अनुदानको पछि लागेर खोलेको संस्थाले कदापी सफलता हासिल गर्न नसक्ने र निरन्तरता पनि पाउन नसक्ने ~ वल वहादुर घिमिरे
नेपालमा सहकारी स्थापनाको लगभग ७० वर्ष समय व्यतित हुँदा समेत आम मानिस जति सहकारी बुझ्नु पर्ने हो, त्यति बुझेका छैनन् जस्तो लाग्छ ...

वचत तथा ऋण सहकारी संस्था बाट उदेश्य परिर्वत गरी कृषि सहकारी संस्था मार्फत कारोवार गरिरहेका इश्वर साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक, वल वहादुर घिमिरे संग हाम्रो सहकारी पाना टिमले गरेको कुराकानी
तपाईको बुझाईमा सहकारी के हो ?
समान हैसियत र उद्देश्य भएका व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो, जहाँ सदस्यहरुको साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता र आकांक्षाहरु पुरा गर्ने उद्देश्यवाट स्वैच्छिक रुपमा एक जुट भई सामूहिक स्वार्थका लागि लोकतान्त्रिक संस्कारबाट सञ्चालन भएको हुन्छ ।
आम मानिसले सहकारी बुझेको छैन जस्तो लाग्छ, आम मानिसलाई सहकारी के हो भन्ने बुझाउन कस्को भूमिका बढी हुन्छ जस्तो लाग्छ ?
नेपालमा सहकारी स्थापनाको लगभग ७० वर्ष समय व्यतित हुँदा समेत आम मानिसले जति सहकारी बुझ्नु पर्ने हो, त्यति बुझेका छैनन् जस्तो लाग्छ । नेपालको संविधानमा अर्थतन्त्रका तीन खम्बा मध्येको एक खम्बाका रुपमा परिभाषित सहकारी व्यवसायको प्रवर्द्धन र विकासमा राज्यका तर्फबाट खेल्नु पर्ने भूमिका र सहकारी व्यवसायका बारेमा नागरिकमा जति सुसूचित गर्नु पर्ने हो, त्यति गरे जस्तो लाग्दैन ।
फेरी सहकारी संस्थाहरुको नियमन फितलो भएका कारण सहरकेन्द्रित केही सहकारी संस्थाहरुमा संकट उत्पन्न हुने बित्तिकै सहकारी बुझेका नागरिकहरुमा समेत सहकारी प्रति शंका र वितृष्णा उत्पन्न हुन थाले, जसको फलस्वरुप बैकको पहुँच नपुगेका, साहु महाजनहरुको चर्को व्याजको कारण कहिल्यै माथी उठ्न नसकेका ग्रामीण क्षेत्रको दुरदराजमा बसोवास गर्ने बर्गहरुको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सहकारी संस्थाले खेलेको अतुलनीय योगदान ओझेलमा परे जस्तो देखिन गयो ।
त्यसैले सहकारी संस्थाका सदस्यहरु तथा आम नागरिकहरुलाई सहकारी व्यवसायका विषयमा पर्याप्त मात्रामा सूचना तथा शिक्षा प्रदान गर्नु पर्ने अवस्था आएको छ । यसका लागि राज्यका तिनै तहका अङ्गहरु स्थानीय, प्रदेश र संघिय सरकार, सहकारीका छाता संघहरु तथा स्वयम् सहकारी संस्थाहरुले समेत समय समयमा अन्तरक्रिया, गोष्ठि तथा सहकारी व्यवसायका बारेमा सन्देशमूलक कार्यक्रमहरु सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेको खण्डमा आम नागरिकहरुको सहकारी प्रति सकारात्मक धारणा सिर्जना हुने देखिन्छ ।
तपाई व्यवस्थापक भएको संस्था बचत तथा ऋण सहकारी संस्थाबाट कृषि परिणत भयो, के उद्देश्यका लागि परिवर्तन गर्नु भएको हो ?
हेर्नुस, हाम्रो संस्थाले बचत तथा ऋणको कारोवार गरेर लगभग ११ वर्ष भन्दा बढी समय व्यतित गरेको छ । बचत तथा ऋणको कारोवार गर्दा समेत संस्थाले सदस्य र समुदायको रुपान्तरणका लागि सदैव अग्रसर भई जस्तो सुकै विषम परिस्थितिमा समेत सदस्य र समुदायको हितलाई सर्वोपरी ठानी संस्था सञ्चालन गरेका थियौ । बचत तथा ऋण सहकारी संस्थामा कृषि उत्पादनका क्षेत्रमा सहयोग पुग्ने गरी सफ्ट लोन उपलब्ध हुने अवस्था थिएन । जसले गर्दा कृषि उत्पादनका क्षेत्रमा आवद्ध सदस्य तथा गैर सदस्यहरुलाई पर्याप्त मात्रामा सहयोग गर्न सकिएन ।
हाल आएर यस संस्थाले सेवा प्रदान गरिरहेको ४ वटा स्थानीय तहहरु बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र ग्रामथान गाउँपालिका मध्ये मोरङ जिल्लाको तरकारी उत्पादनको हबका रुपमा रहेको कटहरी र जहदा गाउँपालिकामा बसोवास गर्ने कृषि उत्पादनसँग जोडिएका सदस्य तथा गैर सदस्यहरुलाई कृषि उत्पादन वृद्धिका लागि सहुलियत ऋण, उन्नत विउ बिजन, रासायनिक मलको व्यवस्था र प्राविधिक सहयोग पु-याउनुका दुग्ध तथा मासुजन्य बस्तुको उत्पादनका लागि उक्त भेगमा बसोवास गर्ने बेरोजगार युवाहरु समेतलाई स्वरोजगारको वातावरण तयार गरी उत्पादनसँग जोड्न र उत्पादित बस्तुलाई बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ संस्थालाई हाल आएर साना किसान कृषि सहकारी संस्थामा रुपान्तरण गरेका हौं ।
कृषि सहकारीलाई त सरकारबाट अनुदान पनि आउछ, कहिँ उदेश्य परिबर्तन अनुदान को लोभ मा गरिएको हो कि ?
पटक्कै होइन, राज्यले समेत सहकारी संस्थाहरुलाई उत्पादनका क्षेत्रमा जोड दिन आह्वान गरिरहेको अवस्थामा यस संस्थाले समेत उत्पादनलाई बढावा दिने अभिप्रायबाट कृषि सहकारी संस्थामा रुपान्तरण भएका हौं, अनुदानको पछि लागेर खोलेको संस्थाले कदापी सफलता हासिल गर्न नसक्ने र निरन्तरता पनि पाउन नसक्ने भएकोले यस संस्थाको उद्देश्य समेत अनुदान आउछ भन्ने कुरा होइन । संस्थाले कार्यक्षेत्रमा बसोवास गर्ने सदस्य तथा गैर सदस्यहरुको अवस्थामा सुधार ल्याउन र समुदायको वृहत्तर हितका लागि सधै चिन्तन र प्रयत्नशील हुनु पर्दछ भन्ने लाग्दछ ।
यसै क्रममा यस सहकारी संस्था समेत विगत ३ वर्ष देखि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.मा आवद्ध रही राज्यले सेवा व्यवसाय, पशुपालन तथा तरकारी उत्पादनका क्षेत्रमा प्रदान गर्ने सहुलियत दरको कर्जा रकम उक्त वित्तीय संस्था मार्फत प्राप्त गरी कृषक सदस्यहरुलाई प्रदान गरिरहेको अवस्था छ । संस्थाको कार्यक्षेत्रका बैकिङ्ग पहुँचबाट टाढा रहेका कृषक सदस्य तथा गैर सदस्यहरुलाई सहुलियत दरको पुँजी तथा प्रविधि व्यवस्था गरी उत्पादन वृद्धिमा सहयोग पुयाई उत्पादित बस्तुको बजारिकरणमा सहयोग गर्नका लागि मात्र कृषि सहकारी संस्थामा रुपान्तरित भएका हौं, यसमा राज्यले अनुदान प्रदान गर्छ भन्ने विषय जोड्न सान्दर्भिक नहोला भन्ने लाग्छ ।
सहकारी ऐन, २०७४ मा ७०/३० को अवधारणा कसरी पुरा गराउने योजनामा हुनुहुन्छ ?
हाम्रो संस्था बचत तथा ऋणको उद्देश्य हुँदाको अवस्था देखि नै संस्थाको अनुदानको रासायनिक मलको बिक्री कक्ष कटहरी गाउँपालिका वार्ड नं. ३ मा सञ्चालन भई रहेको अवस्था छ । अब हामी उक्त बिक्री कक्षमा गुणस्तरिय बिउबिजन र प्राविधिकको व्यवस्थापन गरी कृषकहरुलाई उत्पादन वृद्धिमा सघाउ पु-याउने छौं । अर्को तर्फ कृषकहरुलाई सरल र सहुलियत कर्जाको व्यवस्था गरी दुग्ध तथा मासुजन्य उत्पादनमा सहयोग पुऱ्याई सदस्यबाट उत्पादित बस्तुको संकलन तथा बजारीकरणमा समेत संलग्न भई कार्य गर्ने उद्देश्य रहेकोले विद्यमान सहकारी ऐन, २०७४ मा व्यवस्था भए अनुसारको मुख्य उद्देश्य अनुसारको ७०/३० को अवधारणा अनुसार संस्था सञ्चालनमा सहज हुने विश्वास लिएका छौं ।
तपाईको संस्थाको भावि योजना के छ ?
नेपालको सहकारी अभियानलाई समाप्त पार्न बिभिन्न उच्छृङ्खल तत्वहरु नियोजित रुपमा पछि लागि रहेको अवस्था छ, लघुवित्त तथा सहकारी संस्थामाथि भ्रामक प्रचार गरी बदनाम गराउने, सञ्चालक तथा कर्मचारी माथि सांघातिक हमला गर्ने, रकम लुटपाट गर्ने, कार्यालय भवन तोडफोड गर्ने, सहकारी संस्था तथा लघुवित्त संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनी भ्रमको खेती गर्ने कार्यले तमाम सहकारी संस्था सञ्चालनमा थप चुनौती थपिएको छ। यस्तो विषम परिस्थितिका बीच वचत तथा ऋणको कारोबार गरिरहेको यस संस्थालाई युटर्न गराउन निश्चय पनि धेरै नै चुनौतिहरु रहेका छन । चुनौतिहरुलाई अवसरका रुपमा लिएर दृढ संकल्पका साथ अघि बड्नु भन्दा अरु विकल्पहरु हामीसँग छैनन् ।
त्यसैले संस्थामा हाल कायम रहेका १५४० जना सदस्यहरुलाई साना किसानको मोडलमा एकघरधुरी एक सदस्यको अवधारणा अनुरुप समूह तथा अन्तर समूह निर्माणका लागि सदस्यहरुलाई तालिम तथा सहकारी शिक्षामा जोड दिने छौ। समूह निर्माण सँगै संस्थाको सेवाक्षेत्र भित्र बसोवास गर्ने बेरोजगार तथा पुँजीको अभाव भएका सदस्य एवम् गैर सदस्यहरुलाई पुँजी तथा प्रविधिको लागि सहज पहुँच पु-याई कृषि उत्पादन वृद्धिका लागि भूमिका खेल्ने योजना रहेको छ । यसै आर्थि वर्ष भित्रमा यस संस्थाका सदस्यहरुलाई नयाँ मोडलमा रुपान्तरण गरी सक्ने रणनीति तयार गरेका छौं ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
विश्वमा सहकारी स्थापनाको लगभग १७९ वर्ष र नेपालको सन्दर्भमा ७० वर्ष अघिको इतिहास अध्ययन गर्दा अप्ठेरो अवस्थाबाट पार पाउन अर्थात संकट मोचनको लागि सहकारी संस्थाको थालनी भएको देखिन्छ । यस्तो पवित्र उद्देश्यबाट स्थापना भएका सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण रहने सहकारी व्यवसायमा संकट उत्पन्न हुनु साह्रै नै दुःख र चिन्ताको विषय हो । नेपालको सन्दर्भमा बैक तथा वित्तीय संस्था नपुगेको ग्रामीण क्षेत्रको दुरदराजमा सहकारी संस्थाले विभिन्न अफ्ठ्यारो अवस्थामा भरमा सहज तरिकाले तपाई हामीलाई पु-याएको सहयोगलाई कहिल्यै नजरअन्दाज नगरौं। हिजो अफ्ठ्यारो अवस्था हुँदा सहकारी संस्थाले सहयोग गर्यो, जीवनमा फेरिपनि त्यस्तो अफ्ठ्यारो अवस्था नआउला भन्न सकिदैन ।
त्यसैले कोभिड महामारी पश्चात विश्वभर देखिएको आर्थिक मन्दिको कारण वित्तीय बजारमा उत्पन्न तरलता अभावबाट हरेक व्यवसायमा परेको असर र प्रभावबाट सहकारी व्यवसाय समेत अछुत रहन नसकेको वर्तमान विषम परिस्थितिमा आफ्नो सहकारी संस्थाको संरक्षण गर्नु सबै सदस्यको उत्तिकै दायित्व रहेको छ, त्यसैले हल्लाको भरमा बचत फिर्ता लिन आफ्नो संस्थामा लाइन लागेर थप संकट निम्त्याउने कार्य नगरौं । संस्थाबाट लिएको ऋणको सर्त बमोजिम नियमित रुपले किस्ता भुक्तान गर्ने बानी बसालौं ।
संस्थामा नियमित रुपमा बचत जम्मा गरौं । एकै प्रकृतिको एक भन्दा बढी सहकारी संस्थाको सदस्य नबनौं । आफ्नो सहकारी संस्थाको वार्षिक साधारण सभा तथा संस्थाले आयोजना गर्ने प्रत्येक कार्यक्रमहरुमा अनिवार्य रुपले सहभागी हुने बानी बसालौं । बढी व्याज पाउने प्रलोभनमा जुनसुकै सहकारी संस्थाको सदस्य बन्ने कार्यमा सचेत रहौ । कुनै पनि सहकारी संस्थाको सदस्य बन्नु अघि त्यस संस्थाको सञ्चालक, लेखा समिति र कर्मचारीहरुको नैतिक आचारण, सामाजिक पृष्ठभूमिका बारेमा पर्याप्त अध्ययन गरेर मात्र सदस्य बन्ने गरौ । माथि उल्लिखित कार्यमा सम्वेदनशील हुन सकियो भने केही हदसम्म भए पनि संस्थामा संकट निम्तिदैन भन्ने कुरामा विश्वस्त रहन सकिन्छ ।
जय सहकारी ।
What's Your Reaction?






