सहकारी संस्थामा ऋण  व्यवस्थापन –जीतबहादुर कटुवाल

सहकारी पाना । आफ्नो व्यावहारिक  र व्यावसायिक समस्या टार्नका लागि  भविश्यमा व्याज सहित भुक्तानी गर्ने सर्तमा लिएको रकमलाई ऋण...

२०८०-०५-३०
 0  55
सहकारी संस्थामा ऋण  व्यवस्थापन –जीतबहादुर कटुवाल

–जीतबहादुर कटुवाल

परिचयः
सहकारी पाना । आफ्नो व्यावहारिक  र व्यावसायिक समस्या टार्नका लागि  भविश्यमा व्याज सहित भुक्तानी गर्ने सर्तमा लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ  । अर्थशास्त्रमा  ऋणलाई उद्यमशीलता परिपूर्ति गर्ने साधनको रूपमा लिएको पाइन्छ । सहकारी संस्थामा बचतको जति महत्व रहन्छ  त्यति नै महत्व ऋणको रहन्छ । बचतको उल्टो अवस्था ऋण हो । बचत भनेको व्याज सहित फिर्ता लिने गरी  सदस्यले संस्था जम्मा गर्ने रकम हो भने  ऋण भनेको व्याज सहित फिर्ता गर्ने गरी संस्थाबाट लिएको रकम हो ।
सहकारी संस्था रुपैया पैसाको किनबेच गर्ने संस्था हो । त्यसैले पनि  उसले सदस्यबाट पैसा किन्छ र त्यो पैसा सदस्यहरुलाई बेच्छ , अर्थात  सदस्यहरुले संस्थामा गरेको वचतबाट पूँजी निर्माण हुन्छ  । त्यही रकम सीप,क्षमता, भएको तर पूँजीको अभाव भएको व्यक्तिले ऋणका माध्यमबाट प्राप्त गर्दछन् र व्यवसाय गरेर आफ्नो आम्दानी बढाउन सक्छन् । 
बचत तथा ऋण सहकारी संस्थाहरुको मूल व्यवसाय नै यही हो । सदस्यलाई लगानी गरेको ऋणबाट प्राप्त हुने व्याज नै उसको  व्यवसायको आधार हो । त्यसैबाट सदस्यलाई  लाभांश दिन्छ ,त्यसैबाट कर्मचारी पाल्छ ,त्यसैबाट कार्यालय चलाउँछ । त्यही ऋण र व्याज पनि असुल भएन भने संस्थाको व्यवसाय चौपट्ट हुन्छ । 

ऋण सामान्यतस् उत्पादनशील क्षेत्रमा लगानी हुनुपर्दछ । ऋणलाई अनुत्पादक क्षेत्रमा लगायो भने   ऋण भार बहन गर्ने  क्षमता घटछ । ऋणको सही सदुपयोग गर्न नसके  ऋण समयमा तिर्न सकिदैन । यसले गर्दा   ऋणी सदस्यको आर्थिक अवस्था बिग्रदै जान्छ र आर्थिक विश्वास समेत घट्छ । त्यसैले सहकारी संस्थाले लगानी गर्ने ऋण परियोजनामा आधारित, तिर्न सक्ने क्षमतामा आधारित, जोखिम सुरक्षाको लागि असल धितो राखिएको हुनुपर्दछ । अन्यथा सदस्य र संस्था दुवैका लागि समस्याको विषय बन्न पुग्दछ ।

कुनै ऋण नउठ्नु वा भाखा कट्नु भनेको त्यतिनै मात्रामा सदस्यले गरेको वचत सङ्कटमा पर्नु हो । त्यसैले ऋण व्यवस्थापनमा सहकारी संस्थाहरु सदैव चनाखो हुनुपर्दछ । संस्थाहरु चुस्त दुरुस्त र व्यवसायिक बन्नलाई ऋण व्यवस्थापनको ठूलो भूमिका हुन्छ । ऋण व्यवस्थापनले संस्थाको विश्वसनीयता बढाउँछ । संस्थाप्रतिको विश्वसनीयता कम भयो र सदस्यले  आफूले गरेको बचत सुरक्षित महसुस गर्न सकेनन भने समस्या उत्पन्न हुन्छ । यदि धेरै जसो सदस्य आm्नो बचत फिर्ता गर्न संस्थाको ढोकामा आए भने जतिसुकै राम्रा संस्थाले भुक्तानी दिन सक्दैन बचत भुक्तानी गर्न सकेन भने अरु सदस्यहरुको  पनि भिड संस्थामा बचत फिर्ता गर्नका लागि हुनपुग्दछ । यस्तो अवस्था उत्पन्न भयो भने जस्तो सुकैसंस्था   पनि धराशायी बन्ने अवस्था सिर्जना हुन पुग्दछ । त्यसैले ऋण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्दछ । 

ऋणी सदस्यले बुझ्नु पर्ने कुरा :
सकेसम्म ऋण उत्पादनमूलक क्षेत्रका लागि लिनुपर्दछ । ऋण लिएको रकमको सदुपयोगबाट आय आर्जन गर्नुपर्दछ । खर्च कट्टाई ऋणको व्याज र किस्ता तिर्न पुग्ने आम्दानी हुने क्षेत्रमा  मात्र व्यावसायिक सम्भाव्यता अध्ययन गरेर व्यवसायको लागि ऋण लिनुपर्दछ ।  किस्ता र व्याज नियमित चुक्ता गर्नुपर्दछ । किस्ता र व्याज छुटेमा त्यसको दोहोरो भार ऋणीलाई पर्दछ । आफ्नो आर्थिक हैसियत  वा तिर्न सक्ने क्षमता विन्दु पहिचान गरेर मात्र ऋण दिनुपर्दछ । ऋणको सदुपयोगबाट आम्दानी वृद्धि गर्न सकिन्छ भने ऋणको दुरुपयोगले  आर्थिक स्थिति बिग्रिन्छ । जहिले पनि  ऋण भाखाभित्रै तिर्नुपर्दछ । ऋणका कारण मानिसको इज्जतमा धक्का लाग्न सक्छ । ऋण देखि डराउनुपर्दछ । पाइयो भन्दैमा आवश्यकताभन्दा ज्यादा कहिल्यै ऋण लिनु हुँदैन ।

ऋणका सम्बन्धमा सहकारी संस्थाले बुझ्नु पर्ने कुरा :
 ऋण व्यवस्थापनका लागि संस्थामा प्रभावकारी ऋण नीति  हुनुपर्दछ । ऋणनीतिकै आधारमा ऋण लगानी र असुली तथा अभिलेखीकरण प्रक्रिया अवलम्बन गर्नुपर्दछ । व्यवहारका खाँचो गारो टार्ने सामान्य किसिमका ऋण बाहेक सबै ऋण परियोजना र व्यवसायमा आधारित हुनुपर्दछ । व्यक्तिले सञ्चालन गर्न खोजेको व्यवसायको बजारको अवस्था विचार गर्नुपर्दछ । .धितो पर्याप्त र असल हुनुपर्दछ । धितोले तिर्ने होइन । तिर्ने त व्यक्तिले हो  , त्यसैले ऋण तिर्न धितो नै बेच्नु पर्ने अवस्था आउन नदिन व्यक्तिको आर्थिक इमान्दारी र व्यक्तिको ऋण तिर्न सक्ने क्षमतालाई ख्याल गर्नुपर्दछ ।  ऋण लगानीमा सम्बन्धित पदाधिकारीको  तजबिज र भनसुनमा आधारित प्रक्रिया हुनुहुदैन । तर पदाधिकारीले योग्य र अयोग्य ऋणी छुट्याएरमात्र ऋण लगानी गर्नुपर्दछ । आवश्यक सबै कागजात र प्रक्रिया पूरा भएपछि मात्र ऋण लगानी गर्नुपर्दछ । प्रक्रियाका लागि हप्तौँ झुलाउने काम पनि कहिल्यै गर्नुहुदैन । 
सहकारी सस्थामा ऋणलाई सदस्यको अधिकारका रूपमा दिनु हुँदैन । ऋण भनेको अरु सदस्यको बचत पनि हो । त्यसैले बचतको सुरक्षा गर्न पनि ऋण लगानीमा संवेदनशील बन्नुपर्दछ । ऋण डुबेमा बचत सङ्कटमा परेको मानिन्छ ।  त्यसैले जो इमान्दार छ , जसले भाखामा ऋण चुक्ता गर्दछ ,जसको ऋण चुक्ता गर्ने क्षमता छ , जसले ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाउँछ ,त्यसैले ऋणका लागि प्राथमिकता पाउनुपर्दछ । थोरै सदस्य भएको संस्थामा सबैले सबैलाई चिन्ने ,सबैको अवस्था बुझ्ने हँुदा खास समस्या हुँदैन तर धेरै सदस्य भएको संस्थामा सबैलाई चिन्न सबैको आर्थिक हैसियत ,चरित्र, वित्तीय अनुशासन  बुझ्न सम्भव हुँदैन । त्यसैले प्रशस्त ऋणी र ऋण परियोजनाको अध्ययन संस्थाका तर्फबाट गरेरमात्र ऋण लगानी गर्नुपर्दछ । ऋण लिन चाहने सदस्य  र उसको धितोको अवस्था ,आर्थिक क्षमता र इमान्दारी ,परियोजनाको सम्भाव्यता उत्पादित वस्तुको बजार आदिका विषयमा संस्थाका तर्फबाट गरिने अनुसन्धान वा तथ्य सङकलनलाई नै ऋण अनुसन्धान भनिन्छ । ऋणअनुसन्धानपश्चात मात्र ऋण दिन सकिने वा नसकिने भन्ने निर्णयमा पुग्नुपर्दछ ।
सहकारी संस्थाहरुले ऋण लगानी गर्दा ऋण मागफाराम , ऋण अनुसन्धान फाराम ,मञ्जुरीनामा ,ऋणको तमसुक, रकम बुझेको भरपाई , ऋण भुक्तानी  तालिकाका आदि कागजात अनिवार्य प्रयोग गर्नुपर्दछ । साथै निश्चित रकम भन्दा बढीको ऋणको लागि  परिवारको  सदस्यलाई ऋण सकार गर्ने फाराममा राख्नुपर्दछ ।   

धितोमा ऋण लगानीमा सावधानी :
सहकारी संस्थाहरुले सुनचाँदी धितो राखेर ऋण लगानी गर्नुहुँदैन ।  त्यसैले धितो भनेको घडेरी र घर जग्गा हो । बैङ्क र अन्य वित्तीय सस्थाहरुलाई समेत भुमाफिया तथा ठगहरुले कच्चा धितो राखेर ठगिरहेको समाचार सुन्न पाइन्छ । त्यसैले यसतर्फ सहकारी सस्थाहरु विशेष चनाखो हुन आवश्यक छ । सहकारी संस्थामा ऋण उपसमिति र ऋण विभागबाटै धितो अनुगमन र मूल्याङ्कन हुने गरेको पाइन्छ । संस्थामा जग्गा र नापी नक्शासम्बन्धी ज्ञान भएका जनशक्तिको अभाव हुने हुँदा धितोमा ऋण लगानी सधैँ जोखिमयुक्त हुन्छ । त्यसैले बुझेर गर्नुृपर्दछ । एउटा जग्गा देखाएर अर्काे जग्गा रोक्का राखेर ऋण ऋण लिने ,  बाटोले काटने ,विद्युतको ठूलो ट्रान्सफर्मरको छेउमा भएका जग्गा ,खोलामा परेका  जग्गामा सजग हुनुपर्दछ । नक्शा र धनीपूर्जामा भएको तर फिल्ड नभएका अनेक किसिमका समस्याग्रस्त जग्गा पाइने हुँदा सहकारी सस्थाहरु सजिलै फस्ने हुन सक्छन् ।  सहकारी संस्थाको धितो मूल्याङ्कनको आधार पनि बैङ्कहरुको जस्तै सरकारी दर र चलनचल्ती दुवेको आधारमा निकाल्नु राम्रो हुन्छ । घरलाई समेत धितो मान्ने हो भने नक्शापास गरिएको र घर कायम गरिएको हुनुपर्दछ । दश लाखभन्दा ठूला ऋण लगानी गर्नको लागि मूल्याङ्ककनकर्ता फर्म वा व्यक्तिबाटै गराउने अभ्यास गर्नु पर्दछ ।  

ऋण सुरक्षण व्यवस्था :
ऋण असुलीमा ऋण विभाग र ऋण उपसमितिलाई  विशेष जिम्मेवार बनाउनुपर्दछ । मासिकरुपमा भाखा नाघेको ऋणको विवरण सञ्चालक समितिको बैठकमा पेश गरेर छलफल गराउनुपर्दछ ।  भाखा नाघेको ऋणलाई असुलीका लागि गरिएका  पत्राचार फोन इमेल सबैको अभिलेख राख्नुपर्दछ । साक्षी जमानीहरुलाई समेत ताकेता जानकारी गराउनुपर्दछ । आवश्यक परेमा लिलामीको प्रक्रियाबाट समेत संस्थाको ऋण असुल गर्नुपर्दछ ।

संस्थाबाट लगानी गर्ने ऋण सदस्यहरूो बचत हो त्यसैले सदस्यहरूको दुखले ,त्यागले गरेको बचतको सुरक्षा गरिदिनु संस्था , सञ्चालक  र कर्मचारीहरूको प्राथमिक दायित्व हो ।  ऋण सुरक्षित भएमा मात्र बचत सुरक्षित हुन्छ । त्यसैले  कुनै ऋण असुलीमा समस्या आएमा पनि संस्थालाई संङकट नपरोस भनी ऋण सुरक्षण व्यवस्था गर्नुपर्दछ । 

 ऋण लगानी गर्ने वित्तिकै  ऋण लगानी रकमको  लागि १ प्रतिशत, १ दिनदेखि १वर्षसम्म भाखा नाघेको ऋणको लागि  ३५ प्रतिशत र १ वर्ष भन्दा बढी भाखा नाघेको ऋणको लागि   १०० प्रतिशत सुरक्षण गर्नुपर्दछ । ऋण सुरक्षणको व्यवस्था गर्नुृपर्दा  डुवन्ते ऋण कोष वा ऋण सम्बन्धी सुरक्षणका लागि राखिएको कोषमा रहेको रकमले नपुग्ने जति रकम   खर्च देखाएर  दायित्व सिर्जना गरेर  राख्नुपर्दछ । सो ऋण असुल भए पछि पुन  दायित्व हटाएर आम्दानी तर्फ देखाउनुपर्दछ । 
अन्त्यमा –
कुनै पसलेको बाँकी धरै गयो र त्यो बाँकी उठेन भने नयाँ सामान थप्न र साहुको ऋण तिर्न नसकेर व्यापार नै चौपट्ट हुन्छ  ठीक त्यसै गरी सहकारी संस्थाहरुको पनि हालत उस्तै हो व्यापारीले उधारो दिन्न भन्न सक्छ तर सहकारीहरुको पैसाको व्यापार (ऋण लगानी )  उधारोमै आधारित हुन्छ ,उसले उधारो दिन्न भन्न सक्दैन । त्यसैले उधारोमा लगानी गर्नुपर्दा धेरै सावधानी अपनाउनुपर्दछ । किनकि खराव ऋण बढी भएमा संस्था अस्वस्थ मानिन्छ । त्यसैले भाखा नाघेको ऋण न्यून गरी संस्थालाई स्वस्थ र समुदायमा संस्थाको स्वच्छ छवि प्रक्षेपण गर्न ऋण व्यवस्थापनलाई  सदैव विधि र प्रक्रियासम्मत बनाउनुपर्दछ । 
(कटुवाल, सहकारी अभियान्ता तथा जिल्ला बचत संघ मोरङको सल्लाहकार हुनुहुन्छ )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता