इजाजतपत्र नवीकरण गर्न सहकारीले यी कागजात र प्रक्रिया पूरा गर्नुपर्ने, सञ्चालकको कालोसूचीसमेत जाँच हुने
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले सञ्चालन इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात, वित्तीय विवरण, स्वघोषणा र शुल्कसहित आश्विन मसान्तभित्र निवेदन दिनुपर्नेछ। नवीकरण प्रक्रियामा सञ्चालक तथा पदाधिकारीको योग्यता, कानुनी अवस्था र कर्जा सूचना केन्द्रबाट कालोसूचीसम्बन्धी विवरणसमेत जाँच गरिनेछ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन इजाजतपत्र नवीकरणसम्बन्धी सूचना जारी गरेसँगै सम्बन्धित सहकारी संस्थाहरूले नवीकरणका लागि आवश्यक कागजात तथा विवरण तयार गर्नुपर्ने भएको छ।
प्राधिकरणले सूचना नं. ३/२०८३/०८४ जारी गर्दै आ.व. २०८२/०८३ मा सञ्चालन इजाजतपत्र प्राप्त गरेका सहकारी संस्थाले २०८३ साल आश्विन मसान्तसम्म नवीकरणका लागि आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्ने जनाएको छ।
नवीकरणका क्रममा संस्थाले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि, आ.व. २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा रहेको वासलात विवरणको प्रमाणित पृष्ठ, करचुक्ता प्रमाणपत्र तथा पछिल्लो साधारणसभाबाट सञ्चालक समितिका पदाधिकारी निर्वाचित भएको निर्णयको प्रतिलिपि पेश गर्नुपर्नेछ।
त्यसैगरी सञ्चालक, पदाधिकारी तथा व्यवस्थापक/प्रमुख कार्यकारीको फिट एण्ड प्रोपर टेस्ट सम्बन्धी व्यक्तिगत अभिलेखसमेत तयार गरी सम्बन्धित प्रमाणित कागजात राख्नुपर्ने व्यवस्था गरिएको छ।
सञ्चालक तथा व्यवस्थापकको योग्यता जाँचमा विशेष ध्यान
फिट एण्ड प्रोपर टेस्टअन्तर्गत सम्बन्धित व्यक्तिले फौजदारी अभियोगमा सजाय पाएको/नपाएको, बैंकिङ तथा वित्तीय कसूरमा सजाय पाएको/नपाएको, कालोसूचीमा परेको/नपरेको लगायतका विषय प्रमाणित गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी संस्थाको रकम हिनामिना वा अपचलन नगरेको तथा संस्था निष्क्रिय अवस्थामा नरहेको वा समस्याग्रस्त घोषणा भएको अवस्थामा त्यस्तो संस्थाको सञ्चालक नरहेको सम्बन्धमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था छ। यसका लागि सम्बन्धित व्यक्तिको व्यक्तिगत विवरण र आवश्यक प्रमाणहरू संस्थाले व्यवस्थित रूपमा अभिलेखमा राख्नु आवश्यक देखिन्छ।
कर्जा सूचना केन्द्रबाट कालोसूचीसम्बन्धी विवरण लिनुपर्ने
नवीकरण प्रक्रियामा सम्बन्धित सञ्चालक तथा पदाधिकारीको कालोसूचीसम्बन्धी अवस्था प्रमाणित गर्न कर्जा सूचना केन्द्रबाट आवश्यक विवरण प्राप्त गर्ने प्रक्रिया पनि महत्वपूर्ण हुने देखिएको छ। यसका लागि सहकारी संस्थाले कर्जा सूचना केन्द्रलाई आफ्नो संस्थाको लेटरहेडमा पत्र पठाई सम्बन्धित सञ्चालक/पदाधिकारीको व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ। विवरणमा सामान्यतया नाम, थर, ठेगाना, बाबुको नाम, नागरिकता नम्बर, नागरिकता जारी मिति र जारी स्थान लगायतका विवरण राख्नुपर्ने हुन्छ। सम्बन्धित सदस्य/व्यक्तिको कर्जा सूचना जाँचका लागि कर्जा सूचना केन्द्रले तोकेको शुल्क लाग्न सक्ने भएकाले संस्थाले आवश्यक बजेट तथा प्रक्रिया समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ।
नवीकरण शुल्क पनि वासलातका आधारमा
प्राधिकरणको सूचनाअनुसार सहकारी नियमावली, २०७५ को नियम ७क. को उपनियम (२) बमोजिम संस्थाको वासलातका आधारमा निर्धारित नवीकरण दस्तुर बुझाएको भौचरसमेत निवेदनसाथ पेश गर्नुपर्नेछ।
त्यसैले संस्थाले नवीकरणको तयारी गर्दा वासलात, बचत तथा ऋण लगानीको विवरण र नवीकरण शुल्क समेत समयमै यकिन गर्नुपर्ने हुन्छ।
स्वघोषणा पनि अनिवार्य
नवीकरण प्रक्रियामा संस्थाले तोकिएको ढाँचामा स्वघोषणा पेश गर्नुपर्नेछ। स्वघोषणामा संस्थाको कुल वासलात, कुल बचत रकम, वासलातको आधारमा बचतको प्रतिशत, कुल ऋण लगानी तथा वासलातको आधारमा ऋण लगानीको प्रतिशत लगायतका वित्तीय विवरण खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी संस्थाका सञ्चालक, पदाधिकारी तथा प्रमुख कार्यकारीको शैक्षिक योग्यता, अनुभव, फौजदारी अभियोग, संस्थाको रकम हिनामिना/अपचलन तथा कालोसूचीसम्बन्धी विवरण संस्थाले यकिन गरी प्रमाणित कागजातसहित अभिलेखमा राखेको स्वघोषणा गर्नुपर्नेछ।
FCRS प्रणालीमा प्रविष्ट गरिएका विवरण र स्वघोषणामा उल्लेख भएका विवरण सही र सत्य रहेको सुनिश्चित गर्ने जिम्मेवारीसमेत संस्थामाथि रहनेछ।
आश्विन मसान्तभित्र प्रक्रिया पूरा गर्नुपर्ने
प्राधिकरणले तोकेको अवधिभित्र नवीकरणका लागि निवेदन पेश नगरेमा प्रचलित नियमावलीबमोजिम थप दस्तुर लाग्ने जनाएको छ। त्यसैले सम्बन्धित सहकारी संस्थाले अन्तिम समय कुर्नुभन्दा अगावै आवश्यक कागजात संकलन, सञ्चालक तथा पदाधिकारीको विवरण परीक्षण, कर्जा सूचना केन्द्रबाट आवश्यक विवरण प्राप्ति, स्वघोषणा तयारी र शुल्क भुक्तानीलगायतका काम सम्पन्न गर्नु उपयुक्त हुनेछ।
विशेषगरी ग्रामीण तथा दूरदराजमा रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले प्राधिकरणबाट जारी सूचना तथा मापदण्ड अध्ययन गरी आफ्नो संस्थाको अवस्था नवीकरणका लागि आवश्यक मापदण्डसँग मिलेको छ कि छैन भनेर समयमै परीक्षण गर्नुपर्ने देखिन्छ।
नवीकरण केवल शुल्क तिरेर सम्पन्न हुने प्रक्रिया नभई संस्थाको वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापनको योग्यता, कानुनी अवस्था र नियामकीय विवरणसमेत परीक्षण हुने प्रक्रियाका रूपमा सहकारी संस्थाहरूले तयारी गर्नुपर्ने देखिएको छ।
संस्थाको लागि चाहिने documentsहरू तल Download गरेर हेर्न सक्नुहुनेछ।
English Summary:
The National Cooperative Regulatory Authority has issued a notice regarding the renewal of operating licenses for savings and credit cooperatives. Institutions licensed in FY 2082/83 must apply for renewal by the end of Ashwin 2083, submitting audited financial statements, tax clearance, AGM records, renewal fees, self-declarations and other required documents.
The renewal process also includes a Fit and Proper Test for directors, officials and managers, including checks on criminal records and blacklist status through the Credit Information Center. Cooperatives must ensure that their FCRS records, financial information and submitted declarations are accurate and complete.
Files
What's Your Reaction?


