६९औँ राष्ट्रिय सहकारी दिवस: राष्ट्रिय सहकारी पुरस्कार २०८२ को घोषणा
यस वर्षको गरिमामय 'राष्ट्रिय सहकारी पुरस्कार' बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे सम्मानित हुनुहुने भएको छ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा सम्पन्न ६९औँ राष्ट्रिय सहकारी दिवसको विशेष समारोहका बीच राष्ट्रिय सहकारी पुरस्कार २०८२ को घोषणा गरिएको छ। महासंघका उपाध्यक्ष एवं पुरस्कार छनोट उपसमितिका संयोजक खेमबहादुर पाठकले विभिन्न विधामा पुरस्कृत हुने संस्था तथा व्यक्तित्वहरूको नामावली सार्वजनिक गर्नुभएको हो। यस वर्षको गरिमामय 'राष्ट्रिय सहकारी पुरस्कार' बाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे सम्मानित हुनुहुने भएको छ। यस्तै, संस्थागत तर्फ झापा जिल्ला सहकारी संघलाई 'उत्कृष्ट सहकारी पुरस्कार' बाट सम्मान गरिने घोषणा गरिएको छ।
पुरस्कार घोषणा कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट सहकारीहरूको नाम समेत सार्वजनिक गरिएको छ। जसअनुसार कोशी प्रदेशबाट मेचीनगर साकोस, मधेश प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था बर्दिबास, र बागमती प्रदेशबाट महिला मिलन साकोस मकवानपुर छनोट भएका छन्। त्यसैगरी गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी बाँके, कर्णालीबाट विरेन्द्रनगर साकोस सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी बाजुराले उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गर्ने भएका छन्।
व्यक्तिगत तर्फ उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीकी व्यवस्थापक शर्मिला गौतम भट्टराई सम्मानित हुनुहुने भएको छ भने सहकारी पत्रकारिता पुरस्कारबाट सुनौलो नेपाल डटकमकी प्रदेश ब्युरो प्रमुख चिना थापा सम्मानित हुने हुनुभएको छ। महासंघका अनुसार यी सबै घोषित पुरस्कारहरू आगामी अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा औपचारिक रूपमा प्रदान गरिनेछ।
बधाई तथा शुभकामना
६९औँ राष्ट्रिय सहकारी दिवसको सुखद अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा 'राष्ट्रिय सहकारी पुरस्कार २०८२' बाट सम्मानित हुनुहुने आदरणीय व्यक्तित्व ऋषिराज घिमिरे, उत्कृष्ट घोषित झापा जिल्ला सहकारी संघ, सातै प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरू, उत्कृष्ट कर्मचारी शर्मिला गौतम भट्टराई र पत्रकार चिना थापामा सहकारी पाना परिवार हार्दिक बधाई ज्ञापन गर्दछ। सहकारी अभियानको गरिमा बढाउन र यस क्षेत्रलाई मर्यादित एवं सुशासित बनाउन यहाँहरूले खेल्नुभएको भूमिका प्रशंसनीय छ। यस सम्मानले यहाँहरूलाई सहकारी क्षेत्रको विकास र सुदृढीकरणमा थप क्रियाशील हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
सहकारी पाना परिवार
What's Your Reaction?

