साधारणसभा कि भत्ता दिबस !!
सहकारी पाना । सहकारी संस्थाहरुको साधारणसभा अहिले भत्ता लिने दिनको रुपमा चिनिन थालेको छ । आम सदस्यदले साधारण सभा भन्दा...

सहकारी संस्थाहरूको साधारणसभा अहिले भत्ता लिने दिनको रुपमा परिचित हुन थालेको छ । आम सदस्यले संस्थाको साधारण सभा भन्दा पनि संस्थाले कति भत्ता प्रदान गर्छ भनेर मात्र खोजी गर्ने गरेको पाइन्छ । संस्थाको साधारण सभाले संस्था सुचारु र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
साधारण सभाले सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई साझा हितका विषयमा छलफल गर्न, सामूहिक निर्णयहरू गर्न र आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्ने एउटा खुल्ला मञ्चको रुपमा प्रयोग गर्नुको सट्टा, धेरै सहकारी संस्थाका सदस्यहरूले यसलाई भत्तालिने दिनको रूपमामात्र हेर्दा सहकारी संस्था समस्यामा पर्नु मात्र होइन समझदारी र पारदर्शिताको पनि सङ्कटमा परेको पाइन्छ । यसै विषयमा सहकारीपाना टिमले केही संस्थाको साधारण सभामा उपस्थित केही शेयर सदस्यहरूलाई सहकारीका साधारण सभाको विषयमा स्थलगत कुराकानीको अंशः
तपाई संस्थाको शेयर सदस्य भएर किन यति चाडै वाहिरिनु भयो ?
सविना रुपाखेती : साधारण सभामा भत्तालिन ठाँउ धेरै भिड थियो । भत्ता थापियो घर लागियो बाँकी काम सञ्चालक समितिले गर्छन नि ।
सञ्चालक समितिले तयार पारेको प्रतिवेदन ठिक छ ? सदस्यहरुको हितमा छ ?
रामप्रसादखनाल : मलाई त्यति थाहा छैन, भत्ता दिए । मैले पाउनु पर्ने लिए । अनि म बूढो मान्छे के गर्न बस्नु ।
यस पटक संस्थाले शेयर लाभांश कति प्रतिशत वितरण गर्ने भए छ ?
सितामाया नेपाली : त्यो थाहा भएन सर, भत्ता चाही दिए, त्यो लिए, बाँकी अरु केही थाहा छैन । यति मात्र थाहा छ, आज संस्थाको भत्ता दिने दिन हो।
तपाई वुझ्ने मानिस साधारण सभामा पुरा समय वस्न पर्ने हो । के कस्तोमा के के निर्णय हुन्छ ?यो पनि त शेयर सदस्यले जान्नु पर्ने कुरो हो ।
गोपाल कार्की : हेर्नुन म सरकारी कर्मचारी मान्छे, धन्न संस्थाले ८ बजेबाट भत्ता वाढ्यो, नत्र यो उम्कने थियो । पुरा समय सञ्चालक, कर्मचारी बस्ने हो । अरु सबै उनीहरूले नै मिलाउँछन् ।
यी प्रतिनिधि पात्रहरूबाट पनि के वुझ्न सकिन्छ भने, संस्थाको साधारण सभा भत्ता दिवसको रुपमा सदस्यहरूले लिएको पाइन्छ । अव संस्थाहरूले सदस्यहरूलाई साधारण सभाको बारेमा बुझाउन सकिएन भने साधारण सभा भत्ता दिवसमै सीमित रहन्छ ।
लोकतान्त्रिक निर्णय प्रक्रियाः साधारण सभाहरू संस्थाको प्राथमिक मञ्च हो । जहाँ सदस्यहरूले निर्णय प्रकृयामा भाग लिने अवसर पाउँछन् । प्रजातन्त्र र समानताको सिद्धान्तलाई प्रर्वद्धन गर्दे सहकारीको सबै विषयमा सबै सदस्यहरूको आफ्नो हिस्सा पाउने धारणाको विकास गरिनुपर्छ ।
पारदर्शिकता र जवाफदेहिता : साधारण सभाले पारदर्शिता र जवाफदेहिताको लागी संयन्त्र प्रदान गर्दछ । सहकारी सदस्यहरूले वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य महत्वपूर्ण कुराहरूमा समीक्षा गर्न सक्छन् ।
सञ्चार र सूचना साझेदारी : संस्थाको वार्षिक साधारण सभाले सदस्यहरूलाई महत्वपूर्ण संस्थाको विषयमा छलफल गरी सदस्यहरूलाई सहकारीको प्रगति, परियोजनाहरू, वित्तीय कार्य सम्पादन तथा आफूलाई अप्ठ्यारो परेको विषयमा प्रश्न सोध्न र स्पष्टीकरण माग्न सकिन्छ भन्ने कुरा सदस्यहरूलाई बुझाउन आवश्यक छ ।
नीतितर्जुमा र परिमार्जन : सहकारी संस्थाहरूले आफ्ना नियम, कानुन, नीति तथा कार्यविधिहरू संस्थाका हितमा भएन भएको सदस्य हित विपरित रहेको भए साधारण सभा मार्फत परिमार्जन समेत गर्न सकिन्छ ।
वित्तीय नियन्त्रण : सदस्यले संस्थाको बजेट, लाभांश वितरण दर, लेखा परिक्षण प्रतिवेदन समीक्षा र अनुमोदन समेत गर्न सक्छन् ।
कानुन परिपालनः सदस्यहरूले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको कानून परिपालन नभएको अवस्थामा आपसी छलफल गरी यसको व्यवस्थापन समेत गर्न सक्ने छन ।
संस्थाको साधारण सभालाई भत्तालिने दिवसको रुपमा सदस्यहरूले लिनु भनेको संस्थाका सञ्चालक समितिको समेत कमजोरी हो । यी माथिका विषयवस्तुमा सदस्यलाई छलफल गराउने, सदस्य शिक्षा मार्फत साधारण सभाको महत्व वुझाउने हो भने, फलानाको सहकारी भनेर सदस्यले भन्ने थिएनन् र संस्थाको साधारण सभा हो भन्न सक्ने थिए ।
संस्थाको साधारण सभा लोकतान्त्रिक, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी शासनको प्रवर्द्धनका लागि सदस्यहरु संगको छलफल गरी सदस्यहरूबीच समुदायको भावना बढवा दिन र सहकारी संस्थालाई परिवर्तनशील परिस्थितिमा अनुकुल गर्न तथा आफ्ना सदस्यहरूको सर्वोत्तम हितहरुमा सेवा गर्न सक्षम बनाउन मदत गर्दछ ।
What's Your Reaction?






