सहकारीमा लेखा समिति संस्था भित्रको नियामक हो : रजिष्ट्रार घिमिरे 

२०८०-०६-२६
 0  24
सहकारीमा लेखा समिति संस्था भित्रको नियामक हो : रजिष्ट्रार घिमिरे 
काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी संस्थाभित्रको नियामक लेखा समिति भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्युनिकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 
गोष्ठीमा ‘सहकारी सञ्चालन एवं अनुपालना जोखिम : मापनका व्यवस्थापन रणनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै रजिष्ट्रार घिमिरेले जोखिमलाई अवसरको रुपमा लिएर अगाडी बढ्न सके उचाई समेत प्राप्त गर्न सक्ने बताउनुभयो । सहकारीमा विशेषत कर्जा, तरलता, सञ्चालन, प्राविधिक, व्याजदर, लगानी, साख र अनुपालना जस्ता विषयमा जोखिम रहेको उहाँले उल्लेख गर्नुभयो । 
 
त्यसैगरी सदस्यको निष्कृयता, कमजोर व्यवस्थापन, फितलो सुशासन, दक्ष जनशक्तिको कमी, स्पष्ट योजनाको अभाव, फितलो अनुगमन, कमजोर वित्तीय व्यवस्थापन र सुशासन सहकारी सञ्चालन तथा अनुपालनाको जोखिम रहेको उहाँले बताउनुभयो । सदस्यसँग भन्दा पनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको भन्दै ऐन, नियमको परिपालना गरे समस्या नै नआउने उहाँको दाबी छ ।
आन्तरिक नियन्त्रण प्रणाली कस्तो छ, त्यसको उपलब्धता र प्रयोगले पनि जोखिमलाई न्यूनिकरण गर्ने भन्दै रजिष्ट्रार घिमिरेले संस्थामा लेखा समितिको भूमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । लेखा समितिले कार्यविधि बनाई त्यसको कार्यान्वयन र अध्यावधिक गर्दै जान सके जोखिमलाई न्यूनिकरण गर्न सकिने उनको भनाई छ । लेखा समिति सहकारी संस्था भित्रको नियामक रहेकाले सञ्चालक समितिसँग मिलेर नभई निगरानीमा बसेर काम गर्न सके जोखिम न्यूनिकरण गर्न सकिने उहाँले बताउनुभयो । 
घिमिरेको कार्यपत्रमाथी टिप्पणी गर्दै सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेले समाजमा सहकारीको छबी निमार्ण गर्न नसक्नु अहिलेको मुख्य जोखिम रहेको बताउनुभयो । सहकारी सदस्य केन्द्रीयतामा चल्ने व्यवसाय भएपनि गैर सदस्यसँग कारोबार गर्दा सहकारीमा समस्या आएको उहाँको तर्क छ । सहकारीमा बचत फिर्ता नै अहिलेको मुख्य समस्या भएको र त्यसलाई कसरी पार लगाउन सकिन्छ भनेर अभियानले सोच्नुपर्ने पाण्डेले उल्लेख गर्नुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता