रसुवा बाढी पीडितका लागि राहत जुटाउँदै सहकारी
रसुवाको भोटेकोशी बाढीपीडितका लागि देशभरका सहकारी संघसंस्थाहरू राहत तथा आर्थिक सहयोग जुटाउन एकजुट भएका छन्। सङ्कलित रकम पारदर्शिता र सदुपयोगका लागि नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गर्न सहकारीकर्मीहरूलाई आह्वान गरिएको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण ठूलो परिमाणमा अपूरणीय मानवीय एवम् भौतिक क्षति पुगेपछि उत्पन्न विषम परिस्थितिप्रति सहकारी क्षेत्रले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा पीडित परिवारको घाउमा मलम लगाउन देशभरका सहकारी संघसंस्थाहरू राहत तथा उद्धार सहयोगमा जोडिन थालेका छन्।
भोटेकोशीको कटान र बाढीले पुर्याएको व्यापक क्षतिपछि सहकारी केन्द्रीय संघ, जिल्ला तथा प्रदेश स्तरीय विषयगत संघहरू लगायत विभिन्न प्रारम्भिक सहकारी संस्थाहरूले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिरहेका छन्। अभियान अन्तर्गत सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा आम सदस्यहरूले व्यक्तिगत एवम् संस्थागत रूपमा आर्थिक योगदान गरिरहेका छन्।
प्राकृतिक विपत्तिको यस समयमा गरिने सानो भन्दा सानो सहयोगले पनि बाढीपीडितको जीवन रक्षा र पुनःस्थापनामा ठूलो राहत पुग्ने महसुस गर्दै सम्पूर्ण सहकारीकर्मीहरूलाई अभियानमा हातेमालो गर्न आह्वान गरिएको छ। राहत रकमको पारदर्शिता र सही सदुपयोग सुनिश्चित होस् भन्नाका खातिर सहकारी संस्थाहरूले सङ्कलित रकम नेपाल सरकारको आधिकारिक बैंक खातामा मात्र जम्मा गर्न/गराउन सबैमा विशेष अनुरोध गरेका छन्।
"सहकारीको मूल मर्म नै आपत्-विपत्मा एक-अर्काको सहारा बन्नु हो," अभियानमा सहभागी एक सहकारी अभियानकर्मीले भने, "यस्तो सङ्कटको बेला देशभरका सम्पूर्ण सहकारी संघ/संस्था र तिनमा आबद्ध सदस्यहरूले आफ्नो क्षमताअनुसारको सहयोग सरकारी कोषमा जम्मा गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्छ।"
बाढीबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि केन्द्रीय तहदेखि स्थानीय तहका सबै सहकारी निकायहरूलाई आफ्नो स्थानबाट राहत कोषमा सहयोग जुटाउने कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ।
What's Your Reaction?


admin
