ऋणका लागि सहकारीकै भर 

जनगणनाको तथ्यांक अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत परिवारले बैंक, वित्तीय संस्था र सहकारीबाट ऋण लिएका छन् । यसैगरी कोशीका २७.२३, वागमतीका २३.१९, गण्डकीका २५.२३, लुम्बिनीका २६.९६ र कर्णालीका २२.२० प्रतिशत घरपरिवारले वित्तीय संस्थाबाट ऋण लिएका छन् .....

२०८०-०७-१४
 0  607
ऋणका लागि सहकारीकै भर 

काठमाडौं । दैनिक गर्जो टार्नदेखि उद्योग व्यवसाय गर्न ऋणका लागि नेपालीहरु सहकारी संस्थाहरुमा भर पर्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को विस्तृत तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशतले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएका छन् । 

जनगणनामा बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट ऋण लिने सर्वसाधारणको विवरण एकै ठाउमा विश्लेषण गरिएको छ । तर, नेपाल राष्ट्र बैंकको तथ्यांक र जनगणनाको तथ्यांक विश्लेषण गर्दा भने नेपालीहरुले ऋण लिनका लागि सहकारीको भर पर्ने गरेका छन् । 

राष्ट्र बैंकको तथ्यांकमा २०८० भदौसम्ममा बैंक तथा वित्तीय संस्थाका ऋणीहरुको संख्या साढे १८ लाख रहेको छ । जनगणना गर्दाको समयमा यो संख्या १५ लाख भन्दा कम थियो । तर, एकै व्यक्तिले एक भन्दा बढी बैंकबाट ऋण लिएकाले बैंकबाट ऋण सुविधा पाउनेहरु सर्वसाधारणको संख्या कम छ । 

तर, न्यून आय भएका, तल्लो वर्गका सर्वसाधारणहरुलाई स–सानो ऋण समेत दिने भएकाले सहकारीबाट ऋण सुविधा लिनेको संख्या भने अत्यधिक रहेको छ । सहकारीहरुले घरको गर्जो टार्नदेखि उद्योग व्यवसाय गर्नका लागि समेत ऋण दिने गरेका छन् । यसैगरी बैंकको तुलनामा सहकारीको ऋण लिने प्रक्रिय सहज, सरल र छिटो हुने गरेको छ । 

नेपालमा वित्तीय पहुँच बढाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे वताउनुहुन्छ । गाउँघरमा स–सानो ऋण लिनका लागि साहु महाजनको भर पर्नुपर्ने अवस्थाको अन्त्य सहकारीले नै गरेको उहाँको भनाइ छ । 

सहकारी विभागको तथ्यांक अनुसार देशभर ३० हजार सहकारीमा करिब ७५ लाख सर्वसाधारण आवद्ध छन् । दर्ता भएका सहकारीहरुमध्ये आधा बचत तथा ऋण सहकारी छन् । बहुउद्देश्यीय, कृषिलगायतका विषयगत संस्थाहरुले पनि बचत तथा ऋणको कारोबार गर्ने भएकाले ६० प्रतिशत सहकारीहरुले वित्तीय सेवा दिदै आएका छन् । 

जनगणनाको तथ्यांक अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत परिवारले बैंक, वित्तीय संस्था र सहकारीबाट ऋण लिएका छन् । यसैगरी कोशीका २७.२३, वागमतीका २३.१९, गण्डकीका २५.२३, लुम्बिनीका २६.९६ र कर्णालीका २२.२० प्रतिशत घरपरिवारले वित्तीय संस्थाबाट ऋण लिएका छन् ।

यसैगरी कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना व्यक्तिको बैंक वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ । जनगणना गर्दा सहकारीमा रहेको बचत खातालाई भने गणना नगरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता