ऋण असुली प्रक्रिया तीव्र, १५ दिनभित्र बुझाउन समितिको निर्देशन

प्रकाशन मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी आफ्नो हिसाब मिलान गरी बाँकी रकम बुझाउन आग्रह गरिएको छ

२०८३-०१-०८
 0  132
ऋण असुली प्रक्रिया तीव्र, १५ दिनभित्र बुझाउन समितिको निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई लक्षित गर्दै अत्यन्तै जरुरी सूचना जारी गरेको छ। समितिको कार्यालय बुद्धनगर, काठमाडौँले २०८३ वैशाख ८ गते सूचना प्रकाशित गर्दै सम्बन्धित सहकारी संस्थाका ऋणी, सञ्चालक, कर्मचारी तथा जमानतकर्तालाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम अवसर दिएको हो।

समितिका अनुसार, सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई समितिको मातहतमा आएका विभिन्न सहकारी संस्थाहरूका ऋणीहरूलाई यसअघि पटक–पटक सूचना, एसएमएस, फोन तथा राष्ट्रिय दैनिक पत्रिकामार्फत जानकारी गराइए पनि हालसम्म ऋणको साँवा, व्याज तथा जरिवाना नतिरेको पाइएकाले पुनः यो सूचना जारी गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार, प्रकाशन मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी आफ्नो हिसाब मिलान गरी बाँकी रकम बुझाउन आग्रह गरिएको छ। निर्धारित समयभित्र पनि ऋण नतिरेमा सम्बन्धित ऋणीहरूको नामावली सार्वजनिक गरिने, उनीहरू तथा जमानतकर्ताको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी दिइएको छ।

त्यसैगरी, सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम धितो लिलाम बिक्री वा अन्य कानुनी प्रक्रिया अपनाएर बाँकी रकम असुलउपर गरिने समितिले स्पष्ट पारेको छ।

समितिले स्ट्यान्डर्ड, प्यासिफिक, ओरियन्टल, कञ्जुर, कोहिनुर हिल, वेगास, पशुपति लगायत दर्जनौँ सहकारी संस्थाहरूका ऋणीहरूलाई लक्षित गरी यो सूचना जारी गरेको हो। लामो समयदेखि समस्याग्रस्त सहकारीहरूको संख्या बढ्दै जाँदा सर्वसाधारणको बचत जोखिममा परेको सन्दर्भमा सरकार र समितिले ऋण असुली प्रक्रिया कडाइका साथ अघि बढाएको जनाएको छ।

समितिले सम्बन्धित सबै पक्षलाई तोकिएको समयभित्रै आफ्नो दायित्व पूरा गर्न आग्रह गर्दै अन्यथा कडा कानुनी कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow