सहकारी संस्थाको दर्ता अभिलेखीकरण प्रक्रिया टुङ्गिँदै: समयसीमा भित्र विवरण नबुझाए इजाजत पत्र नपाइने
तोकिएको समयसीमा भित्र दर्ता प्रक्रिया पूरा नगर्ने संस्थाहरूले आगामी दिनमा इजाजत पत्र प्राप्त गर्न नसक्ने स्पष्ट पारेको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने प्रक्रिया अब अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणले हालै एक सूचना जारी गर्दै तोकिएको समयसीमा भित्र दर्ता प्रक्रिया पूरा नगर्ने संस्थाहरूले आगामी दिनमा इजाजत पत्र प्राप्त गर्न नसक्ने स्पष्ट पारेको छ। सहकारी क्षेत्रमा बढ्दै गएको चुनौती र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले "बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२" बमोजिम यो प्रक्रिया सुरु गरेको हो। २०८२ साल मङ्सिर १० गतेदेखि विधिवत् रूपमा प्रारम्भ भएको यो अभिलेखीकरण अभियानले सहकारी क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने लक्ष्य राखेको छ।
प्राधिकरणका अनुसार, सुरुवाती समयमा दिइएको म्याद अपर्याप्त भएको महसुस गरी मापदण्डको दफा ३(४) को व्यवस्था प्रयोग गरेर समयसीमा थप गरिएको थियो। थपिएको यो समय अवधि आगामी २०८२ साल चैत १७ गते सम्म कायम रहनेछ। यस अवधिभित्र नेपालभर सञ्चालनमा रहेका र बचत तथा ऋणलाई मुख्य उद्देश्य बनाएका सबै सहकारी संस्थाहरूले अनिवार्य रूपमा दर्ता अभिलेखीकरणका लागि तोकिएको दस्तुर बुझाउनुपर्नेछ। दस्तुर बुझाएको प्रमाणित बैंक भौचर र संस्थाको सम्पूर्ण विवरण अनलाइन वा तोकिएको संयन्त्र मार्फत प्रविष्ट (Entry) गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यो प्रक्रिया सहकारीहरूको कानुनी वैधता र तिनीहरूको वित्तीय स्वास्थ्य परीक्षणका लागि अनिवार्य मानिएको छ।
What's Your Reaction?

