५ रुपैयाँबाट सुरु भएको बासडोल सामुदायिक सहकारी २०औँ वर्षमा, कुल पुँजी २५ करोड हाराहारी
रुपैयाँबाट सुरु भएको श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था करिब २५ करोड रुपैयाँको कुल पुँजीसहित २०औँ वर्षमा प्रवेश गरेको छ। बचत तथा ऋण कारोबारसँगै कृषि प्रवर्द्धन, सामाजिक सेवा र सदस्य हितका कार्यक्रममार्फत सहकारीले समुदायमा आफ्नो पहिचान स्थापित गरेको छ।
बनेपा, भाद्र २४ — श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही असोज २४ गते आफ्नो २०औँ निर्वाचन साधारण सभा आयोजना गर्दैछ। २०६४ सालमा स्थापना भएको यस सहकारीले विभिन्न आरोह–अवरोह पार गर्दै आज बयस्क र सबल संस्थाका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
स्थापनाका क्रममा तत्कालीन अग्रजहरूले प्रतिव्यक्ति ५/५ रुपैयाँ संकलन गरी सुरु गरेको सहकारी आज करिब २५ करोड रुपैयाँको कुल पुँजीसहित आफ्ना शेयर सदस्यहरूको सुख–दुःखको सारथि बन्न सफल भएको छ। सहकारीले विभिन्न क्षेत्रमा प्राप्त गरेको सम्मान तथा प्रदेशस्तरीय पहिचानले समेत बासडोलवासीको गौरव र पहिचानका रूपमा संस्थालाई स्थापित गरेको छ।
संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक कञ्चन भुजेलका अनुसार सहकारीको यो उपलब्धिका पछाडि सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरूको निरन्तर मेहनत, त्याग र योगदान रहेको छ। संस्थालाई यहाँसम्म ल्याउन विगतका नेतृत्व तथा अग्रजहरूले खेलेको भूमिकालाई स्मरण गर्दै उहाँले आगामी दिनमा पनि सहकारीले अझ नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
सहकारीले परम्परागत रूपमा गर्दै आएको बचत तथा ऋण कारोबारसँगै सदस्य हित र समुदायकेन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कृषक सदस्यहरूलाई लक्षित गर्दै रासायनिक मल तथा बीउबिजन बिक्री–वितरण, फूल खेती प्रवर्द्धन, कृषि सम्बन्धी विभिन्न तालिम, बीमा कार्यक्रम लगायतका गतिविधि सञ्चालन हुँदै आएका छन्।
त्यस्तै, सदस्य तथा समुदायको आवश्यकतालाई ध्यानमा राख्दै अक्सिजन सिलिन्डरको व्यवस्था लगायतका सामाजिक तथा सदस्य हितका कार्यक्रमसमेत सहकारीले सञ्चालन गर्दै आएको संयोजक भुजेलले जानकारी दिनुभयो।
उहाँका अनुसार सहकारीको उद्देश्य केवल बचत संकलन र ऋण लगानीमा सीमित नराखी सदस्यको आर्थिक, सामाजिक तथा व्यावसायिक जीवनमा प्रत्यक्ष सहयोग पुर्याउने संस्थाका रूपमा विकास गर्नु रहेको छ।
२०औँ निर्वाचन साधारण सभाबाट नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी ढंगले आफ्ना सेवा तथा गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ। संयोजक भुजेलले आगामी नेतृत्वले विगतका उपलब्धिलाई संस्थागत गर्दै सहकारीलाई थप उचाइमा पुर्याउने र आम बासडोलवासी तथा शेयर सदस्यहरूको सुख–दुःखको साथीका रूपमा संस्थालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
करिब दुई दशकको यात्रामा अनेकौँ चुनौती पार गर्दै अघि बढेको बासडोल सामुदायिक सहकारी आज केवल एउटा वित्तीय संस्था मात्र नभई बासडोलवासीको साझा सम्पत्ति, गौरव र पहिचानका रूपमा स्थापित हुँदै गएको छ।
What's Your Reaction?


