नेफ्स्कूनका व्राण्डेड संस्थाहरुको मर्जर भाडियो, तीन वर्षपछि प्रक्रिया नै बदर 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रोवेशन ब्राण्ड दिएका सहकारी संस्थाहरुको एकीकरण प्रक्रिया भाडिएको छ । २०७७ साल पुस २७ गते महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरुको उपस्थितीमा चारवटा संस्थाबीच एकीकरण भएको दाङको देउखुरी बचत तथा ऋण सहकारीको प्रक्रिया तीन वर्षपछि बदर भएको हो । 

२०८०-०७-०३
 0  719
नेफ्स्कूनका व्राण्डेड संस्थाहरुको मर्जर भाडियो, तीन वर्षपछि प्रक्रिया नै बदर 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रोवेशन ब्राण्ड दिएका सहकारी संस्थाहरुको एकीकरण प्रक्रिया भाडिएको छ । २०७७ साल पुस २७ गते महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दीपक पनेरुको उपस्थितीमा चारवटा संस्थाबीच एकीकरण भएको दाङको देउखुरी बचत तथा ऋण सहकारीको प्रक्रिया तीन वर्षपछि बदर भएको हो । 
एकीकरणमा सहभागी संस्थाहरुको संयुक्त निवेदनका आधारमा लुम्बिनी प्रदेश गृह मन्त्रालयले एकीकरण प्रक्रिया बदर गर्ने निर्णय गरेको हो । अब सबै संस्थाहरुले पुरानै नाममा अलग अलग रुपमा कारोबार गर्न पाउनेछन् ।  

दाङका हरियाली, बिहानी, जनजीविका र महाप्रभु बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था गठन भएको थियो । त्यसमध्ये हरियाली र महाप्रभुलाई नेफ्स्कूनले प्रोवेशन ब्राण्ड समेत दिएको थियो । तर, एकीकरणमा सहभागी महाप्रभुमा करिब ५ करोड रुपैयाँ अनियमितता भएको पाइएपछि मर्जरपछिको भविश्य नै अन्योलमा परेको थियो । 

सबै संस्थाहरुको चार्टर्ड एकाउन्टेन्टबाट लेखापरिक्षण गरिएको भएपनि महाप्रभुमा भएको घोटाला एकीकृत कारोबार सुरु गरेपछि मात्र थाहा भएको एकीकृत संस्थाको अध्यक्ष बनेका शिवध्वज मल्लले जानकारी दिनुभयो । त्यसपछि आन्तरिक छानविन समितिमार्फत हिसाव मिलाउने प्रयास गरेपनि सम्भव नभएपछि घोटालाको विषय अदालतमा पुगेको छ । 

अदालतबाट मुद्दा किनारा लाग्न ढिलाई भएपछि सबै संस्थाहरुले साधारणसभाबाटै अलग हुने निर्णय गरेका थिए । त्यसपछि एकीकरण प्रक्रिया बदर गर्न सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन दर्ता गरेपनि कार्यालयले निर्णय नगरेपछि दाङ जिल्ला अदालतमा मुद्दा पनि दायर गरिएको थियो । अदालतले एकीकरण भएपनि संयुक्त कारोबार नभएकाले कानुन अनुसार गर्न आदेश दिएको थियो । 

अदालतको आदेशपछि लुम्बिनी प्रदेश गृह मन्त्रालयले एकीकरण प्रक्रिया बदर गरेको हो । एकीकरण कार्यान्वयनको कुनै पनि कार्य गरेको नदेखिएकोले सहकारी एकीकरण कार्यविधि, २०७७ को दफा १७ (२) अनुसार एकीकरण स्वीकृती बदर गरिएको र निर्णय कार्यान्वयनको लागि सहकारी दर्ता अधिकारीको कार्यालयलाई जानकारी गराएको छ । 

महाप्रभु बचत तथा ऋण सहकारी संस्थाभित्र पाँच करोड बढी रकम अपचलन गरेको मुद्दा अहिले जिल्ला अदालतमा चलिरहेको छ । महाप्रभुको हकमा मुद्दा दर्ता भएकोले उक्त संस्थालाई अदालतको आदेश बमोजिम कारवाही हुने मन्त्रालयको निर्णयमा उल्लेख छ । 

यसबाहेक हरियाली बचत तथा ऋण सहकारी संस्था, जनजीविका बचत तथा ऋण सहकारी संस्था र बिहानी बचत तथा ऋण सहकारी संस्थाहरूलाई ३ महिनाभित्र छुट्टाछुट्टै लेखा परीक्षण गर्ने, नियमानुसार कर तिर्ने, साधारणसभा गर्ने, साधारणसभाको बैठकको निर्णयसहित प्रतिवेदन सहकारी दर्ता अधिकारीको कार्यालयमा पेश गरी बोधार्थ मन्त्रालयमा दिन भनिएको छ।

साविक संस्थाको नाम कायम गरी छुट्टाछुट्टै पान नम्बर प्रदान गर्न कर कार्यालयमा लेखी पठाउने र अन्य प्रक्रियागत रूपमा कुनै निर्णय लिनुपर्ने भए निर्णय लिइ सहकारीहरूलाई चुस्त दुरुस्त बनाउने गरी एकीकरणको प्रक्रिया बदर गरी छुट्टाछुट्टै कारोबार सञ्चालन गर्ने गरी विभाजन गर्न सहकारी दर्ता अधिकारीको कार्यालयमा निर्देशन दिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता