ऐन, नियम कार्यान्वयन नहुँदा सहकारीमा जोखिम : सिइओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री कुमार गुरागाईंले ऐन, नियममा भएका प्रावधानहरु कार्यान्वयन नहुँदा सहकारीमा जोखिम बढेको बताउनुभएको छ । लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ‘वित्तीय सहकारीको जोखिम मापन ः संरचना र पद्धति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी क्षेत्रमा धेरै पक्षले जोखिम निम्त्याउने भएपनि त्यसलाई कम गर्न राखिएका नियामकिय प्रावधानहरु पालना नभएको औल्याउनुभयो ।
सिइओ गुरागाईले विश्लेषण नगरी जथाभावी गरिने लगानी, कर्मचारीको दक्षता अभाव र अन्य थुप्रै कारणले सहकारीमा जोखिम आउने गरेको र हाल सहकारीले विश्वासको संर्घष गरिरहनु परेको बताउनुभयो । नियमनकारीको अप्रभावकारीता, संस्थाहरुमा सुशासनको अभाव, सामुहिक भावनाको कमी, श्रोत लागतको विश्लेषणको अभाव, संस्थागत पुँजी कमजोर, कर्जा लगानी नीतिको अभाव र त्यसको विश्लेषण नगर्ने परीपाटीले गर्दा सहकारीमा जोखिम आउने गरेको उहाँको दावी थियो ।
वित्तीय संस्था सुरुदेखि नै जोखिम रहने हुँदा त्यसलाई जोखिमरहित बनाउन व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्ने गुरागाईले औल्याउनुभयो । जोखिमका विभिन्न प्रकार रहने हुँदा त्यसका लागि पूर्व सर्त निर्धारण गर्नु पर्नेमा उनले जोड दिदै उहाँले जोखिम व्यवस्थापन सम्बन्धमा ऐन, नियममा समेत धेरै कुरा उल्लेख भएपनि कार्यान्वयन नहुँदा समस्या आएको दाबी गर्नुभयो । ‘ऐन, नियमावलीले आन्तरिक कार्यविधिको व्यवस्था, कारोबारको लेखा राख्ने, वित्तीय विवरण प्रकाशन, कर्जा सूचना केन्द्र जस्ता थुपै कुरा बोलेको छ’, उहाँले भन्नुभयो, ‘तर कार्यान्वय गर्न नसक्दा सहकारीहरुमा जोखिम बढेर गएको छ ।’
सहकारी संस्थाहरुले जोखिमको व्यवस्थापन वर्गिकरण गर्दै संस्थालाई जोखिम रहित बनाउनु अहिलेको आवश्यकता भएको सीईओ गुरागाईंले बताउनुभयो । उहाँले कोरिया र क्यानडाको उदाहरण दिँदै सहकारीको जोखिम व्यवस्थापनको मोडल उत्तम रहेको बताए । कोरियामा तीनतहको संरचना रहेको र त्यहाँको संस्थाको अनुगमन संस्थागत पुँजी र क्यामेल रेटिङ प्रणालीलाई आधार मानेर गर्ने गरेको बताउनुभयो । कुनै पनि संस्था वित्तीय रुपमा टाट पल्टिए बचत सुरक्षणमार्फत सदस्यको बचत फिर्ताको सुनिश्चितता गरेको उहाँले जानकारी दिनुभयो । संस्थाहरुले विजनेश प्लान नबनाउने र शेयर पुँजीको १० प्रतिशत भन्दाबढी एकै व्यक्तिलाई लगानीगर्दा समस्या आउने हुँदा वित्तीय सञ्चालनको कानुनी परिपालना गर्दै संस्था सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यपत्रमाथी टिप्पणी गर्दै डा. नरहरी ढकालले सहकारीमा देखिएको समस्या आन्तरिक रहेको बताउनुभयो । सहकारीहरु शहर केन्द्रीत र नाफामुखी हुँदा अहिले समस्या निम्तिएको बताउदै उहाँले संस्थालाई सफल र दिगो बनाउनको निम्ति संस्थाभित्रका आन्तरिक नीति तथा कार्यविधिलाई कार्यान्वयन गर्नुपर्ने जोड दिनुभयो ।
What's Your Reaction?






