सहकारी बचाउन नेताहरुको गुहार

काठमाडौं । समस्या गहिरिदै गएपछि सहकारी संस्थाहरु बचाउनका लागि नेताहरुले गुहार माग्न थालेका छन् । सहकारीप्रति नकारात्मकता बढ्दै जानुका साथै समस्याग्रस्त संस्थाहरुको संख्या समेत बढ्न थालेपछि अभियानका नेताहरुले सहकारी जोगाउनका लागि सहयोग माग्न थालेका हुन् ।
सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमार्फत तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजना सरकारलाई बुझाएको भन्दै ती कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । अर्थतन्त्र अझै सहज बाटोमा जाने सम्भावना नरहेको भन्दै अर्थतन्त्र सुधारका लागि सहकारी लगायत सबै क्षेत्र अझै संबेदनसिल बनेर अगाडि बढनु पर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष कडेलले केही औलामा गन्न सक्ने सहकारीले बदमासी कारण समग्र सहकारी बदनाम बनेको समेत दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई बचाउन आवश्यक रहेको बताउनुभयो । ‘देशको आर्थिक स्थिति कमजोर भएको छ । यसले सहकारी क्षेत्र पनि संकटमा गएको छ। सहकारी क्षेत्रलाई बचाउन आवश्यक छ’ उहाँले भन्नुभयो । अहिलेको अवस्थामा सहकारीलाई बचाएर मात्र तरलता व्यवस्थापन र नेतृत्व विकासका कामहरू गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
What's Your Reaction?






