सहकारीमा खतराको संकेत, ६५% संस्थामा ५ प्रतिशत बढी खराब कर्जा

गत वर्षदेखि वित्तीय क्षेत्रमा देखिएको तरलता अभावसँगै कतिपय सहकारी संस्थाहरुले बचत फिर्ता समेत गर्न सकेका छैनन् । एकातर्फ बचत संकलन घट्दै गएको र अर्कोतर्फ संचालक तथा सदस्यहरुबाट ऋण असुली नहुँदा समस्या बढ्दै गएको संचालकहरु बताउछन् ....

२०८०-०७-१६
 0  302
सहकारीमा खतराको संकेत, ६५% संस्थामा ५ प्रतिशत बढी खराब कर्जा

काठमाडौं । कोभिड–१९ को महामारी र विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र सुशासन अभावका कारण समस्यामा परेको सहकारी क्षेत्रमा खराव कर्जाको अवस्था डरलाग्दो देखिएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै सहकारीहरुको ऋण असुली नहुँदा ६५ प्रतिशत सहकारी संस्थाहरुको खराब कर्जा ५ प्रतिशत नाघेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले औल्याएको छ । 

अहिले नियामक निकायसँग सहकारी क्षेत्रको कारोबारबारे अद्यावधिक तथ्यांक छैन । तर, कार्यदलले गरेको अध्ययनमा भने १६.३३  प्रतिशत संस्थामा कुल कर्जा लगानीमा भाखा नाघेको ऋण २० प्रतिशत माथि रहेको पाईएको छ । भाखा नाघेको ऋण २० प्रतिशत माथि हुनु भनेको उच्च जोखिमयुक्त अवस्था भएको कार्यदलले उल्लेख गरेको छ । 

यसैगरी अध्ययनमा ३५.२ प्रतिशत उत्तरदाताका संस्थाहरुमा भाखा नाघेको कर्जा ५ प्रतिशत भन्दा कम रहेको देखिएको छ । यस्ता सहकारी संस्थाहरुलाई कम वित्तीय जोखिम रहेका संस्थामा वर्गिकरण गर्न सकिन्छ । वित्तीय जोखिमको दृष्टिकोणबाट हेर्दा एक तिहाई संस्थाहरु स्वस्थ अवस्थामा र त्यतिनै संख्यामा उच्च जोखिममा रहेको पाइएको छ । ५ प्रतिशत देखि १० प्रतिशत सम्म भाखा नाघेको ऋण भएको सहकारी संख्या करिव ३० प्रतिशत र १८ प्रतिशतमा भाखा नाघेको ऋणको अनुपात १० देखि २० प्रतिशत रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

गत वर्षदेखि वित्तीय क्षेत्रमा देखिएको तरलता अभावसँगै कतिपय सहकारी संस्थाहरुले बचत फिर्ता समेत गर्न सकेका छैनन् । एकातर्फ बचत संकलन घट्दै गएको र अर्कोतर्फ संचालक तथा सदस्यहरुबाट ऋण असुली नहुँदा समस्या बढ्दै गएको संचालकहरु बताउछन् । 

यसैगरी खराब कर्जाबाट सहकारी संस्थालाई बचाउन सहकारीमा कर्जा जोखिम व्यवस्थाको प्रावधन पनि कमजोर छ । कानुन अनुसार संस्थाहरुले असल कर्जामा १ प्रतिशत, शंकास्पद कर्जामा ३३ प्रतिशत र खराब कर्जामा शत प्रतिशत जोखिम व्यवस्था गर्नुपर्छ । तर, अधिकांश सहकारीहरुले जोखिम व्यवस्था गरेका छैनन् । 

यसैगरी सहकारीमा कर्जा सूचना तथा ऋण नतिर्ने व्यक्तिलाई कालोसूचीमा राख्ने ब्यवस्था समेत कार्यान्वयमा आएको छैन । जसले गर्दा सहकारी संस्थाका लागि ऋण असुली चूनौतिपूर्ण बन्दै गएको छ ।  जोखिम ब्यवस्था नगर्दा खराब कर्जाका कारण सहकारी संस्थाहरुको भविश्य नै अन्योलमा परेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता