२५ वर्षे अनुभव बोकेका हरिबहादुर खत्री : सहकारी सुधार र प्रविधिकरणमा एक उदाहरणीय यात्रा
कोशी प्रदेशका सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीले आफ्नो कार्यकालमा सहकारी सुधार, प्रविधिमैत्री प्रणाली विकास, सफ्टवेयर सूचीकरण, स्वनियमन टुल्स प्रयोग र वित्तीय पारदर्शितामा गरेका उल्लेखनीय कामहरूको अनुभव साझा गर्नुभएको छ। उहाँले भविष्यमा सहकारी क्षेत्रमा वकालत, प्रशिक्षण र प्रविधि उपयोगमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्री एक स्वघोषित सहकारी विज्ञ हुनुहुन्छ, जसको २५ वर्ष भन्दा बढीको सरकारी सेवा र विशेष गरी सहकारी क्षेत्रमा दशकौंको संलग्नताले उहाँलाई यस क्षेत्रको एक प्रभावशाली व्यक्तित्व बनाएको छ। २०७८ फागुन २३ गतेदेखि प्रदेश सहकारी रजिष्ट्रारको पदमा आसीन हुनुभएका खत्रीले आफ्नो कार्यकालमा सहकारी संस्थाहरूको सुदृढीकरण र प्रविधिमैत्री विकासका लागि उल्लेखनीय पहलहरू गर्नुभएको छ, जसले कोशी प्रदेश मात्र नभई देशैभरका सहकारीहरूका लागि उदाहरणीय कामहरू स्थापित गरेका छन् । उहाँ मिति २०८२ असाढ २३ वाट अवकास हुनुभएको छ । वहाँसंग हाम्रो सहकारी पाना टिमले गरिएको कुराकानी :
· २०७८ फागुन २३ देखि कोशी प्रदेश सहकारी रजिष्ट्रारको पदमा कार्यभार सम्हाल्दै आउनुभएको तपाईँको कार्यकालमा सहकारी संस्थाहरूको सुदृढीकरणका लागि चालिएका मुख्य पहलहरू कुन–कुन रहे? तीमध्ये तपाईंलाई सबैभन्दा गर्व लाग्ने काम कुन हो?
- मेरो कार्यकाल सहकारीको अति नै संकटकाल मध्येको अवधि भएकाले खासै सुधारका काम गर्न सकिएन। कार्यालयमा हाजिर भएकै समयबाट बराह सहकारीमा आएको विचलनसंगै झापा केही ठूला भनिएका सहकारीको संकट त्यसपछि त्यसको छानविन र सहजीकरणसंगै लालुपाते बहुउद्देश्यीय सहकारी खोटाङ र सोको पछि इटहरीको अम्वेकोशी सहकारीको हिनामिना गर्दा गर्दै १२ वटा सहकारीलाई मुद्दा लगाउने काममा लाग्नु पर्दा खासै सुधारका कामहरु गर्न पाइएन ।
क. सहकारीको जोखिमावस्था मापन गरी सोही आधारमा अनुगमन गर्ने अभ्यास
ख. सहकारीमा पर्याप्त नयां विषयका तालीम गोष्टी तथा अनुगमनलाई व्यापक गर्ने कामहरु
ग. सहकारीमा दण्ड र पुरस्कारको व्यवस्था गरी अधिकाधिक प्रतिवेदन बुझाउने अभ्यासको थालनी
घ. सहकारीमा प्रयोग हुने एप्लिकेशन सफ्टवेयरहरुको सूचीकरण र यसैका आधारमा अनलाइन अनुगमनको व्यवस्थाको थालनी गरी कम्पनीसंग संझौताका कामहरु
ङ. सहकारी सिध्दान्त परिपालना जांच्ने प्रयोजनका लागि रुजू सूची जारी
च. सहकारीमा सामाजिक परिक्षण जांचका लागि सूची निर्माण तथा जारी गरेको
छ. सहकारी लेखापरीक्षणमा लामो फारम प्रतिवेदनको ढांचा निर्माण र प्रयोग गराएको
ज. वार्षिक रुपमा तथ्यांक प्रकाशन
· तपाईंको पहलमा सहकारी सफ्टवेयरहरूको सूचीकरणको कार्य सुरु भयो, जुन नेपालको सहकारी प्रविधि क्षेत्रमै उदाहरणीय मानिन्छ। यस प्रयासको उद्देश्य, कार्यान्वयन प्रक्रिया र यसको प्रभावबारे विस्तृत रूपमा बताउन सक्नुहुन्छ?
- सहकारीमा हिनामिनाका संभावनाहरु धेरै रहने तथा त्यस प्रकारका हिनामिनामा लुकाउनका लागि प्रहरीबाट हुने अनुसन्धानका लागि सहयोगी हुने त्यस गरी सफ्टवेयर निर्माण गर्ने कम्पनीहरुका बीच हुने अनावश्यक प्रतिस्पर्धाबाट यस क्षेत्रलाई मुक्त गर्ने र सहकारीमा वित्तीय सुशासन कायम गर्ने अभिप्रायले जारी गरियो । यसको प्रभाव जांच गर्ने गरी काम गर्न भ्याइएन नेपालको प्रशासनमा यौटा व्यक्तिले लिएको सोच उसैसंग रहने र यसको निरन्तरताको खांचो हुन्छ । यसको लिगेसी र मर्म बुझ्ने नेतृत्व आयो र निरन्तरता दिएको खण्डमा राम्रै काम होला नभए भन्न गाह्रो छ ।
· Cooperative Monitoring Software निर्माणको अन्तिम चरणमा रहेको बताउनुभएको छ। यस्तो प्रविधिको विकासमा तपाईंले खेल्नुभएको भूमिकाबारे बताउनुहोस् र यस प्रणाली लागू भएपछि कस्तो रूपान्तरणको अपेक्षा गर्न सकिन्छ?
– खास गरी यो कुरा कानूनमा नभएको भने होइन सहकारी नियमावलीमा ५ करोडभन्दा बढी करोबार गर्ने सहकारीहरुमा अनिवार्य सफ्टवेयरको प्रयोग गर्न पर्ने व्यवस्था रहेको र यसलाई कसैन कसैले व्यवस्थित गर्न नै पर्ने थियो । हामीलाई नै गुरु थापेर सहकारी विभागले पनि यसलाई अनुसरण गर्ने कामको थालनी भएको छ । यसबाटै कोपोमिस लगायत सम्पत्ति सुध्दिकरणको सफ्टवेयरमा पनि एपिआइका माध्यमबाट डाटाहरु पठाउने व्यवस्था मिलाउन सकिने र कामको दोहोरोपनाको अन्त्य हुने अपेक्षा लिएको छ ।
· सहकारीको वित्तीय मूल्याङ्कनका लागि तपाईंले ‘Financial Analysis’, ‘PARLS Monitoring’ र ‘MCI’ जस्ता सूचक र उपकरणहरूको विकासमा योगदान गर्नुभयो। यी औजारहरूले सहकारीको व्यवस्थापन र जोखिम न्यूनीकरणमा कसरी टेवा पुगे?
– यी सूचकहरु विकासमा भन्दा पनि उपयोगमा हाम्रो विशेष ध्यान गएको हो र पर्ल्स र सदस्य केन्द्रीयताको मिश्रणबाट जोखिमावस्था पत्ता लगाउने टुल्सको उपयोग गर्न लागिएको हो ।यसबाट आफ्नो संस्थालाई स्वनियमनमा रहे नरहेको जांच्न सकिने देखिन्छ ।
· प्रशिक्षण कार्यक्रमहरूमा तपाईंको विशेष रुचि देखिएको छ। तपाईंको कार्यकालमा सञ्चालित सहकारी प्रशिक्षणहरूबाट प्राप्त उपलब्धिहरू र प्रभावहरूबारे के भन्नुहुन्छ?
– हामीले प्रदेश सरकार गठन भएदेखि ५००० जनशक्तिलाई विभिन्न स्वादका तालीमहरु प्रदान गर्यौ । यसवर्ष मात्रै १५०० जनालाइ विभिन्न प्रकारका तालिमहरु संचालन गरेकाछौं । यसको प्रभाव हेर्नका लागि केही टुल्सहरु पनि विकास गरेकाछौं । अवको नेतृत्वले यसमा काम गर्नु पर्छ ।
· सहकारी ऐन २०७४ अनुसार तपाईंले सूक्ष्म निरीक्षणमार्फत विभिन्न संस्थाहरूको कमजोरी सुधार गर्नुभयो। कुनै उदाहरणीय सुधारको घटना बताउनुहोस्, जसले सहकारीलाई सही मार्गमा डोर्यायो।
– खास गरी ठुला कारोबार गर्ने झापाका सहकारीहरुमा वाह्य ऋणको मात्रा ज्यादा रहने र यसको व्यापक दुरुपयोगको सम्भावना भएका कुराहरुमा विशेषज्ञबाट हिसाव छानविन र संचालकहरुबाट हिनामिना मिलानका अलावा मोरङको माछापुच्छ्रे सहकारीमा बहुवर्षको हिसावमा व्यापक अनुसन्धानले अहिले मिलापत्र गर्न चाहनेहरुलाई पनि विशेष आधार प्रदान गरेको पाइन्छ। कतिपय सहकारीहरुको हिसाव राम्ररी केलाउन सकियो भने तिरेर मिलापत्र गर्ने प्रयोजन वा मुद्दा प्रयोजनका लागि सजिलो हुन्छ । यसका लागि संस्थामा केही गडबढीको गन्ध आउनासाथ हिसाव केलाउने काम गरियो भने सजिलो हुन्छ ।
· सदस्यकेन्द्रित सहकारी अवधारणालाई व्यवहारमा उतार्न तपाईँले प्रवर्तित ‘MCI को प्रयोग अनुभवबारे बताउनुहोस्। यसले संस्थाहरूको दृष्टिकोणमा के परिवर्तन ल्यायो?
– यो अवधारणा नेपाल सरकारले नै जारी गरेको अवधारणा हो । यो पनि सहकारी स्वनियमनको एक औजारका रुपमा विकास गरिएको छ ।यसले सहकारी संस्थाको दीगोपनका तीन आधारहरुको चर्चा गरेकोछ । ती तीन आधारहरु संस्थापकीय आधार भन्नाले संस्थाको पूंजी संरचना अर्थात संस्थामा कहिल्यै पूजीको अभाव नभै संचालन हुन दीगो र सदस्यले आफै निर्माण गरेको पूंजी चाहिन्छ भन्दछ । त्यसै गरी संस्था सदस्यको मागमा आधारित भएर चल्नुपर्ने भएका संस्था संचालनमा सदस्यको अधिक सहभागिता अर्थात निर्णय गर्ने विनियोजन वा विमर्शमुलक अवस्था सृजना गर्नुपर्छ यसका लागि एकाइ साधारण सभाको उपयीग विशेष साधारण सभा र प्रत्येक २ महिनामा विस्तारित बैठकको आयोजना गरी आफ्ना नीति विधि र प्रविधिमा विमर्श गर्नुपर्नेहुन्छ। त्यसै गरी संस्था कारोबारका लागि स्थापना भएकाले संस्थाले दिने सेवामा अधिकाधिक सदस्यले चासोका साथ उपयोग गर्नुपर्छ । यी तीनभूजाको समबाहु त्रिभुज नै सदस्य केन्द्रियता हो ।
· तपाईंको कार्यकालमा कोशी प्रदेशका सहकारी संस्थाहरू प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाउने दिशामा लिइएका बहु–आयामिक पहलहरूबारे बताउनुस्। कुन पहलहरू दीर्घकालीन प्रभाव पार्नेछन् भन्ने लाग्छ?
– स्वनियमनका औजारको उपयोग नै सहकारीको राम्रो अस्त्र हो । सहकारी सदस्यको हितमा हुनुपर्ने संस्थाले केही मुठ्ठीभरका बुलाहाहरुले दोहन गरेको अवस्थामा यसले कहिल्यै राम्रो परिणाम दिदैन । प्रविधिमैत्री भनेको स्वनियमनका औजारको भरपुर उपयोग सूचना प्रविधिसंग जोडिएर सो मुताविकका सफ्टवेयर र सफ्टवेयर अनुगमनको स्वचालित प्रणाली विकास र सोको निरन्तर अनुगमन सदस्यस्तर वित्तीय साक्षरता व्यवसायिक क्षमता विकास तालीम र संचालकस्तरका नेतृत्व सीप विकास तालीम नियामकहरुमा नियामकीय सीपको विकास भएमा सहकारीमा समस्या रहंदैनन । हामीले विकास गरेका प्रणालीले निरन्तरता र सोमा समयसापेक्ष सुधार भएमा यसको बहुआयामिक र दीर्घकालीन प्रभाव पर्नेछन् ।
· सहकारी विषयमा तपाईंले कलम चलाउनुभएको छ। तपाईंका पुस्तक, लेख र रचनाहरूले सहकारी ज्ञान र नेतृत्व विकासमा कसरी योगदान पुर्याएका छन्? कुनै उल्लेखनीय प्रकाशनबारे बताउनुहोस्।
– मैले सहकारीकर्मीहरुसंगै सिकेर केही रचनाहरु संकलन गरेको थिए । अव त्यसलाई पनि परिमार्जन गर्ने सोचमा छु । सहकारीकर्मीहरुमा सहकारीको आधारभूत ज्ञान नै छैन खाली देखासेकीमा सहकारी खोलेर जानी नजानी अरुको सिको गरेका र त्यसमा पनि नगर्ने चै सबै गर्ने गर्नपर्ने चै केही नगर्नु नै सहकारी संकटको एक आधार हो । वास्तवमा सहकारीको आधारभूत ज्ञान भएर सदस्य संस्थामा प्रवेश गर्ने भएको भए र ती सदस्यको अधिकतर हितमा सहकारीलाई चलाउन सकिएको भए सहकारी व्यवसायमा कहिल्यै संकट आउदैन किनकी सहकारी त संकटकै ज्वालामुखीमा उत्पन्न भएको व्यवसाय हो भने यसले अव के को संकट व्यहोर्दछ र कुरा रह्य मैले प्रकाशन गरेका पुस्तकमा संकलित कुराहरु त त्यसभन्दा माथिका कुराहरु हुन त्यसलाई अपनाएमा त सहकारीकर्मीलाई मार्गदर्शककै रुपमा काम गर्नेछ ।
· अब तपाईं अनिवार्य अवकाशमा जान लाग्नु भएको अवस्थामा, आफ्नो कार्यकालबाट भावी नेतृत्वलाई दिन चाहनु भएको सन्देश र सहकारी क्षेत्रको दीर्घकालीन सुधारका लागि दिन सकिने प्रमुख सुझावहरू के–के हुन्?
– मेरो अवकाश सरकारीक्षेत्रमा मात्रै हो र चाह्यो भने अझैपनि लिन सक्नेछ विभिन्न रुपमा । हाम्रो नेतृत्वमा रहेका साथीहरु निकै नै लगनसिल र सृजनात्मक हुनुहुन्छ म लगायतका साथीहरु सधै त्यहा रहन्छन भन्ने हुंदैन । तत्कालीन नेतृत्वले हामीसंग पनि सहकार्य गरेमा उहांहरुलाई पनि सरल हुनेछ । यतिवेला सहकारी विग्रहको चरम अवस्थामा एकैजनाको सोचले मात्रै काम नगर्न सक्छ । अव बहुनियामकीय व्यवस्था सहकारीमा लागू भैसकेकाले तततत निकायले मेरो सीपका उपयोग गर्न सक्छ । यसका लागि समय सापेक्ष सुधार नीति विधि र आधुनिक प्रविधिको अधिकतम उपयोगमा जोड दिन सकेमा सुधारका संभावनाहरु रहन्छन् । मैले अवका दिनहरुमा सहकारी कानूनका क्षेत्रमा वकालत गरेर, सहकारी प्रशिक्षणका क्षेत्रमा प्रशिक्षण दिएर, सूचना प्रविधिका क्षेत्रमा जानेसम्म सहजीकरण, नियामकीय क्षेत्रमा प्रदेश पालिकाहरुमा प्रशिक्षण र अनुगमन सीप दिएर, वित्तीय व्यवस्थापन र लेखा तथा लेखापरीक्षणका क्षेत्रमा सहकारीले चाहेको सेवा दिन वा सहकारी क्षेत्रलाई थ्रिडी चेक गर्न सक्षम छु भन्ने लाग्दछ ।
What's Your Reaction?






