सहकारीमा आइतवार विदाको अन्योल: सुरक्षा जोखिम मोलेरै कारोबार

बैंकहरू बन्द हुँदा सहकारी मात्र खुल्ला रहनुले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ

२०८२-१२-२७
 0  275
सहकारीमा आइतवार विदाको अन्योल: सुरक्षा जोखिम मोलेरै कारोबार

विश्व राजनीति र विशेष गरी पश्चिम एसियामा चुलिँदो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ। नेपाल जस्तो पूर्ण रूपमा आयातित इन्धनमा निर्भर मुलुकका लागि यो एउटा गम्भीर आर्थिक चुनौती हो। यही विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले २०८२ चैत्र २३ गतेदेखि लागू हुने गरी साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र बाँकी दिनमा कार्यालय समय बिहान ९:०० देखि ५:०० बजेसम्म कायम गर्ने रणनीतिक निर्णय लिएको छ। यो निर्णय केवल बिदा दिने प्रयोजनका लागि मात्र नभई, देशको अमूल्य विदेशी मुद्रा बाहिरिनबाट जोगाउन र पेट्रोलियम पदार्थको खपतमा कम्तीमा १० देखि १५ प्रतिशतले कमी ल्याउने उद्देश्यले अभिप्रेरित छ।


नेपाल राष्ट्र बैंकले सरकारको नीतिलाई आत्मसात् गर्दै सबै क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आइतबार बिदा दिन निर्देशन जारी गरिसकेको छ। यस्तो अवस्थामा सहकारी क्षेत्रले स्व-नियमन को नाममा फरक बाटो रोज्नु व्यावहारिक देखिँदैन। वित्तीय प्रणालीका अन्य अंगहरू बन्द हुँदा सहकारी मात्र खुल्ला रहनुले गम्भीर सुरक्षा जोखिम निम्त्याउँछ। आइतबार संकलन भएको नगद बैंकमा जम्मा गर्न नपाउँदा संस्थाको भल्टमा रहने जोखिमपूर्ण मौज्दातले एकातिर बीमाको सीमा नाघ्छ भने अर्कोतिर आपराधिक समूहका लागि सहकारीहरू सजिलो निशाना बन्न सक्छन्। त्यसैले, राष्ट्रिय संकटको घडीमा वित्तीय सुरक्षा र नीतिगत एकरूपताका लागि सहकारीले पनि यस प्रणालीलाई पछ्याउनु अनिवार्य देखिन्छ।


सहकारी सञ्चालकहरूमा कर्मचारीले कम काम गर्ने हुन् कि भन्ने चिन्ता देखिनु स्वाभाविक भए पनि गणितीय रूपमा कार्यघण्टा घटेको छैन। हिजोको १०-५ को तालिका र आजको ९-५ को तालिकाले प्रदान गर्ने साताको ४० घण्टा कार्य समय उही हो। बरु, इन्धनको मूल्य वृद्धि भइरहेको समयमा दुई दिन बिदा दिँदा कर्मचारी र सदस्य दुवैको यातायात खर्च जोगिनुका साथै सवारी साधनको कम प्रयोगले राष्ट्रिय इन्धन खपतमा ठूलो योगदान पुग्छ। यसले कर्मचारीलाई मानसिक रूपमा स्फूर्त राख्ने र कार्यस्थलमा उपस्थित हुँदा पूर्ण क्षमताका साथ काम गर्ने वातावरण निर्माण गर्दछ।


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको सहजता नभएसम्म र सरकारले इन्धन बचतको नीति लिएसम्म सहकारीहरूले यसलाई "डिजिटल फड्को" मार्ने अवसरको रूपमा लिनुपर्छ। अब सहकारीको सेवा भौतिक काउन्टरमा मात्र सीमित हुनु हुँदैन। सदस्यहरूले आइतबार मात्र होइन, साताको सातै दिन र २४सै घण्टा (7/24) मोबाइल बैंकिङ, क्युआर पेमेन्ट र अनलाइन फण्ड ट्रान्सफरमार्फत कारोबार गर्न पाउनुपर्छ। यदि सहकारीले आफ्ना सदस्यहरूलाई घरमै बसेर सेवा लिने प्रविधि दिन सक्यो भने इन्धन खपत घटाउने सरकारको लक्ष्यमा सहयोग पुग्नेछ र सहकारीको व्यवसाय पनि रोकिने छैन।


नेपालको सहकारी आन्दोलन सधैँ समुदाय र राष्ट्रको हितमा केन्द्रित रहँदै आएको छ। हालको ऊर्जा संकट र पेट्रोलियम पदार्थको असहजताको घडीमा सरकारले लिएको नीतिलाई सहयोग गर्नु प्रत्येक जिम्मेवार सहकारीको कर्तव्य हो। बैंकहरूले आइतबार बिदा लागू गरिसकेको सन्दर्भमा सहकारीले पनि सुरक्षा जोखिमलाई ध्यान दिँदै र प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नु पर्दछ। अबको सहकारी ढड्डा र काउन्टर मा मात्र होइन, प्रविधि र सदस्यको मोबाइल मा पुग्नुपर्छ। यसरी मात्र हामीले एकातिर राष्ट्रिय संकटमा योगदान पुर्‍याउन सक्छौँ भने अर्कोतिर युवा पुस्तालाई सहकारीको आधुनिक स्वरूपसँग जोड्न सफल हुनेछौँ।

English Summery:

Due to the global petroleum supply crisis, the Nepal government has mandated a two-day weekend to save fuel and foreign reserves. While commercial banks have complied, many cooperatives still operate on Sundays, facing high security risks as cash cannot be deposited, making them targets for theft.

The transition to a 9-5 schedule maintains the standard 40-hour work week, so productivity remains unchanged. This situation serves as a vital call for cooperatives to transition from traditional counters to 24/7 digital banking. Embracing this change will ensure financial security, support national interests, and attract the younger, tech-savvy generation to the cooperative movement.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow