सहकारीको नियमन र प्रवर्धनमा नियमक निकायको भूमिका -रामचन्द्र उप्रेती
सहकारी पाना । सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवि प्रशासकका रुपमा राष्टियरुपमा परिचित विद्वान, नेपाल...
-रामचन्द्र उप्रेती
सहकारी पाना । सहकारी, समाज, प्रशासन लगायतका क्षेत्रका ज्ञाता र अनुभवि प्रशासकका रुपमा राष्टियरुपमा परिचित विद्वान, नेपाल सरकारका पुर्व सचिव, लेखक एवं विश्लेषक गोपिनाथ मैनाली ज्युले तयार पार्नु भएको सहकारीको नियमन र प्रवर्धनमा नियमक निकायको भूमिका विषयक कार्यपत्रका बारेमा नियम पु-याउन मात्रै म टिप्पणिकारको रुपमा उभिएको छु । यति धेरै विद्धता र अनुभव भएका कार्यपत्र प्रस्तोता प्रति हार्दिक नमन गर्दै वहाँको र कार्यपत्रको सम्मान गर्दछु ।
कार्यपत्र प्रस्तोता विद्धान एवं अनुभवि व्यक्तित्वले प्रस्तुत गर्नुभएको विषयमा खोट लगाउने कुनै ठाउँ छैन । ती सबै सहकारीका मुल्यमान्यता, सिद्धान्त, परम्परा, नीति, नियम, संविधान, कानुन अनुसार छन् । त्यसमा यो धेरै भयो, यो अलि मिलेन, यस्तो हुनुपथ्र्यो भन्ने कुनै ठाउँ छैन । त्यसैले यो कार्यपत्रमा उठाएका सबै विषय यथावत रहनु वान्छनिय ठान्दछु ।
यो कार्यपत्रको अध्ययन गरिरहदा मेरा मनमा उठेका केही कुरालाई यहाँ राख्न चाहन्छु । सहकारी संघसस्थाको पहिलो नियमन गर्ने निकाय कुन हो ?
मेरो विचारमा पहिलो नियमन गर्ने निकायको व्यवस्था कानुनतः पनि सहकारीका सदस्य नै हुन् । त्यसैले सदस्यहरुले आपूमध्येबाट आफैले बनाएको विनियम अनुसार छानेको लेखा तथा सुपरिवेक्षण समिति हो । दोश्रो नियमनकारी निकाय भनेको संस्थाले स्वेच्छाले सदस्य बनेको आप्mनो संघ हो । संघले आफ्ना सदस्यको नियमन र प्रवर्धन गर्नुपर्छ । सहकारी भित्रको स्वयत्तता र स्वतन्त्रताको मर्म तबमात्रै पुरा हुन्छ जब हामी आपूm आवद्ध भएको संस्थाको सञ्चालन गर्न मात्रै होइन नियमन गर्न र सदस्यको व्यवसायको प्रवर्धन गर्न सक्षम हुन्छौं ।
हामी सहकारी अभियानका कतिपय मानिसलाई के लागेको छ भने सहकारीको दर्ता गरिदिने निकायले दह्रोसँग नियमन गरिदिनु पर्छ । हेरी राख्नु पर्छ । हाम्रो संस्था र हामी बिग्रिहाल्यौ भने त्यो दर्ता गरिदिने निकायले नहेरिदिएकाले हो भन्ने लागेको छ । यो कुरा अलिकति मात्रै सत्य हो । धेरै सत्य भनेको हामीले गर्नुपर्ने काम नगरेर भएको हो । राम्रो पनि हाम्रा कारणले र नराम्रो पनि हाम्रा कारणले भएको हो ।
सहकारी दर्ता गरिदिने निकायले हामीले अर्थात संघसस्थाले बनाएर लगिदिएको विनियम सहकारीका मुल्य, मान्यता, सिद्धान्त, प्रचलित कानुन, नीति, परम्परा अनुसार मिलेको छकि छैन भनेर हेरी दिएको मात्रै हो । नमिलेको हकमा पनि यो मिलेन भनिदिन्छ । मिलाउनु हामी आपैmले पर्छ । त्यसैले सबैभन्दा पहिला विनियमको स्वमित्व हामी आफैले लिनु पर्छ ।
स्विकृत विनियमको अधिनमा रही सदस्यको आवस्यकताको पहिचान गरेर व्यवसाय गर्न कार्यविधि आपैmले बनाउने हो । आफैले बनाएको विनियम, नीति, कार्यविधि, परम्परा अनुसार सहकारी हामी आफैले चलाउने हो । यति हो हामीले गर्ने काम सहकारीका मुल्यमान्यता, सिद्धान्त अनुरुप हुनुपर्छ ।
सहकारी विभागको अधिकार तिन तहमा बाडिएको छ । विभागको पहिलो काम संघसस्था दर्ता गरिदिने हो । दोश्रो काम संस्था दर्ता गर्दाका वखत कबुल गरे अनुसारको काम भएको छ कि छैन, गरेका काम नियम संगत भएका छन्छैनन् ? त्यसलाई हेर्ने, सुझाव दिने हो । दिएका सुझाव एवं निर्देशनको कार्यन्वयनको अवस्था कमजोर देखिएमा र सदस्यको सम्पतिको सुरक्षा हुन नसकेर जोखिममा परेको अवस्था भएमा, सम्पति हिनामिना गरेको पाइएमा कानुनले तोके अनुसारको दण्ड सजाय गर्ने र तेश्रो काम सहकारी व्यवसायको प्रवर्धनमा सहयोग गर्ने हो ।
शिक्षा, तालिम र सुचनाको काम विभाग र संघसस्थाले आपसमा मिलेर गर्ने हो । यसको मुख्य उद्देश्य भनेको हामीले हाम्रा लागि चलाउने गरेका सहकारी संघसस्था सहकारीका मुल्य, मान्यता, सिद्धान्त, नितिनियम अनुरुप चल्न सकुन र तिनले लिएको लक्ष पुरा होस् भन्ने हो ।
हाम्रा लागि हामीले बनाएका सहकारी हामी नियमन नगर्ने, आफैले बनाएको विनियम र कार्यविधिको पालना आफैले नगर्ने, सुचना लुकाउने, पारदर्शिता नअपनाउने, सहकारीका मुल्य, आदर्श, शिद्धान्तको परिपालना नगर्ने र त्यसको नतिजा सहकारी जोखिममा परेपछि दर्ता गर्ने
निकायलाई दोष थोपरेर उम्कन सकिएला र ?
सहकारी अभियानको विकास, एकता, अनुशासन, नियमन र प्रवर्धन गर्न बनाएका संघहरुको भुमिका नियमनमा कति प्रभावकारी भएको छ । यसका लागि हामीले कति काम गयौं ? यो समिक्षाको विषय बनेको छ । हामीले कमजोरी गर्ने र त्यसलाई सच्याउन हामी आपै नलागेर दर्ता गरिदिने निकायलाई गुहार्ने हो भने सहकारीको स्वयत्तताको अवस्था के होला ।
कार्यपत्र प्रस्तोता विद्वान मित्र गोपिनाथ मैनालीको शालिन, भद्र र शिष्ट व्यक्तित्वले मैले माथि अनुभुति गरेका कुरा लेखेर व्यक्त गर्ने अनुमति नदिएको हुन सक्छ । म त्यसको सम्मान गर्छु । तर आजको सहकारी अभियानलाई सुधारेर जोखिमको बाटोबाट बाहिर ल्याउन यी र यस्ता अलि सबैलाई नपच्ने कुरा पनि लेख्न र बोल्न आँट गर्नुपर्छ भन्ने लाग्छ । जति नै अपृय लागे पनि सहकारी अभियानलाई जोखिमबाट जोगाउन अभियानमा लागेका हामी आफैले गर्नैपर्ने काममा कोही कतै नचुकौं भन्दै यो प्रस्तुतिको बिट मार्न चाहन्छु । यो गरिमामय साकोस समिटमा आफ्नो भनाई राख्ने अवसर जुटाई दिनुहुने सबैलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु ।
(लेखक रामचन्द्र उप्रेती नेपाल बहुउदेश्य सहकारीका अध्यक्ष हुनुहुन्छ ।)
What's Your Reaction?


