वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) समारोह, सदस्य सम्मान तथा २५ वर्षे स्मृति सङ्गालो विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले संस्थाको सुशासन, पारदर्शिता, सदस्यकेन्द्रित सेवाको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

२०८३-०३-२३
 0  52
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न

आज मिति २०८३।०३।२२ गतेका दिन वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ स्थापना दिवस (रजत जयन्ती) समारोह, सदस्य सम्मान तथा स्मारिका (२५ वर्षे स्मृति सङ्गालो) विमोचन कार्यक्रम भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ। 

संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.को अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री श्री बिनोद कुमार शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सहकारी महासंघका सञ्चालक श्री हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक श्री कालिप्रसाद महतारा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार श्री खिमानन्द अर्याल, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, नेफ्स्कून तथा सुर्खेत जिल्लाका विभिन्न बहुउद्देश्यीय सहकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, कर्मचारीहरू तथा संस्थाका मेरुदण्डका रूपमा रहेका आदरणीय शेयर सदस्यहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाको २५ वर्षे गौरवपूर्ण यात्रा, उपलब्धि तथा गतिविधिहरू समेटिएको २५ वर्षे स्मृति सङ्गालो नामक स्मारिकाको प्रमुख अतिथिबाट हस्ताक्षर गरी औपचारिक रूपमा विमोचन गरिएको थियो। त्यसैगरी, संस्थाको स्थापना कालदेखि हालसम्मका प्रमुख गतिविधि, उपलब्धि, सेवा विस्तार तथा विकास यात्रालाई समेटेर तयार गरिएको भिडियो डकुमेन्ट्रीसमेत कार्यक्रममा सार्वजनिक तथा प्रदर्शन गरिएको थियो। उक्त डकुमेन्ट्रीमार्फत संस्थाको २५ वर्षको ऐतिहासिक यात्रा, योगदान र उपलब्धिहरूलाई सहभागीमाझ प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य श्री हरिहरनाथ योगी, राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक श्री कालिप्रसाद महतारा, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी रजिस्ट्रार श्री खिमानन्द अर्याल, जिल्ला सहकारी संघका अध्यक्ष श्री प्रकाश कुमार तिमिल्सिना, जनहितकारी साकोसका अध्यक्ष श्री नवराज कडेल तथा सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष श्री पूर्णप्रसाद नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले २५ वर्षको यात्रामा हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँहरूले संस्थाले आगामी दिनमा पनि सदस्यमुखी, पारदर्शी र दिगो सहकारी सेवामार्फत अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

वक्ताहरूले वीरेन्द्रनगर सहकारी संस्था कर्णाली प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै आगामी दिनमा देशकै उत्कृष्ठ संस्था बन्नेतर्फ उन्मुख रहेको बताउनु भएङ्को थियो । यसको असल अभ्यास, सुशासन, पारदर्शिता तथा सदस्यकेन्द्रित कार्यशैलीबाट सुर्खेतका अन्य सहकारी संस्थाहरूले समेत प्रेरणा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।उहाँहरूले पछिल्लो समय केही सहकारी संस्थामा देखिएका समस्याका कारण आमसमुदायमा सहकारीप्रतिको विश्वास कमजोर बन्दै गएको सन्दर्भमा वीरेन्द्रनगर साकोसले सञ्चालन गर्दै आएका प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवाहरूले सदस्यहरूको विश्वास पुनःस्थापित गर्न तथा सहकारी अभियानलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री श्री विनोदकुमार शाहज्यूले सुर्खेत जिल्लाको सन्दर्भमा सहकारी अभियान समग्र रूपमा सन्तोषजनक रहेको भए पनि देशका अन्य केही जिल्लामा देखिएका सहकारीसम्बन्धी समस्याका कारण आमसदस्यमा सहकारीप्रतिको विश्वास केही कमजोर बन्दै गएको धारणा व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सहकारी संस्थाहरूले सदस्यमैत्री वित्तीय तथा गैरवित्तीय गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सदस्यहरूको हकहित संरक्षण, संस्थागत साख अभिवृद्धि तथा सहकारीप्रतिको जनविश्वास कायम राख्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो। त्यसका लागि यस संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले सुशासन, पारदर्शिता, उत्तरदायित्व र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकोमा खसी व्यक्त गर्नु भयो र यस संस्थाका गतिविधिहरू अझ त्यतातिर उन्मुख हुनुपर्नेमा जोड दिनुभयो।

माननीय मन्त्री शाहले वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संस्था अझ सुदृढ, विश्वासिलो र सदस्यकेन्द्रित सेवामार्फत थप सफलताको उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। संस्थाले आफ्नो रजत जयन्तीको अवसरमा संस्थाको उद्देश्य प्राप्ति, व्यावसायिक विकास, साख अभिविद्धि र संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने संस्थापक अध्यक्ष श्री देवकिरण बुढा, पूर्व अध्यक्ष श्री कृष्णबहादुर खड्क, पूर्व उपाध्यक्ष कालिप्रसाद नेपाली, पूर्व सञ्चालक बसन्ता भण्डारी, मुख्य सल्लाहकार श्री बिष्णुबहादुर खड्कालाई सम्मानित गरेको छ । एकीकरणमा सहभागी संस्थाका तत्कालिन ७ जना अध्यक्षहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्रबहादुर थापालाई रजत सेवा सम्मान तथा १४ जना कर्मचारी दीर्घ सेवा सम्मान द्धारा सम्मान गरेको थियो।

त्यसैगरी, सदस्यतर्फ विभिन्न विधामा छनोट भएका ४३० जना सदस्यलाई संस्थाको आगामी २५औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिने जानकारी गराइएको थियो। कार्यक्रमको समापन गर्दै सभाअध्यक्ष तथा संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.ज्यूले संस्थाले स्थापना देखी हालसम्म गरेका गतिविधिहरू सदस्यमैत्री र सदस्यको हक हितलाई ध्यानमा राखेर सञ्चालन गरिएको बताउनु भयो । संस्थाले २०६३ सालदेखि नै व्यावसायिक रणनितिक योजना निर्माण गरी सोहि अनुरूप संस्थागत गतिविधिहरू सञ्चालन गर्ने अभ्यास गरेको र आगामी दिनहरूमा पनि सैही अनुरूप सञ्चालन गरिने र त्यसका लागि सुशासन, पारदर्शिता, उच्चतम् प्रविधिको प्रयोग गरी सदस्यको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संस्थालाई सदस्यहरूले गरेका अठोट विश्वास, भरोसा, साथ र सहयोगले मात्रै संस्थाले २५औँ स्थापना दिवश मनाउन सफल भएको हो । यसमा संस्थाका संस्थापक सदस्यज्यूहरू, पूर्व सञ्चालक समितिहरू, लेखा समितिहरू, सल्लाहकार र कर्मचारीहरूको अठोट मेहनत र प्रयासले मात्र सफल भएको कुरा व्यक्त गर्नु भयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा संस्थाका अध्यक्ष बि.सी.ले यस संस्थाले आफ्नो नेतृत्वमा सहकारीहरूबीच सहकार्य अभियान चलाएर १५० बढी सहकारी संस्थाहरूसङ्ग भाइचारा सम्बन्ध स्थापित भएको र त्यसको उच्चतम् रूप ८ वटा संस्थाहरूबीचको एकीकरण भएको जानकारी गराउनु भयो । सहकारी अभियानसाझा अभियान भएको उल्लेख गर्दै कुनै एउटा सहकारी सफल हुदा सहकारी सफल भएको अर्थ लगाइदैन । तर एउटा सहकारी असफल हुदा सारा सहकारी क्षेत्रनै खतम् हो भन्ने अर्थ लगाएर सहकरी क्षेत्रलाई नै बदनामित गराइन्छ । यो सहकरी क्षेत्रका लागि ठूलो चुनौती हो भन्दै यस्ता गलत विषयहरूलाई विस्थापित गर्न सबै सहकारीकर्मीहरू सहकारी संस्थाहरूबीच सहकार्यको आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष बि.सी.ले संस्थाले रजत जयन्तीका अवसरमा २५ वर्षे स्मृति सङ्गालो स्मारिका प्रकाशन भएको छ । यसै सनेदर्भमा संस्थाले आफ्नो २५ वर्षे समीक्षाका रूपमा संस्थागत सर्वाङ्गिण अध्ययन सम्त गरेर भावी योजना बनाउने कुरा जानकारी गराउनु भयो ।

सहकारी क्षेत्रलाई मानव जीवनको अभिन्न र मर्यादित क्षेत्र बनाउन सबैको सहकार्य जरूरी रहेको उल्लेख गर्नु भयो । सदस्यहरूले संस्थाप्रति राख्नुभएको अटल विश्वास, भरोसा, साथ र सहयोग नै प्रमुख आधार रहेको उल्लेख गर्दै संस्थापकहरू, पूर्व सञ्चालक समितिहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, सल्लाहकारहरू तथा कर्मचारीहरूको समर्पण, अथक मेहनत र योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। अन्त्यमा अध्यक्ष बि.सी.ले संस्थाको २५ वर्षे यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्‍याउने छाता संगठनहरू नेफ्स्कून, सहकारी बैंक र सहकारी महासंघ लगायत सहयोगी बैंक तथा वित्तीय संस्थाहरूलाई धन्यवाद दिनु भएको थियो । संस्था सञ्चालनका लागि संस्थाले नियमनकारी निकायले जारी गरेका नियम कानुनको पालना गर्ने तर सहकारीको स्वायत्तता र स्वतन्त्रतामा सम्झौता नगर्ने विषयलाई पनि जोड दिनु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्रबहादुर थापाज्यूले गर्नुभएको थियो। कार्यक्रमकै अवसरमा संस्थामा पुर्‍याउनुभएको दीर्घकालीन तथा विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई रजत सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत थापाले विगत २५ वर्षदेखि संस्थामा निरन्तर सेवा गर्दै आउनुभएको छ। संस्थाले विभिन्न चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको समयमा समेत उहाँले करिब ८ वर्षसम्म बेतलबी रूपमा निस्वार्थ सेवा प्रदान गर्नुभएको थियो। संस्थाको संरक्षण, सुदृढीकरण तथा वर्तमान अवस्थासम्मको विकास यात्रामा उहाँले पुर्‍याउनुभएको समर्पण, नेतृत्व र योगदानको उच्च मूल्याङ्कन गर्दै संस्थाले उहाँलाई रजत सेवा पदकबाट सम्मान गरेको हो।

२५ वर्षे स्मृति सङ्गालो अध्ययन गर्नका लागि तलको QR स्क्यान गर्न सकिन्छ।

Files

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow