राष्ट्रिय सहकारी बैंकको चुनाव कि पार्टीको कार्यकर्ता भर्ती मेला ?
राष्ट्रिय सहकारी बैंकको निर्वाचनसँगै सहकारी क्षेत्रमा व्यावसायिक र सक्षम नेतृत्वको आवश्यकता जोडदार रूपमा उठेको छ। दलीय प्रभाव र दोहोरो जिम्मेवारीमाथि प्रश्न उठिरहँदा अबको नेतृत्वले सहकारी संकट र जनविश्वास दुवै सम्बोधन गर्नुपर्ने अपेक्षा गरिएको छ।
नेपालको सहकारी अभियान आज एउटा गम्भीर, चुनौतीपूर्ण र ऐतिहासिक मोडमा उभिएको छ। विगत केही समयदेखि सहकारी क्षेत्रले व्यहोर्नुपरेको संकट र साखको गिरावटले गर्दा समग्र आन्दोलन नै एउटा अन्योलपूर्ण चौबाटोमा आइपुगेको छ। यस्तो संवेदनशील घडीमा हुन गइरहेको राष्ट्रिय सहकारी बैंकको निर्वाचन केवल एउटा प्राविधिक प्रक्रिया मात्र होइन। त्यसैले अहिलेको परिस्थितिमा प्रश्न अब केवल राष्ट्रिय सहकारी बैंक चुनावको होइन, मुख्य प्रश्न त राष्ट्रिय सहकारी बैंक बचाउने कि फेरि पार्टीको भर्ती केन्द्र बनाउने भन्ने हो। यो चुनावले बैंकको मात्र होइन, नेपालको सिंगो सहकारी आन्दोलनको भविष्यको दिशा तय गर्नेछ।
हाम्रो सहकारी आन्दोलन धराशयी हुनुको मुख्य जड यसको दलीयकरण हो। सहकारीको आधारभूत सिद्धान्त 'स्वायत्तता र स्वतन्त्रता' भए पनि नेपालमा यसलाई राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाइयो। वर्षौंदेखि सहकारी क्षेत्रमा एउटा गलत र घातक संस्कार बसालियो — “पार्टीले भनेको मान्छेलाई जिताउने।”
नेतृत्व चयनको यो भ्रामक परिपाटीले गर्दा योग्य र निष्ठावान मानिसहरू पाखा पारिए। उम्मेदवारले सहकारीका लागि के योगदान दियो, उसको योग्यता र इमानदारिता के हो भन्नेभन्दा पनि… कुन पार्टीसँग नजिक छ भन्ने आधारमा नेतृत्व चयन गरियो। नीति, विधि र व्यावसायिकतालाई लत्याएर केवल राजनीतिक आबद्धतालाई योग्यताको मापदण्ड मान्ने गल्ती गरियो।
सहकारी चलाउन पार्टीको निर्देशन दिने, र "यसलाई जिताउनू, यसलाई भोट दिनू" भन्दै ह्विप जारी गर्ने यो विसंगत संस्कार जबसम्म रहन्छ, तबसम्म सहकारी अभियान कुनै पनि हालतमा अघि बढ्न सक्दैन। राजनीतिक दलको यो अनावश्यक हस्तक्षेप र नियन्त्रणमुखी प्रवृत्ति नै सहकारी संकटको मुख्य कारक हो। आज हामीले भोगिरहेको दुर्दशा त्यसकै तीतो परिणाम हो। जसका कारण सहकारीप्रति जनविश्वास घट्दै गएको छ, निर्दोष बचतकर्ताहरू त्रसित र डराएका छन्, अनि सिङ्गो अभियान कमजोर हुँदै गएको छ।
यसै अराजकता र अन्योलका बीच, अहिले फेरि नेतृत्वका लागि दुईवटा नाम चर्चाको केन्द्रमा छन् — रामशरण शर्मा घिमिरे र परितोष पौडेल। यी दुई पात्रको कार्यशैली र छविलाई लिएर सहकारी वृत्तमा यतिबेला गम्भीर समीक्षा भइरहेको छ।
रामशरण शर्मा घिमिरेलाई धेरैले सहकारी अभियानमा बढी केन्द्रित व्यक्तिको रूपमा हेर्ने गरेका छन्। उनको परिचय कुनै राजनीतिक दलको कार्यकर्ताभन्दा पनि एक निष्ठावान सहकारीकर्मीको रूपमा स्थापित छ। उनी पार्टी राजनीतिभन्दा माथि उठेर सहकारी संरचना र अभियानभित्रै इमानदारीपूर्वक काम गरिरहेको छवि बनाएका व्यक्ति मानिन्छन्। संस्थागत सुशासन र व्यावसायिकतामा जोड दिने उनको प्रवृत्तिका कारण धेरै सहकारीकर्मी उनलाई आशाको नजरले हेर्छन्।
अर्कोतर्फ, परितोष पौडेलको विषयमा भने सहकारी वृत्तमा प्रश्नहरू धेरै छन् र ती अनुत्तरित छन्। उनको विगतको भूमिका र नेतृत्व यात्रालाई लिएर गम्भीर प्रश्नहरू उठाइएका छन्:
- किन उनले हरेक नयाँ पदका लागि नयाँ–नयाँ सहकारीबाट प्रतिनिधित्व लिनुपर्यो?
- किन एउटै संस्थामा बसेर निरन्तर नेतृत्व र स्थायित्व दिन सकिएन?
- किन जहाँ–जहाँ अवसर देखियो, त्यहीँ–त्यहीँ प्रतिनिधित्व बदलिनु पर्ने स्वार्थी क्रम देखियो?
यी प्रश्नहरूले उनको संस्थागत निष्ठा र स्थायित्वमाथि गम्भीर संशय पैदा गरेको छ। सहकारी वृत्तमा उनीमाथि अर्को गम्भीर आरोप पनि सुनिन्छ — “जुनसुकै पद भए पनि आफू नै प्रमुख दाबेदार बन्नुपर्छ” भन्ने अहङ्कारी सोच।
धेरै निष्ठावान सहकारीकर्मीहरू खुलस्त भन्छन् — सहकारी अभियानभित्र संवादको लोकतान्त्रिक संस्कार कमजोर हुनु, गुटीय राजनीति मौलाउनु र संस्थाहरू क्रमशः कमजोर बन्दै जानुमा यस्तै व्यक्तिकेन्द्रित नेतृत्व शैलीको मुख्य भूमिका छ। नेतृत्व जब संस्थाभन्दा व्यक्ति बलियो हुन खोज्छ, तब प्रणाली भत्किन्छ।
यसकै प्रत्यक्ष असर स्वरूप आज NEFSCUN (नेफस्कून) को वित्तीय अवस्था कमजोर बन्नु, संस्थाको सार्वजनिक छवि क्षतविक्षत हुनु र निर्णय प्रक्रियामा अत्यधिक केन्द्रिकरण देखिनुका गम्भीर विषयहरू समय–समयमा उठ्ने गरेका छन्। केन्द्रीय संघहरू नै राजनीतिक सन्तुलन मिलाउने र गुटबन्दी गर्ने थलो बन्दा त्यसको प्रत्यक्ष मार तल्लो तहका प्रारम्भिक संस्थाहरू र तिनका सदस्यहरूमा परेको छ।
तर यी सबै बहस, आरोप र प्रत्यारोपका बीच आजको अन्तिम र निर्णायक प्रश्न एउटै हो — के हामी फेरि पनि पार्टीले भनेको मान्छेलाई नै अन्धभक्त भएर जिताउने? कि धराशयी बन्न लागेको सहकारी अभियानलाई बचाउन सक्ने कुशल नेतृत्व खोज्ने? यो प्रश्नको उत्तरमा नै अबको सहकारीको भविष्य अडिएको छ। सहकारी कुनै राजनीतिक दलको भ्रातृ सङ्गठन वा शाखा कार्यालय होइन। यो त लाखौँ सर्वसाधारण बचतकर्ताको रगत र पसिनाको विश्वास हो, सामान्य मानिसको भविष्य हो। जसले आफ्नो गाँस काटेर, दुःख गरेर जम्मा गरेको रकमको सुरक्षा र प्रवर्द्धनको अपेक्षा राखेको हुन्छ।
त्यसैले, अब समय आएको छ — संकुचित पार्टीगत स्वार्थ र दलीय निर्देशनभन्दा माथि उठेर समग्र अभियानको पक्षमा उभिने। भोट हाल्ने बेला पार्टीको झण्डा र ह्विपलाई बिर्सिएर संस्थाको हित हेर्ने बेला आएको छ। किनकि संकटको यो भुमरीमा सहकारीलाई अहिले चुनाव जित्न सक्ने 'राजनैतिक नेता' होइन… आम जनताको गुमेको विश्वास फर्काउन सक्ने कुशल, निष्कलंक र व्यावसायिक नेतृत्व चाहिएको छ।
English Summary:
Nepal’s cooperative movement is currently facing a deep crisis of credibility, largely driven by years of political interference and leadership selection based on party loyalty rather than competence and integrity. As the election of the National Cooperative Bank approaches, the debate is no longer just about choosing new leadership, but about whether the institution will be professionally reformed or continue functioning as a political recruitment center. The outcome is being viewed as crucial not only for the bank, but for the future direction of the entire cooperative sector in Nepal.
The discussion has especially centered around two candidates — Ramsharan Sharma Ghimire and Paritosh Poudel. Ghimire is widely seen as a professional and cooperative-focused figure committed to institutional governance, while Poudel faces criticism over alleged opportunistic leadership practices and excessive power-centered politics. The article argues that Nepal’s cooperative sector now urgently needs transparent, ethical, and professional leadership capable of restoring public trust, rather than leaders chosen through party influence and factional interests.
What's Your Reaction?

