जुत्ताको माला लगाएर होइन, सहकार्यको माला गासेर सहकारी अघि बढाऔं

हाल सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि दुर्व्यवहारका घटनाहरू बढिरहेका छन्। यस्ता कार्य कानुनी अपराध हुन् र सम्पूर्ण सहकारी अभियानमाथिको प्रहार हुन्। दोषीमाथि कडा कारबाही अपरिहार्य छ।

२०८२-०४-०२
 0  324
जुत्ताको माला लगाएर होइन, सहकार्यको माला गासेर सहकारी अघि बढाऔं

हालैका दिनहरूमा सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि दुर्व्यवहारका घटनाहरू बढेका छन्, जुन अत्यन्तै निन्दनीय र गम्भीर विषय हो। विशेषगरी, सहकारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मधुमल्ला सेवा केन्द्रमा भएको घटना ले त झन् यस विकृतिको पराकाष्ठा नै देखाएको छ। कर्मचारीमाथि दुर्व्यवहार गरिएको भिडियो स्वयम् ऋणी सदस्यले नै खिचेर सार्वजनिक गर्नुले उनीहरूमा बहादुरी देखाउने गलत मनोवृत्ति मौलाएको स्पष्ट हुन्छ। यस्तो कार्यले आफूलाई 'बहादुर' देखाएको ठानिएला, तर वास्तविकतामा यो कानुनी अपराध हो र यसले समाजमा अराजकता सिर्जना गर्छ।

आफूलाई आवश्यक पर्दा लिएको ऋण कर्मचारीलाई जुत्ताको माला लगाएपछि वा दुर्व्यवहार गरेपछि छुटकारा पाइन्छ भन्ने सोच सरासर गलत हो। यो एउटा गैरकानुनी कार्य हो र यसले कसैलाई पनि ऋण चुक्ता गर्ने दायित्वबाट मुक्त गर्दैन। बरु, यस्ता कार्यले सम्बन्धित ऋणीलाई थप कानुनी झमेलामा पार्छ। सहकारीका कर्मचारीहरूले तिनै सदस्यहरूको सानोसानो बचतलाई व्यवस्थापन गरी ऋणका रूपमा सदस्यहरूलाई नै उपलब्ध गराउने मध्यस्थकर्ताको भूमिका मात्र खेलेका हुन्छन्। उनीहरू आफ्नो व्यावसायिक कर्ममा इमान्दारीपूर्वक खटिने व्यक्ति हुन्। असुलीका लागि घरमा पुगेका कर्मचारीहरूमाथि गरिएको दुर्व्यवहारको जतिसुकै भत्र्सना गरे पनि कम हुन्छ।

केही समूहहरूले जानाजान सहकारीको ऋण तिर्नु पर्दैन भनी अफवाह फैलाएको देखिन्छ। यस्ता गिरोहले आम सदस्यहरूलाई उक्साएर ऋण नतिर्न प्रोत्साहन गरिरहेका छन्, जसले गर्दा खराब नियत भएको ऋणी सदस्यहरूको मनोबल बढेको छ। यस्तो अफवाहको पछि लागेर आफूलाई आवश्यक परेको बेला लिएको ऋण तिर्नुको सट्टा कर्मचारीहरूमाथि नै दुर्व्यवहार गर्नु कुनै पनि हिसाबले जायज हुँदैन। यो केवल व्यक्तिगत समस्या मात्र नभई समग्र सहकारी अभियानमाथिको प्रहार हो। ऋणी सदस्यहरूले आफूले लिएको ऋण तिनै सदस्यहरूको सानो-सानो बचत हो भन्ने कुरा बुझ्न आवश्यक छ। आफ्नो अफ्ठ्यारोमा लिएको ऋण समयमा तिर्नु र बुझाउनुको सट्टा असुलीका लागि घरमा पुगेका कर्मचारीहरूलाई गरेको दुर्व्यवहार निन्दा र भत्र्सनाले मात्र पुग्ने तहको छैन।

यस्ता गलत तत्वहरूलाई कानुनी कठघरामा उभ्याउन र दोषी उपर तत्काल कडा भन्दा कडा कारबाही गर्न ढिलाइ गर्नु हुँदैन। यसले भविष्यमा यस्ता घटना दोहोरिनबाट रोक्न मद्दत पुग्छ र समाजमा कानुनको राज स्थापित हुन्छ। आफ्नो व्यावसायिक कर्ममा इमान्दारीपूर्वक खटिनुभएका कर्मचारी साथीहरूको मनोबल कमजोर हुनु हुँदैन। उनीहरूको साथमा सिंगो सहकारी अभियान उभिनु आवश्यक छ। निर्भीक भएर यस्ता गलत तत्वलाई कानुनी कठघरामा उभ्याउन दबाव सिर्जना गर्नु जरुरी छ। यस सन्दर्भमा, भाखा नघाएका ऋणी सदस्यहरूका लागि हालै गठन भएको कर्जा असुली न्याधिकरणले कर्जा असुलीको कानुनी बाटो खुला गरेको छ। यस न्याधिकरणले ऋण असुलीका लागि सम्बन्धित ऋणीको सम्पत्ति रोक्का गर्ने, लिलामी गर्ने, र कालोसूचीमा राख्नेसम्मका कारबाही गर्न सक्ने अधिकार पाएको छ। यसले सहकारीहरूलाई ऋण असुलीका लागि थप सशक्त कानुनी आधार प्रदान गरेको छ, जसको माध्यमबाट कानूनी प्रक्रिया पूरा गरी ऋण चुक्ता नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।

English Summary:
Recently, incidents of abuse against cooperative staff during loan recovery have increased in Nepal, reflecting a serious societal concern. The case at Madhumalla service center of Sahakara Nepal SACCO is particularly alarming, where the borrower publicly humiliated staff and shared it online. Such acts are not only illegal but threaten the cooperative movement as a whole. The newly formed Loan Recovery Tribunal now empowers cooperatives to take strong legal actions, including property seizure and blacklisting of defaulters.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow