विदेश जान सहकारीकै भर, बैदेशिक रोजगारीले सहकारीमा सदस्यको संख्या बढायो

काठमाडौं । संविधानमा नै अर्थतन्त्रको एक खम्बाका रुपमा स्वीकार गरिएको सहकारीले बैदेशिक रोजगारीमा पनि ठूलो योगदान गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन प्रतिवेदनले बैदेशिक रोजगारी जाने सर्वसाधारणले सहकारी संस्थाहरुबाट ऋण लिने गरेको र सहकारीमा सदस्यको संख्या बढाउनका लागि समेत बैदेशिक रोजगार उपलब्धीमूलक भएको तथ्य सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकले गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ सम्बन्धी अध्ययनमा बैदेशिक रोजगारी गएका सर्वसाधारणमध्ये १५.१० प्रतिशत श्रमिकले बंैकिङ माध्यमको प्रयोग गरेको पाइएको छ । अध्ययनमा बैंक÷वित्तीय संस्था तथा सहकारीबाट ऋण लिएर विदेश जानेहरुलाई बैंकिङ माध्यमको प्रयोग गर्ने वर्गमा वर्गिकृत गरिएको थियो । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सहकारीलले प्राथमिकताका साथ कर्जा दिने गरेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको पहुँचमा पुग्न नसक्ने वर्गलाई सहकारीले वित्तीय सेवा दिदै आएका छन् । सदस्यको आवश्यक्ता र चाहाना अनुसार बचत तथा कर्जाका योजना संचालन गर्ने सहकारीहरुले बैदेशिक रोजगार कर्जा शिर्षकमा विदेश जान चाहाने युवाहरुलाई ऋण प्रवाह गर्दै आएका छन् ।
तर, बैदेशिक रोजगारीमा जानका लागि आफन्त, साथीभाई र साहु महाजनको भर पर्ने हिस्सा पनि उल्लेख्य छ । सबैभन्दा बढी ८४.९० प्रतिशत श्रमिकले वैदेशिक रोजगारीमा जाँदा लागेको खर्चको व्यवस्थापन गैर–बैंकिङ माध्यमबाट गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी बैदेशिक रोजगारीका कारण सहकारीमा आवद्ध हुने सर्वसाधारणको संख्या पनि बृद्धि भएको छ । अध्ययन अनुसार वैदेशिक रोजगारीमा जानुपूर्व लघुवित्त, सहकारी तथा अन्य संघ संस्थाहरुमा पारिवारिक सदस्यहरुको आबद्धता ३७.३४ प्रतिशत रहेकोमा रोजगारीमा गएपछि वृद्धि भई ६४.२३ प्रतिशत पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
रेमिट्यान्स आम्दानी गर्ने परिवारका सदस्यहरुले बचत गर्नका लागि समेत सहकारीमा सदस्य हुने गरेको पाइएको छ । बैदेशिक रोजगारीमा जानुपुर्व ६२.६६ प्रतिशत घरपरिवार सहकारी, लघुवित्तलगायतका संघसंस्थामा आवद्ध नभएकोमा वैदेशिक रोजगारीमा गएपछि ३५.७७ प्रतिशत मात्र आवद्ध हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले लुम्बिनी प्रदेशका पाँच जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका तीन सय ८३ परिवारको स्थलगत सर्वेक्षणका आधारमा अध्ययन गरी प्रतिवेदन तयार पारेको हो ।
अध्ययनमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुले कमाएको करिब ६० प्रतिशत रकम उपभोगमा नै खर्च गरेको पाइएको छ । यस्तै वैदेशिक रोजगारीमा गएको परिवार व्यापार व्यवसायमा लागेको र जसको कारण खेतियोग्य जमिन बाझो हुन थालेको समेत औल्याइएको छ । अध्ययन प्रतिवेदनले रेमिट्यान्सको रकम उत्पादनशिल क्षेत्रमा परिचालन गर्ने नीति ल्याउन समेत सरकारलाई सुझाव दिएको छ ।
What's Your Reaction?






