खगराज शर्मा आफ्ना कार्यकालका महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गर्दै बिदा
डा. खगराज शर्माले सहकारी क्षेत्रमा सुधार गर्दै नयाँ मापदण्ड लागू, ठूला सहकारीको निगरानी र अडिट प्रणाली सुरु गरे; बचतकर्ताको पैसा सुरक्षित गर्न महत्वपूर्ण पहल गर्दै सफल कार्यकाल पूरा गर्नुभयो।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी पदबाट बिदा लिनुभएको छ । कार्यकालको अन्तिम दिन एक विशेष कार्यक्रमको आयोजना गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत नेपालको सहकारी क्षेत्रलाई सुधार गर्न र वित्तीय अनुशासन कायम गर्न आफ्नो नेतृत्वमा भएका मुख्य उपलब्धिहरू सार्वजनिक गर्नुभयो। विशेषगरी नेपाल सरकारले ल्याएको नयाँ अध्यादेश र 'सहकारी दर्ता तथा अभिलेखीकरण मापदण्ड, २०८२' लाई कार्यान्वयनमा ल्याउनु उहाँको कार्यकालको सबैभन्दा ठूलो सफलता मानिएको छ।
आफ्नो कार्यकालको समीक्षा गर्दै डा. शर्माले सहकारी संस्थाहरूमा रहेको तरलता संकट र बचतकर्ताको पैसा सुरक्षित गर्ने दिशामा महत्वपूर्ण कदम चालिएको बताउनुभयो । उहाँको नेतृत्वमा कुल कारोबारको ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई अनिवार्य रूपमा प्राधिकरणको प्रत्यक्ष निगरानीमा ल्याउने व्यवस्था मिलाइएको थियो । "हामीले सहकारीलाई राजनीतिक संरक्षणबाट मुक्त गरी शुद्ध वित्तीय संस्थाका रूपमा विकास गर्ने आधारशिला खडा गरेका छौँ," उहाँले भन्नुभयो। उहाँले आफ्नो कार्यकालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) सँग सम्झौता गरी सहकारीहरूको 'प्रुडेन्सियल अडिट' गर्ने प्रक्रिया समेत सुरु गर्नुभएको थियो ।
विदाई समारोहमा डा. शर्माले सहकारी क्षेत्रमा विश्वासको संकट गहिरिएको बेला नियमनकारी निकायको स्थापना र परिचालन चुनौतीपूर्ण रहेको स्मरण गर्नुभयो। नयाँ अध्यादेश अनुसार संघीय, प्रादेशिक र स्थानीय तहका सहकारीहरूलाई एउटै डिजिटल प्रणालीमा आवद्ध गर्ने कार्यले अबका दिनमा अपचलन र ठगीका घटनाहरू न्यूनीकरण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। "अहिलेको नियमनकारी ढाँचाले बचतकर्ताको एक–एक पैसाको हिसाब खोज्ने सामर्थ्य राख्छ," शर्माले थप्नुभयो।
सहकारी क्षेत्रका विज्ञ र सरोकारवालाहरूले डा. शर्माको कार्यकाललाई एउटा संक्रमणकालीन तर सफल नेतृत्वका रूपमा मूल्यांकन गरेका छन् । विशेषगरी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा 'सहकारी अब तपाईकै भरोसामा' भन्दै उहाँलाई दिइएको जिम्मेवारीलाई उहाँले नीतिगत र कानुनी सुधारमार्फत पुरा गर्ने प्रयास गर्नुभएको देखिन्छ। उहाँको बहिर्गमनसँगै अब आउने नेतृत्वले यी सुरु गरिएका सुधारका कार्यहरूलाई कसरी निरन्तरता दिन्छ भन्नेमा बचतकर्ताहरूको ध्यान केन्द्रित भएको छ ।
What's Your Reaction?

admin
