दर्ता प्रक्रिया पूरा गरेका सहकारीले अब थप कागजात अपलोड गर्नुपर्ने, त्यसपछि मात्रै दर्ता प्रमाणपत्र
दर्ता अभिलेखीकरण प्रक्रिया पूरा गरी प्रमाणपत्रको प्रतीक्षामा रहेका सहकारीले अब सञ्चालक तथा व्यवस्थापकको योग्यता, पृष्ठभूमि र वित्तीय अनुशासनसम्बन्धी थप कागजात FCRS प्रणालीमा अपलोड गर्नुपर्ने भएको छ। आवश्यक विवरण तथा प्रमाण पेस गरेपछि मात्र दर्ता प्रमाणपत्र र सञ्चालन इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखीकरण प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेका सहकारी संस्थाहरूलाई थप आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले २०८३ कात्तिक १७ गते सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई दर्ता अभिलेखीकरण तथा सञ्चालन इजाजतपत्र प्राप्तिका लागि थप विवरण तथा कागजात अपलोड गर्न सूचित गरेको हो।
प्राधिकरणको सूचनाअनुसार अब दर्ता प्रक्रिया पूरा गरेका तर प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेका सहकारी संस्थाहरूले सञ्चालक तथा व्यवस्थापकको फिट एण्ड प्रोपर टेस्टसम्बन्धी कागजात, प्रहरी प्रतिवेदन तथा कर्जा सूचना केन्द्रमार्फत कालोसूचीमा परे–नपरेको विवरण लगायतका आवश्यक प्रमाणहरू प्राधिकरणको एफसीआरएस (FCRS) प्रणालीमा अपलोड गर्नुपर्नेछ। विशेषगरी सञ्चालक तथा व्यवस्थापकको योग्यता, अनुभव र व्यक्तिगत विवरणसँग सम्बन्धित कागजातहरू अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, सहकारी संस्थाले प्राधिकरणबाट जारी दर्ता अभिलेखीकरणसम्बन्धी मापदण्डको व्यवस्था बमोजिम आवश्यक विवरण तथा प्रमाणित कागजातहरू प्रणालीमा प्रविष्ट गरी पेस गर्नुपर्नेछ। यसअघि विवरण प्रविष्ट गरिसकेका संस्थाहरूले समेत सूचनामा उल्लेख भएबमोजिम छुटेका कागजात अपलोड गर्नुपर्नेछ।
प्राधिकरणले थप कागजात तथा विवरण पेस भएपछि मात्र आवश्यक प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र तथा सञ्चालन इजाजतपत्र प्राप्त गर्ने बाटो खुल्ने स्पष्ट पारेको छ। यस व्यवस्थाले सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकको योग्यता, पृष्ठभूमि र वित्तीय अनुशासन परीक्षणलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
त्यसैले दर्ता प्रक्रिया पूरा भइसकेको भन्दै प्रमाणपत्रको प्रतीक्षामा रहेका सहकारी संस्थाहरूले पनि FCRS प्रणालीमा आफ्नो विवरण र आवश्यक कागजात पूर्ण रूपमा अपलोड भए–नभएको यकिन गर्नुपर्ने देखिएको छ।
What's Your Reaction?


