सहकारीहरु तरलताको उच्च जोखिममा, १० प्रतिशत भन्दा कम तरलता भएका संस्थाको संख्या अधिक
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी संस्थाहरुमा तरलताको उच्च जोखिममा देखिएको बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंकद्धारा आयोजित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० को उद्घाटन समारोहमा बोल्दै उहाँले ५ देखि १० प्रतिशत तरलता अनुपात रहेका सहकारीहरुको संख्या अत्याधिक ठूलो रहेको र एकैपटक ठूलो संख्यामा सदस्यहरु बचत फिर्ता माग्न जाँदा समस्या भएको उल्लेख गर्नुभयो । सहकारीमा समस्या आउँदा राम्रा संस्थाहरुले पनि सदस्यलाई विश्वासमा लिन नसकेको उहाँको भनाइ थियो ।
कार्यक्रममा उहाँले अधिकांश सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त अनुसार काम नगर्दा समस्या सिर्जन भएको बताउँदै अहिलेको समस्याको कारण र समाधानका उपायहरु पहिचान गर्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने सचिव दुवाडीले औल्याउनुभयो ।सहकारीमा आन्तरिक नियन्त्रण पद्दति बलियो बनाएमा मात्र समस्या नआउनु बताउदै त्यसका लागि लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुनेमा उहाँले जोड दिनुभयो । अहिले बजारमा देखिएको समस्याले सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ हुन सकेको छ छैन भन्नेकुरालाई पुष्टि गरेको उहाँले बताउनुभयो ।
कतिपय सहकारीका सञ्चालकहरुलाई नै आफु सञ्चालक भएको समेत जानकारी नहुने विषय पनि गुनासो आएको दुवाडीले जानकारी दिनुभयो । ‘अहिले म सहकारीको सञ्चालक होइन भनेर निवेदन दिनेको चाङ्ग लाग्न थालेको छ, म कसरी सञ्चालक बनेँ, सहकारीबाट पहिले नै राजिनामा दिइसकेको हुँ भनेर भन्ने गरेका छन् तर, सञ्चालकहरु समस्याबाट पन्छिन वा भाग्न पाउदैनन् ।’
शुक्रबारसम्म संचालन हुने गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । गोष्ठीको पहिलो दिनमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था विषयमा राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटाले, वित्तीय सहकारीको जोखिम मापनः संरचना र पद्धति विषयक कार्यपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले, सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिंखडाले र सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा सञ्चालन एवं अनुपालना जोखिमः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
शुक्रबार सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास विषयमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ता मणी शिवाकोटीले प्रस्तुत गर्नेछन् । दोस्रो सत्रमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विधि प्रविधि र औजार विषयमा एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले र सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख काशीराज दाहालले सहकारीको विद्यमान संकट सामना : रणनीति र भावी कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुती गर्नुहुनेछ ।
काठमाडौंको याक एण्ड यति होटलमा भइरहेको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहेको बैंकले जनाएको छ । लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति विकास गर्ने गोष्ठीको मुख्य उद्देश्य रहेको अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।
What's Your Reaction?


