प्राधिकरणमा स्वागत छ, कमरेड!...अब सहकारी तपाईकै भरोसामा
यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। पार्टीभित्र पद पाएर ‘रियल पावर’ प्रयोग गर्न नसकेपछि ‘प्राधिकरण’ नामक संरचना बनाएर त्यो पावर आफूले सम्हाल्ने खेलजस्तो महसुस भएको छ। सहकारी सुधारको नाममा बनेको प्राधिकरणको नेतृत्वमा आउनु भएका डा. खगराज शर्माप्रति अपेक्षा पनि छ, आशंका पनि।
स्वागत छ, कमरेड...
नेपालको सहकारी अभियान साँचिकै जनआधारित, साझा र आर्थिक रूपान्तरणको मेरुदण्ड बन्न सक्थ्यो — यदि यसलाई राजनीतिको पासोमा पारिएको थिएन भने। दशकौंअघिदेखि सहकारी क्षेत्रलाई स्वायत्त र जनकेन्द्रित बनाउने भनिए पनि, व्यवहारमा यसको नीति, नेतृत्व, र नियमन सबैतिर राजनीति नै हावी रहँदै आएको छ।
सहकारी विभागलाई समेत राजनीतिक हस्तक्षेपले गाँजेको छ। फलस्वरूप नियमन कमजोर, अनुगमन नाम मात्रको, र नीति कार्यान्वयन शून्यप्रायः देखिएको छ। यस्तै पृष्ठभूमिमा सरकारले राष्ट्र बैंकलाई सहकारी नियमनको जिम्मेवारी दिने निर्णय गर्यो। साथसाथै, सहकारी क्षेत्रको सुधार र पुनर्संरचना गर्ने आशामा सहकारी प्राधिकरणको परिकल्पना पनि गरियो।
प्राधिकरणप्रति आशा, तर नियुक्तिप्रति आशंका
सबैको आशा थियो — प्राधिकरण आएपछि राजनीतिबाट मुक्त, दक्ष, अनुभवी र पेशागत नेतृत्व आउनेछ, जसले यो बिग्रिँदो सहकारी क्षेत्रलाई सुधार गर्नेछ।अब सहकारी क्षेत्रले राजनीति होइन, नीति र सिद्धान्तको बाटो समात्नेछ। सहकारी प्राधिकरण एक निष्पक्ष, व्यावसायिक, र अनुभवी संरचना हुनेछ भन्ने आशा थियो। तर आशाविपरीत, प्राधिकरणको अध्यक्षमा पुनः त्यही राजनीतिक गुटको नेता चयन भएको छ — जुन विगतदेखि सहकारी संघ, महासंघहरूमा पार्टीको कुन मान्छे पठाउने निर्णयमा प्रभाव जमाउने गर्दै आएको थियो।
यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। पार्टीभित्र पद पाएर ‘रियल पावर’ प्रयोग गर्न नसकेपछि ‘प्राधिकरण’ नामक संरचना बनाएर त्यो पावर आफूले सम्हाल्ने खेलजस्तो महसुस भएको छ।
तर यसमा एउटा सम्भावना पनि छ
डा. खगराज शर्माज्यू विगतदेखि सहकारी अभियानमा आवद्ध हुनुहुन्छ, त्यो सबन्धलाई हामी इन्कार गर्न सक्दैनौं। उहाँले यस नियुक्तिलाई अवसरको रूपमा लिएर विगतका राजनीतिक छायाबाट माथि उठेर निष्पक्ष, सशक्त र स्वच्छ नेतृत्व दिन सक्नुहुन्छ भने — हामीजस्ता आलोचकहरू गलत प्रमाणित हुनेछौं। त्यो हाम्रो लागि खुशीको कुरा हुनेछ।
सहकारीमा नयाँ नीति, प्रविधि, पारदर्शिता, र अनुगमन प्रणाली कार्यान्वयन गर्नु आवश्यक छ।हामी राजनीतिक पूर्वाग्रह होइन, कार्यको परिणाम हेर्छौं। यदि प्राधिकरणले नीति निर्माणमा स्वतन्त्रता देखायो, गलत सहकारीहरूलाई कारबाही गर्यो, नाफामूलक र ठगीप्रवृत्तिलाई नियन्त्रण गर्यो र जनआधारित सहकारीलाई प्रवर्द्धन गर्यो भने — डा. खगराजको नेतृत्वलाई सही ठहरिनेछ।
सहकारीहरूलाई सञ्चालन स्वतन्त्रता दिँदै, उत्तरदायित्वमा बाँध्न सक्ने संयन्त्र बनाउनु आजको आवश्यकता हो। त्यसका लागि प्राधिकरणलाई राजनीतिक भन्दा व्यावसायिक शैलीमा चलाउन सक्नुपर्नेछ। अतः, आलोचना मात्र होइन, अपेक्षा पनि गरौं — उहाँको कार्यले हाम्रो शंका गलत बनाओस्। सहकारी क्षेत्र सुध्रियोस्, राजनीतिक दखल कम होस्, र सहकारीहरू साँच्चिकै साझा समृद्धिको आधार बन्न सकोस्।
डा. खगराज शर्माज्यूलाई सफल कार्यकालको शुभकामना। जय सहकारी!
"यस लेखमा 'डा. शर्मा' हुनु पर्ने ठाउँमा सम्पादकीय त्रुटिका कारण 'डा. अधिकारी' उल्लेख भएको थियो। यो त्रुटिका लागि हामी क्षमाप्रार्थी छौँ र भुल सुधार गरिएको जानकारी गराउद छौं।" ~ सहकारीपाना
What's Your Reaction?


