अब प्रोवेशन ब्राण्डका लागि स्वतन्त्र लेखापरिक्षकबाट परिक्षण
प्रोवेशन ब्राण्डलाई सहकारी विभागले समेत प्रमाणीकरण गर्दै आएकोमा ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि २ वर्षयता वर्षदेखि विभागले प्रमाणीकरण गर्न छोडेको छ । त्यसअघि ब्राण्ड सूचिश्चितता गरि प्रदान गरिने प्रमाणपत्रमा विभागका रजिष्ट्रारको हस्ताक्षरका साथै सरकारको लोगो समेत प्रयोग हुँदै आएको थियो ....

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर प्रमाणीकरणका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले स्वतन्त्र लेखापरिक्षकबाट परिक्षण गराउने भएको छ । ब्राण्डेड संस्थाहरुको गुणस्तरमा नै प्रश्न उठ्न थालेपछि नेफ्स्कूनले कर्मचारीबाट गर्दै आएको परिक्षण स्वतन्त्र लेखापरिक्षकलाई दिन लागेको हो ।
ब्राण्डको गुणस्तर कायम गर्न र विश्वसनियता बढाउनका लागि स्वतन्त्र लेखापरिक्षकबाट परिक्षण गर्न लागिएको संघका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो । ‘अहिले ब्राण्ड पाएको संस्थाहरुबारे पनि केही प्रश्नहरु उठेका छन्’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा यस्तो नहोस् र ब्राण्डको गरिमा बढोस् भन्नका लागि स्वतन्त्र लेखापरिक्षकबाट परिक्षण गराउन लागेका हौं ।’
स्वतन्त्र लेखापरिक्षण गर्नका लागि आन्तरिक लेखापरिक्षण गर्ने फर्म स्थापना भएको ३ वर्ष पुगेको र कम्तीमा एक जना चार्टर्ड एकाउन्टेन्ट तथा ५ जना परिक्षक भएको फर्मबाट आयशपत्र माग गरेको छ । यस्तो लेखापरिक्षण फर्मसँग सहकारीको २ वर्षको अनुभव र आइक्यानको प्रमाणपत्र नविकरण भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्रान्डिङ कार्यक्रम एक्सेस २०६५ देखि सञ्चालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्था आवद्ध छन् । यस्तै नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र कब्र्स कार्यक्रम सञ्चालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् ।
एक्सेस कार्यक्रम अन्र्तगत ब्राण्डका लागि संस्थाहरुको अन्तिम लेखापरिक्षण अक्कु आफैले गर्दै आएको छ । तर, प्रोवेशन कार्यक्रम अन्र्तगत भने नेफ्स्कूनले परिक्षण गर्दै आएको थियो ।
प्रोवेशन ब्राण्डलाई सहकारी विभागले समेत प्रमाणीकरण गर्दै आएकोमा ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि २ वर्षयता वर्षदेखि विभागले प्रमाणीकरण गर्न छोडेको छ । त्यसअघि ब्राण्ड सूचिश्चितता गरि प्रदान गरिने प्रमाणपत्रमा विभागका रजिष्ट्रारको हस्ताक्षरका साथै सरकारको लोगो समेत प्रयोग हुँदै आएको थियो ।
विभागले गुणस्तर प्रमाणीकरण अस्वीकार गरेपछि नेफ्स्कूनले मात्र प्रमाणीकरण गर्दै आएको छ । तर, गत वर्ष विभागसँग पुनः प्रमाणीकरण गर्नेबारे नेफ्स्कूनले सम्झौता गरिसकेको छ । तर, अहिलेसम्म प्रमाणीकरणमा हस्ताक्षर गर्नेबारे भने स्पष्ट भइनसकेको बताइएको छ ।
पछिल्लो समयमा ब्राण्डका लागि सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाका साथै आर्थिक चलखेल समेत हुने गरेको घटना सार्वजनिक भएका छन् । गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको छ । ब्राण्डका लागि संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको, आर्थिक चलखेल भएका, संस्थाको छनोट र लेखापरीक्षण पारदर्शी नभएको र संचालक समितिको हस्तक्षेप भएका सहकारीकर्मीहरु बताउछन् ।
What's Your Reaction?






