नेपालको सर्वोत्कृष्ट साकोस : मध्य नेपाल साकोस
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. आ.व. २०८२/०८३ का लागि नेफ्स्कूनद्वारा “सर्वोत्कृष्ट साकोस” घोषित भएको छ। संस्थागत सुशासन, वित्तीय अनुशासन, उत्कृष्ट सदस्य सेवा तथा समुदायको आर्थिक–सामाजिक विकासमा पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यस सम्मानले मध्य नेपाल साकोसको उत्कृष्टता र सफलतालाई थप उचाइ दिएको छ।
नवलपरासी (ब.सु.पू.) समुदायमा आधारित रहेर सदस्यको आर्थिक, सामाजिक तथा जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.आ.व. २०८२/०८३ का लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को “सर्वोत्कृष्ट साकोस” घोषित भएको छ। सहकारी क्षेत्रको प्रतिष्ठित सम्मानका रूपमा हेरिने यस उपलब्धिले मध्य नेपाल साकोसको संस्थागत सुशासन, वित्तीय अनुशासन, सदस्य सेवा तथा समुदायप्रतिको योगदानलाई थप उचाइ प्रदान गरेको छ ।
नेफ्स्कूनले आफ्नो स्थापना दिवसको अवसरमा समुदायमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था मार्फत सदस्य तथा समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन पुर्याएको योगदानको कदर गर्दै व्यक्ति, संघ तथा संस्थालाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्दै आएको छ। सोही नीति तथा मूल्याङ्कन प्रक्रियाअनुसार आ.व. २०८२/०८३ का लागि मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.लाई सर्वोत्कृष्ट साकोस घोषणा गरिएको हो।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासी (ब.सु.पू.) जिल्लामा स्थापित समुदायमा आधारित वित्तीय सहकारी संस्था हो। संस्थाको मुख्य कार्यालय देवचुली नगरपालिका–१४, प्रगतिनगरमा रहेको छ।
देवचुली नगरपालिका क्षेत्रमा केन्द्रीय कार्यालय रहेका नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि., परोपकार बचत तथा ऋण सहकारी संस्था लि. र ग्रामीण दिव्यलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.बीच भएको एकीकरण प्रक्रियापछि संस्था हालको स्वरूपमा सञ्चालनमा आएको हो। तीन संस्थाबीच मिति २०७७ पौष २८ गतेसम्पन्न संयुक्त साधारण सभाबाट एकीकरण गर्ने निर्णय भएको थियो भने सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.नामबाट सञ्चालन हुँदै आएको छ।
यसअघि पनि साविक नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थामा चार वटा र साविक परोपकार बचत तथा ऋण सहकारी संस्थामा तीन वटा सहकारी संस्था एकीकरण भएका थिए। यसरी विभिन्न संस्थाको अनुभव, स्रोत, जनशक्ति र सदस्य आधारलाई एकीकृत गर्दै मध्य नेपाल साकोसले आफ्नो संस्थागत क्षमता थप मजबुत बनाएको देखिन्छ।
वि.सं.२०५४ सालमा स्थापना भएको मध्य नेपाल साकोसले अहिले नवलपरासी (ब.सु.पू.) जिल्लाभर ११ वटा सेवाकेन्द्र मार्फत सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
संस्थामा २७ हजार २३० सदस्य रहेका छन्। त्यसमध्ये १४ हजार ९०२ महिला र १२ हजार २६५ पुरुष सदस्य रहेका छन् भने ६३ संस्थागत सदस्य छन्। त्यस्तै, ६ हजार ७७६ बाल बचतकर्ता समेत संस्थासँग आबद्ध रहेका छन्।
संस्थाको वित्तीय अवस्थातर्फ हेर्दा रु, १७ करोड ३२ लाख २ हजार शेयर पूँजी, रु १ अर्ब ३२ करोड ४९ लाख ५८ हजार ३०९ बचत निक्षेप, रु १ अर्ब २६ करोड ६२ लाख १९ हजार २३४ ऋण लगानी, रु.१२ करोड ८८ लाख ४७ हजार ७२३ संस्थागत पूँजी तथा रु १ अर्ब ६४ करोड ६४ लाख ५५ हजार ८२८ कुल वासलात रहेको छ।
संस्थाको नेतृत्व अध्यक्ष तुलमणी पौडेलले गरिरहनुभएको छ भने व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसाल तथा सहायक कार्यकारी अधिकृत उमापति भट्टराईले सम्हालिरहनुभएको छ। सदस्यकेन्द्रित सेवा, प्रभावकारी संस्थागत सुशासन, वित्तीय अनुशासन, प्रविधिमैत्री सेवाको विस्तार तथा समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्था निरन्तर प्रगति र समृद्धिको यात्रामा अघि बढिरहेको छ।
नेफ्स्कूनबाट प्राप्त सर्वोत्कृष्ट साकोसको सम्मान केवल एउटा पुरस्कार मात्र नभई संस्था, सञ्चालक, कर्मचारी, सदस्य तथा सम्पूर्ण समुदायको सामूहिक योगदानको सम्मानका रूपमा लिइएको छ। संस्थाको विकास र सफलतामा योगदान पुर्याउने सम्पूर्ण सदस्य, सञ्चालक समिति, उपसमिति, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति यो उपलब्धिले थप जिम्मेवारी पनि सिर्जना गरेको छ।
मध्य नेपाल साकोसको यो सफलता नवलपरासी (ब.सु.पू.) जिल्लाको सहकारी अभियानकै गौरवका रूपमा समेत स्थापित भएको छ।आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित, प्रविधिमैत्री र सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्दै सहकारीमार्फत सदस्य तथा समुदायको आर्थिक समृद्धिमा थप योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ।
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि.लाई आ.व. २०८२/०८३ का लागि नेफ्स्कून सर्वोत्कृष्ट साकोस घोषित भएकोमा हार्दिक बधाई तथा आगामी यात्राका लागि सफलताको शुभकामना।
What's Your Reaction?


