व्यवस्थापक हुनु मेरा लागि पेशा भन्दा सामाजिक सेवा बढि हो। आर्थिक पहुच नभएका आम मान्छेका लागि मेरो सहयोगी भुमिका होस् चाहन्छु। 

४. एउटा सफल सहकारी बनाउन सबैभन्दा महत्वपूर्ण तीन कुरा के हुन्? सुशासन, वित्तीय अनुशासन, प्रविधि, कर्मचारी, सदस्यको विश्वास वा अरू केही? 


-सुशासन,वित्तिय अनुशासन र सदस्यहरुको विश्वासका बाहेक प्रविधि र उत्पादन क्षेत्रमा सुरक्षित लगानी मुख्य कुरा हो।

५. व्यवस्थापकको कुर्सीमा बसेपछि बाहिरबाट सामान्य देखिने तर वास्तवमा सबैभन्दा कठिन काम के रहेछ? 


-सदस्यहरुको विश्वास कायम राख्नु, संचालक र कर्मचारी बिचको सन्तुलन कायम राखेर बार्षिक नतिजा उत्कृष्ट निकाल्नु।

६. निर्णय लिन निकै कठिन भएको कुनै समय वा चुनौती सम्झनुहुन्छ? त्यस्तो परिस्थितिबाट तपाईंले के सिक्नुभयो? 


-संस्थामा रहेका समस्या र चुनौती संग जुद्धै संस्थालाई सदस्यहरुको मनमा बस्न सफल बनाउने समयमा रोजगारीको अर्को विकल्प आउदा कुन विकल्प छनौट गर्ने ,आफ्नो मात्र प्रगतीको बाटो रोज्ने या आफु संगै संस्थाको प्रगतीको बाटो रोज्ने कुरामा कठिन समय थियो ।अन्तिममा संस्थाको भविष्य संगै आफ्नो भविष्य पनि यतै बनाउने विकल्प रोजियो।

७. एकता साकोसको आजको सफलतामा कर्मचारीहरूको भूमिका कस्तो छ? आफ्नो टिमलाई उत्प्रेरित र जिम्मेवार बनाउन तपाईंले कस्तो शैली अपनाउनुहुन्छ? 


-संस्था सफल रहनुमा प्रविधि संगै ईमान्दार ,कर्मठ कर्मचारीको पनि उत्तिकै महत्वपुर्ण भुमिका रहन्छ । उनिहरुमा उत्प्रेरित र जिम्मेवार बनाउन मैले स्वयम आफु कार्य गरेर देखाउछु । सहकारीको भविष्य नै हाम्रो भविष्य हो भनेर उत्प्रेरित गर्छु।

८. सदस्यहरूको विश्वास जित्नु र त्यो विश्वास कायम राख्नु सहकारीका लागि कत्तिको चुनौतीपूर्ण छ? एकता साकोसले यसका लागि विशेष रूपमा के गर्दै आएको छ?


-सदस्यहरुको विश्वास जित्न र विश्वास कायम राख्न धेरै कठिन छैन। जवाफदेहि, ईमान्दारी र पारदर्शिता कायम राखेर भनेका, बोलेका, निति नियम र निर्णयमा लेखिएका कुराहरुको व्यवहारिक प्रयोग र कार्यान्वयनले चुनौतीको सामाना गरिरहेको हुन्छ।

९. पछिल्ला वर्षहरूमा प्रविधिले सहकारी सञ्चालन गर्ने तरिकामा कस्तो परिवर्तन ल्याएको अनुभव गर्नुभएको छ? 


-प्रविधिको प्रयोगले सहकारीमा कार्यगर्न अत्यन्त सजिलो भएको छ। छिटो छरितो र विश्वासिलो भएकाले सदस्यहरुको विश्वास जित्न र राज्यका निति, निर्देशन कार्यान्वयन गर्न सहज भएको छ।

१०. आजको सहकारी क्षेत्रमा डिजिटल सेवा विकल्प मात्रै हो कि आवश्यकता बनिसकेको छ? आगामी ५ वर्षमा सहकारी क्षेत्रलाई प्रविधिले कहाँ पुर्‍याउने देख्नुहुन्छ? 


-आजको सहकारी क्षेत्रमा डिजिटल सेवा अनिवार्य भएको छ। जुन सहकारी प्रविधिमैत्रि छैन त्यो सहकारी समुदायमा धेरै दिन टिक्न पनि सक्दैन। जतिछिटो प्रविधिमा विकास हुदैछ तेति नै छिटो संस्थामा प्रवधि अवलम्वन गर्न सक्यो तेति नै सदस्यको मनमा संस्था प्रतिको विश्वास कायम रहने अवस्था रहेको छ।

आगामी ५ वर्षमा सहकारी क्षेत्रलाई क्यासलेस, पेपरलेस एआई र स्वचालित ऋण मुल्याङन, अन्तर सहकारी नेटवर्क र साझा एटिएम, गाँउ गाँउमा ट्याब्लेट बैकिङ, केन्दिैकृत नियमन र डिजिटल रिपोटिङ जस्ता परिदृश्यले सहकारी क्षेत्रलाई पुर्ण रुपमा रुपान्तरण गर्ने देखिन्छ।

११. अब अलिकति हल्का प्रश्न—कामको तनाव धेरै भएको दिन तपाईं आफूलाई कसरी Refresh गर्नुहुन्छ? चिया, संगीत, घुमघाम, परिवारसँग समय वा अरू केही? 


-कामको तनाव धेरै हुदाँ तनावको कारण संस्थाका अध्यक्ष ज्यु संग शेयर गर्छु। समाधानका उपायबारे छलफल गर्छु। राम्रो र नराम्रो पक्षको लिष्ट बनाउछु। राम्रो पक्षलाई हेर्दै यतिधेरै सम्भावना पनि त छ समय परिवर्तनशिल छ भोली केहि नयाँ हुनेछ भनेर आफुलाई सकारात्मक बनाउछु।

१२. यदि तपाईं सहकारी क्षेत्रमा नआउनुभएको भए, आफूलाई कुन पेशा वा क्षेत्रमा देख्नुहुन्थ्यो?


-सहकारी क्षेत्रमा नआएको भए सायद शिक्षण पेशा तिर हुन्थेकी जस्तो पनि अनुभुति हुन्छ। 

१३. तपाईंको व्यवस्थापन जीवनमा बारम्बार सम्झिने कुनै एउटा भनाइ, सिद्धान्त वा जीवनमन्त्र छ? 


- "जे हुन्छ राम्रो को लागि हुन्छ" यो जीवन मन्त्र हो।

१४. विशेषगरी सहकारी क्षेत्रमा नेतृत्व गर्न चाहने युवा तथा महिलाहरूलाई आफ्नो अनुभवबाट के सन्देश दिन चाहनुहुन्छ? 


-सामाजिक सेवाको उदेश्य राख्नु हुन्छ भने सहकारी सबैभन्दा उत्तम विकल्प हो। यसमा आर्थिक, सामाजिक र साँस्कृतिक सबैपक्ष जोडिएका छन् भन्छु।

१५. यो सम्मानपछि अब अर्को लक्ष्य के हो? एकता साकोसलाई आगामी केही वर्षमा कहाँ पुर्‍याउने सपना देख्नुभएको छ? 


-अबको लक्ष्य उत्कृष्ट सहकारीको पुरुस्कार पाउने लक्ष्य छ। सहकारीलाई नमुना सहकारी बनाउदै बाह्य लगानी आवश्यक नपर्नेमा पुर्याउनेछ।

१६. अन्त्यमा—एकता साकोसका सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूलाई तपाईं के भन्न चाहनुहुन्छ?


-यो सम्मान मेरो मात्र एकल प्रयासले हैन एकता साकोसका सम्पुर्ण सदस्य, सम्मानित संचालक समिति ज्यु, लेखा सुपरिवेक्षण समिति र अन्य उप समिति ,कर्मचारी साथीहरु र शुभेच्छुकहरुको सामुहिक मेहनतको परिणाम हो। यो सम्मानको सम्पुर्ण श्रेय तपाईहरुलाई नै अर्पण गर्दछु। धेरै धेरै धन्यवाद। 

अन्तिम प्रश्न


१७. आजको चित्रा कुमारी पाण्डेले सहकारी क्षेत्रमा पहिलो दिन काम सुरु गरेकी ‘त्यो बेलाकी चित्रा’ लाई भेट्न पाउनुभयो भने, उहाँलाई के भन्नुहुन्थ्यो?


- आजको सानो सानो कामले पनि भोलीको दिनमा सफलता दिलाउछ। सधै इमान्दारितापुर्वक आफ्नो कामलाई माया गरेर काम गर्दा सफलता मिल्छ भन्थे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow