मध्य नेपालसँग मेरो सेवायात्राको नवौँ वर्ष : समर्पण, आत्मसन्तुष्टि र इमान्दार सेवा
सहकारीमा काम गर्नु मेरो लागि केवल एउटा पेशा होइन। यो सदस्यको बचतसँग जोडिएको विश्वास, ऋणसँग जोडिएको सपना र संस्थासँग जोडिएको भविष्यप्रतिको जिम्मेवारी हो।
मध्य नेपालसँग मेरो सेवायात्राको नवौँ वर्ष नौ वर्ष केवल समयको गणना होइन, विश्वास,जिम्मेवारी, सिकाइ र समर्पणको एउटा लामो यात्रा हो। आज भदौ १ गतेदेखि मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. मार्फत सदस्यहरूको सेवामा समर्पित मेरो यात्रा नवौँ वर्षमा प्रवेश गरेको छ।
पछाडि फर्केर हेर्दा बितेका यी वर्षहरू केवल जागिरे जीवनका वर्षजस्ता लाग्दैनन्। यी वर्षहरू असल कर्मबाट विश्वास जित्ने प्रयास, जिम्मेवारी निर्वाह गर्ने क्रममा भोगेका संघर्ष,असफलताबाट प्राप्त सिकाइ, सफलतासँगै थपिएको जिम्मेवारी र सदस्यको मुहारमा देखिने सन्तुष्टिमा आफ्नो कामको अर्थ खोजेका हजारौँ क्षणहरूको संगालो हुन्। सहकारीमा काम गर्नु मेरो लागि केवल एउटा पेशा होइन। यो शेयर सदस्यको बचतसँग जोडिएको विश्वास,ऋणसँग जोडिएको सपना र संस्थासँग जोडिएको भविष्यप्रतिको जिम्मेवारी हो।
कुनै सदस्यले जीवनभरको कमाइ संस्थामा विश्वास गरेर बचत गर्दा होस् वा आफ्नो व्यवसाय, शिक्षा,घर वा अन्य आवश्यकता पूरा गर्न ऋण लिँदा-त्यससँग जोडिएको विश्वासलाई सामान्य रूपमा लिन सकिँदैन। यही भावनाले हरेक दिन आफूलाई अझ इमानदार, सक्षम, अनुशासित र उत्तरदायी बनाउने प्रयास गर्दै आएको छु। यस यात्राका क्रममा संस्थाले दिएको अवसर, सिकाइ र जिम्मेवारीले मेरो व्यावसायिक यात्रालाई निरन्तर अगाडि बढाएको छ।
यही निरन्तरता, मेहनत र संस्थाप्रतिको समर्पणको परिणामस्वरूप आज म सहायक कार्यकारी अधिकृतको भूमिकामा रहेर थप जिम्मेवारी निर्वाह गर्ने अवसरमा आइपुगेको छु। यो पद मेरा लागि केवल उपलब्धि होइन, अझ ठूलो जिम्मेवारी र अझ उत्कृष्ट काम गर्नुपर्ने प्रतिबद्धताको अर्को चरण हो । यो यात्रामा मलाई विश्वास गर्ने सम्पूर्ण शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, सल्लाहकारज्यूहरू, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, व्यवस्थापन तथा सम्पूर्ण सहकर्मीहरू र शुभेच्छुकहरूप्रति म हृदयदेखि नै कृतज्ञ छु । तपाईंहरूको विश्वास, सुझाव, सहयोग र सद्भावले नै यो यात्रा सम्भव भएको हो ।
कहिलेकाहीँ मनमा प्रश्न आउन सक्छ-“यो मान्छे किन सहकारीमै यति धेरै अल्झिएको होला?” मेरो उत्तर सरल छ - म अल्झिएको होइन, जोडिएको छु । सदस्यको विश्वाससँग जोडिएको छु, संस्थाको उद्देश्यसँग जोडिएको छु र आफ्नो कर्मसँग जोडिएको छु। त्यसैले अबको मेरो अठोट यस्तो वातावरण निर्माण गर्नु हो, जहाँ सहकारीमा मेरो संलग्नता देखेर मानिसहरूले भन्न सकून- “यो मान्छे सहकारीमा किन अल्झिएको होला?” होइन, “यो मान्छे सहकारीबाट नै कति खुसी छ है!” यही खुसी,यही आत्मसन्तुष्टि र यही विश्वासलाई मेरो कर्मको ऊर्जा बनाउँदै आगामी दिनमा अझ राम्रो सेवा, अझ प्रभावकारी कार्यसम्पादन र अझ सदस्यकेन्द्रित संस्थागत विकासमा योगदान गर्ने मेरो दृढ अठोट छ ।
यी वर्ष पूरा भएका दिनलाई केवल उत्सवका रूपमा होइन, आफूले गरेका कामको समीक्षा गर्ने, कमजोरी सुधार्ने र आगामी यात्रालाई अझ अर्थपूर्ण बनाउने अवसरका रूपमा लिएको छु । नवौँ वर्षमा प्रवेशसँगै जिम्मेवारी अझ गहिरिएको छ,अपेक्षा अझ बढेको छ र सेवाप्रतिको समर्पण अझ बलियो भएको छ । मध्य नेपालसँगको यो यात्रा अझ लामो, अझ अर्थपूर्ण र अझ गौरवपूर्ण बन्नेछ । सदस्यको विश्वास मेरो ऊर्जा हो, संस्थाको प्रगति मेरो सन्तुष्टि हो र इमान्दार सेवा मेरो अठोट हो ।
What's Your Reaction?


