युवालाई प्राथमिक उपचार सीपसँग जोड्दै मध्य नेपाल साकोसको First Aid तालिम सम्पन्न
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ३९ जनाको सहभागितामा एकदिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ। तालिममा आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत ज्ञान तथा व्यावहारिक सीपबारे प्रशिक्षण दिइएको थियो।
आकस्मिक अवस्थामा मानवीय सहायता पुर्याउन सक्ने सीप विकास गर्ने उद्देश्यले मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको प्राथमिक उपचार (First Aid) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर २०८३ साल साउन २७ गते बुधबार देवचुली नगरपालिका–१३, दलदलेमा आयोजित तालिममा संस्थाका सञ्चालक समिति, मध्य नेपाल दूत तथा कर्मचारीसहित ३९ जनाको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दुर्घटना, चोटपटक वा अन्य आकस्मिक स्वास्थ्य समस्याका बेला अस्पतालसम्म पुर्याउनुअघि गर्न सकिने प्राथमिक उपचारका आधारभूत ज्ञान तथा सीपमा विशेष जोड दिइएको थियो। तालिममा सहभागीहरूले केवल सैद्धान्तिक जानकारी मात्र नभई विभिन्न परिस्थितिमा अपनाउनुपर्ने प्राथमिक उपचारका विधिहरू प्रत्यक्ष अभ्यासमार्फत सिकेका थिए।
तालिममा नेपाल रेडक्रस सोसाइटी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रशिक्षक निराजन चौधरीले प्रशिक्षण दिनुभएको थियो। उहाँले आकस्मिक अवस्थामा घाइते वा बिरामीको अवस्था पहिचान गर्ने, तत्काल अपनाउनुपर्ने सावधानी तथा प्राथमिक उपचारका विभिन्न व्यावहारिक विधिबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष पौडेलले युवा पुस्तालाई समाज परिवर्तनको सक्रिय शक्तिका रूपमा अघि बढाउन यस्ता जीवनोपयोगी सीप आवश्यक रहेको बताउनुभयो। उहाँले सामाजिक सेवामा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै प्राथमिक उपचारजस्ता सीपले आवश्यकता परेको समयमा व्यक्ति, परिवार तथा समुदायलाई तत्काल सहयोग गर्न सक्ने क्षमता विकास गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो। तालिममा सहभागीहरूले आकस्मिक परिस्थितिमा आत्तिनुभन्दा सही तरिकाले तत्काल सहयोग गर्न सक्ने आत्मविश्वास र व्यवहारिक ज्ञान प्राप्त भएको बताएका थिए।
युवाको क्षमता विकाससँगै समुदायमा मानवीय सहयोगको संस्कार र सुरक्षित वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त तालिम प्रभावकारी रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ।
What's Your Reaction?


