सहकारी परिवारमा संवादको संस्कार, दुर्व्यवहार होइन उत्तरदायित्वको आधार

सहकारी संस्था समस्यामा परेका सदस्यका लागि पुनःतालिकिकरण, सहकार्य र सकारात्मक संवाद आवश्यक छ। कर्मचारीमाथिको दुर्व्यवहार गलत अभ्यास हो। सहकार्यमै समाधान खोज्नुपर्छ, भागेर होइन।

२०८२-०४-०३
 1  175
सहकारी परिवारमा संवादको संस्कार, दुर्व्यवहार होइन उत्तरदायित्वको आधार

सहकारी संस्था केवल ऋण दिने निकाय होइन, विश्वास र सहयोगमा आधारित साझा आर्थिक परिवार हो, जहाँ सदस्यले आवश्यक पर्दा ऋण लिएका हुन्छन् र त्यो ऋण कसै न कसैको बचतबाट लगानी गरिएको हुन्छ। अहिलेको आर्थिक मन्दी, आम्दानीको अभाव र बजारको संकटका कारण धेरै सदस्यहरूले ऋण समयमै तिर्न नसकेको अवस्था छ। यस्तो परिस्थितिमा सहकारीहरूले एकदमै गाह्रो परेका सदस्यलाई सहज बनाउने हेतुले ब्याज रकम तिर्ने आधारमा पुनःतालिकिकरण (rescheduling) को लागि अनुरोध गरिरहेका छन्, जसले सदस्यलाई पनि कानुनी झन्झटबाट जोगाउँछ र संस्थाले पनि खराब कर्जाबाट थारै भएपनि उन्मुक्ति पाउँछ। अतः सदस्यले संस्थासँग सम्पर्क गरी, आफ्नो समस्या स्पष्ट रूपमा राखी, कम्तीमा ब्याज रकम बुझाएर पुनःतालिकिकरणको प्रक्रिया स्वीकार गर्नु सबैको हितमा हुन्छ। समस्या भागेर होइन, छलफल र सहकार्यबाट समाधान गर्न सकिन्छ भन्ने सकारात्मक सोचका साथ अघि बढ्नु नै सहकारी सदस्यको जिम्मेवारी हो । 

पछिल्लो समय सहकारीका कर्मचारीहरु माथी धम्कीपुर्ण भाषा बोल्ने, दुर्व्यवहार गर्ने तथा सामाजिक सञ्जालमा दुर्व्यवहार गरेका तथा भ्रामक भिडियो हरु सम्प्रेशण गर्ने जस्ता कार्यहरु भई रहेका छन् । यो संस्था तथा सदस्य दुवैको लागि दुखद कुरा हो । यसले समाजमा सामाजिक सम्बन्ध खलबल्याउँछ । त्यसैपनि हिजोका दिन जस्तो आज सापटी, गाउँघरमा हुने लेनदेन हसन छाडेका छन् त्यसमाथि यस्ता कृयाकलापले झन् समाजमा नकरात्मक छाप त छोड्छ नै, अर्को तिर यसले आर्थिक कारोबारको चक्रिय प्रणालीलाई समेत असर गर्छ । सहकारीमा हुने मुख्य पूँजीको श्रोत नै सदस्यको शेयर तथा बचत हो, तसर्थ आज तपाईँले ऋण नतिर्ने हो भने तपाईको छिमेकीले बचत फिर्ता पाउन सक्दैन, भोली अर्को सदस्यले ऋण नतिरेको खण्डमा तपाईँले बचत फिर्ता पाउन सक्नुहुन्न त्यसैले यो चक्रिय प्रणालीलाई चल्न दिन पनि ऋण समयमा तिर्न सदस्यले बल गर्नै पर्छ प्रयास गर्दापनि समयमा ऋण भुक्तानी गर्न असमर्थ भएमा संस्थामा गई आफ्नो समस्या निर्धक्क राख्नुपर्छ र संस्थाले पनि सुशासनको पाटोलाई ध्यानमा राख्दै सदस्यलाई सहयोग गर्नुपर्छ ।

 ऋण : कर्मचारीको होइन, सम्पूर्ण सदस्यको दायित्व हो

सहकारी संस्थाले ऋण वितरण गर्दा त्यसको स्रोत सदस्यहरूकै बचत हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। आज एक सदस्यले लिएको ऋण अरू सदस्यहरूको जमाको भाग हो। त्यसैले जब ऋण फिर्ता हुँदैन, त्यसको असर सम्पूर्ण सहकारी र सबै सदस्यहरूमाथि पर्छ। यस्तो अवस्थामा ऋण असुलीका लागि खटिने कर्मचारीहरू संस्थाको प्रतिनिधि भएर कानुनी दायित्व निभाइरहेका हुन्छन्। सदस्यहरुले लिएको ऋण कर्मचारीको दायित्व  होइन, सम्पूर्ण सदस्यको दायित्व हो, कर्मचारी हरुको दायित्व त उक्त ऋण उठाउने हो । त्यसैले उनीहरूले आफ्नै इच्छा अनुसार होइन, संस्थाको नीतिगत व्यवस्था, ऋण कार्यविधि तथा नियामक निकायको निर्देशनअनुसार कार्य गरिरहेका हुन्छन्।

कानुनी चेतना र सहकार्यको आवश्यकता

सहकारी संस्थासँग कुनै पनि समस्या परेको अवस्थामा समाधान खोज्नु नै सबैभन्दा प्रभावकारी र नैतिक उपाय हो। तर पछिल्ला दिनहरूमा कर्मचारीहरूमाथि आक्रमण, दुर्व्यवहार र सामाजिक सञ्जालमा बदनाम गर्ने प्रवृत्ति हावी हुन थालेको देखिन्छ, जुन कदापि स्वीकार्य हुँदैन। यस्तो कार्यले संस्थामा कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै समग्र सहकारी प्रणालीप्रति जनविश्वासमा आघात पुर्‍याउँछ।

कर्मचारीहरू कुनै पनि ऋणीको शत्रु होइनन्। उनीहरू ऋणीले लिएको ऋण चुक्ता होस् भन्ने अपेक्षा राखेर आफ्नो दायित्व पूरा गरिरहेका हुन्छन्। उनीहरू पनि आम नागरिक हुन् जसको परिवार, जिम्मेवारी र सामाजिक प्रतिष्ठा हुन्छ। त्यस्ता संस्थाले दिएको जिम्मेवारी वहन गर्ने व्यक्तिहरू, करमचारीहरुलाई अपमानित गर्नु, आक्रोश निकाल्नु वा सार्वजनिक रूपमा अपमान गर्नु सरासर गैरकानुनी र अनैतिक कार्य हो।

सकारात्मक संवाद र समाधानमै सफलता छ

कुनै पनि सदस्यलाई ऋण तिर्न समस्या हुन सक्छ। यसलाई संस्था र कर्मचारीले पनि बुझ्दछन्। त्यसैले सहकारी संस्थाहरूले पुनःतालिकीकरण (rescheduling), ब्याज छुट, किस्ता योजना पुनर्निर्धारण जस्ता उपायमार्फत समस्या समाधान गर्न सक्ने विकल्पहरू खुला राखेका हुन्छन्। सदस्यले संस्थामा आएर समस्या स्पष्ट राखेमा सबैभन्दा उपयुक्त र व्यवहारिक समाधान निकाल्न सकिन्छ।

तर, संस्थासँग टाढा भाग्ने, फोन उठाउन छोड्ने, कर्मचारी आए दुर्व्यवहार गर्ने, सामाजिक सञ्जालमा निन्दा गर्ने जस्ता कार्यहरू समस्याको समाधान होइन, उल्टै समस्या झन जटिल बनाउने खालका हुन्।

सामूहिक उत्तरदायित्व र नैतिकता

हिजो तपाईंले व्यवसाय गर्न, छोराछोरीको शिक्षा वा स्वास्थ्य उपचारको लागि सहकारीबाट लिएको सहयोग आज तपाईंको दायित्व हो। त्यो ऋणलाई माफ हुने ठान्नु, संस्थालाई र अन्य बचतकर्ता तपाईँकै छिमेकीहरु माथीको धोका हो र दुर्व्यवहार गर्नु भनेको आफ्नो विगतको सहयोगलाई बिर्सनु हो।

सम्भवतः, तपाईंसँग साँच्चै नै समस्या छ संस्थामा आई छलफल गर्नुहोस्। तपाईंको कुरा सुन्ने र बुझ्ने संस्था तयार छ। सहयोग गर्ने वातावरण सिर्जना गर्नु तपाईंको पनि जिम्मेवारी हो।

सहकारी भनेको साझा घर हो – संरक्षण हामी सबैको कर्तव्य हो

सहकारी संस्थाहरूको मजबूती भनेकै पारदर्शिता, सहभागिता र विश्वास हो। यस संस्थामा कर्मचारी, सदस्य, सञ्चालक र नियामक निकाय सबैको आ–आफ्नो भूमिका हुन्छ। कसैले पनि संस्थालाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नु हुँदैन। सदस्यले सहकारीलाई आफ्नो घर ठान्नुपर्छ, जसमा कुनै पनि असन्तुष्टि छ भने घरभित्रै बसेर समाधान खोज्नुपर्छ।

निष्कर्षमा – सहकार्यले मात्र सम्भव छ समाधान

अन्ततः, सहकारी संस्था सबै सदस्यको साझा सम्पत्ति हो, जसको सफल सञ्चालन सबैको साझा उत्तरदायित्वमा आधारित हुन्छ। सदस्यले लिएको ऋण समयमा फिर्ता गर्नु, कर्मचारीले संस्थाको नीतिअनुसार इमानदारीपूर्वक काम गर्नु, र संस्थाले पनि सदस्यको अवस्था बुझ्दै लचकता अपनाउनु — यी तीनै पक्षको समन्वयले मात्र सहकारी क्षेत्र मजबुत, मर्यादित र विश्वसनीय बन्न सक्छ। समस्या समाधानका लागि टाढा भाग्ने होइन, समस्या सामना गरेर छलफल गर्ने संस्कार विकास गर्नु जरुरी छ। कुनै पनि असन्तोष वा कठिनाइको समाधान सहकार्य, पारदर्शिता र कानुनी चेतना मार्फत खोज्न सकिन्छ। त्यसैले, सबै सदस्य, कर्मचारी र सञ्चालकले जिम्मेवार भएर सहकारीको गरिमा जोगाउने दिशामा जुट्नु अहिलेको आवश्यकता हो — सहकार्यमै समाधान छ,  असहयोग र दुर्व्यवहारमा होइन।

~पर्वतराज चिमरिया

व्यवस्थापक - आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.

 
English Summary
This article by Parbat Raj Chimariya highlights the growing issues in Nepal's cooperative institutions, particularly around loan repayment delays due to economic stress. It emphasizes that cooperatives are mutual financial communities, and members must take shared responsibility rather than blame employees. The article calls for respectful dialogue, rescheduling of loans, and collective efforts to protect the cooperative ecosystem. Misbehavior towards staff and spreading defamation through social media are criticized as harmful practices. The solution, it insists, lies in collaboration—not conflict.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Parbatraj Chimariya लेखक परिचय : विर्तामोड–४, झापा निवासी पर्वतराज चिमरिया विगत १२ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील हुनुहुन्छ। हाल उहाँ आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ। सहकारी व्यवस्थापन, तालिम, विकास तथा दस्तावेजीकरणमा उहाँको विशेष दक्षता छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर (MBS) र काठमाण्डौ विश्वविद्यालयबाट तालिम तथा विकास (MTD) विषयमा स्नातकोत्तर गर्नुभएको छ।