अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५, सहकार्य र समृद्धिको नयाँ यात्रा

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ असार २१ गते “सहकारीहरू: एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक” भन्ने नारासहित मनाइँदैछ। ICA ले २०२५ लाई ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ घोषणा गरेको छ। नेपालमा सहकारीहरूले सामाजिक रूपान्तरणमा योगदान दिँदै आएका छन्, तर केही संस्थाहरूमा देखिएको अपारदर्शिता र अनियमितताले चुनौती खडा गरेका छन्। सुधार, उत्तरदायित्व र ऋण फिर्ताको चेतनासहित सहकारी अभियानलाई सशक्त बनाउनु आवश्यक छ।

२०८२-०३-२१
 0  80
अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५, सहकार्य र समृद्धिको नयाँ यात्रा

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस, "सहकारीहरूः एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक" भन्ने मूल नाराका साथ असार २१ गते शनिबार भव्यताका साथ मनाइँदैछ। विश्वभर एकैसाथ मनाइने यो ११२ औँ दिवसले नेपालको सहकारी आन्दोलनलाई थप सशक्त, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउन विशेष प्रेरणा दिने अवसरको रूपमा आएको छ। यो दिनले सहकारीका मूल्यमान्यता र सिद्धान्तहरूलाई स्मरण गर्दै समाजको समुचित रूपान्तरणमा सहकारीको भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य बोकेको छ।

यसै अवसरमा, अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष को रूपमा घोषणा गरेको छ। यस घोषणाले सहकारी क्षेत्रको वैश्विक महत्त्वलाई थप उजागर गर्दै विश्वभर सहकार्य र दिगो विकासका लागि सहकारीको अपरिहार्यतालाई स्पष्ट पारेको छ। नेपालको सहकारी आन्दोलनमा समर्पित एक माध्यमको नाताले, सहकारी पाना यस महत्त्वपूर्ण दिवसमा सम्पूर्ण सहकारीसँग सम्बद्ध महानुभावहरूलाई हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दछ।

सहकारी: समृद्ध नेपालको आधारशिला

सहकारी अभियानको मेरुदण्डका रूपमा रहनुभएका सम्पूर्ण सहकारी सदस्यहरू, नियामक निकायहरू, सहकारी संघहरू, विषयगत संघहरू, सहकारी संस्थाहरूका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा समितिका सदस्यहरू, अन्य उपसमितिहरू, व्यवस्थापक वर्ग, कार्यालयका कर्मचारीहरू, सहकारी पत्रकार मित्रहरू तथा सहकारी क्षेत्रका शुभचिन्तकहरू सबैको योगदान सराहनीय छ। तपाईंहरूको सक्रियता, इमान्दारिता र लगनशीलताले नेपालको सहकारी क्षेत्रलाई विस्तार मात्र होइन, अझ विश्वसनीय बनाउने दिशामा उल्लेखनीय कार्य भएको छ।

गाउँदेखि शहरसम्म, सहकारी संस्थाहरूले आम जनताको जीवनमा सकारात्मक प्रभाव पारिरहेका छन्। सदस्यहरूको जीवनस्तर उकास्ने, महिलाको सशक्तिकरण गर्ने, युवालाई वैदेशिक रोजगारीको विकल्प प्रदान गर्ने, लघु उद्यमको प्रवर्द्धन गर्ने र सामाजिक समावेशीतालाई व्यवहारमा उतार्ने जस्ता महत्त्वपूर्ण कार्यहरू सहकारीको माध्यमबाट सम्भव भएका छन्। यी सफलताहरूका पछाडि सहकारी अभियन्ताहरूको अटुट परिश्रम, संकल्प र सहकार्यको भावना रहेको छ।

चुनौतीको सामना गर्दै, सुधारको मार्गमा

यद्यपि, सहकारी क्षेत्रमा केही चुनौतीहरू पनि देखा परेका छन्। कतिपय सहकारी संस्थामा देखिएको बचत फिर्ता समस्या, सुशासनको अभाव, अपारदर्शिता र अनियमितताले सम्पूर्ण सहकारी आन्दोलनमाथि नै प्रश्न उठाइरहेका छन्। यस संवेदनशील पृष्ठभूमिमा, सहकारी पाना हार्दिक आग्रह गर्दछ कि सबै सहकारी संस्थाहरूले आत्ममूल्याङ्कन गरी सुधारको बाटो समाउन अग्रसर बनून्। नियामक निकायहरूले सही दिशामा हिँडिरहेका संस्थालाई प्रोत्साहन गर्नुका साथै अनियमित गतिविधिमा संलग्नहरूलाई दण्डित गर्न आवश्यक कानूनी कारबाही तत्काल थालनी गरून्। यसका साथै, सहकारी शिक्षा र जनचेतनाका कार्यक्रमहरूमा समेत नयाँ गति थपिनुपर्छ, ताकि सदस्यहरू आफ्ना अधिकार र दायित्वप्रति सजग बनून्।

हामी प्रत्येक ऋणीलाई यो चेतना फैलाउन चाहन्छौँ कि सहकारीबाट लिएको ऋण सदस्यकै बचतबाट लिइएको हो। खराब ऋणीहरूले आफ्नो दायित्व बोध गरी ऋण फिर्ता गर्नुपर्छ। यसले मात्र सहकारी संस्था पुनः सबल र विश्वसनीय बन्न सक्छ। हामी सबैले सहकारीलाई केवल एक आर्थिक संस्था नभई, समाज रूपान्तरणको आधारशिला हो भन्ने भावनासाथ हेर्नु आवश्यक छ।

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ले सहकार्य, समर्पण र सुधारको भावना बोकेर आएको छ। यो दिवसले सम्पूर्ण सहकारी सरोकारवालाहरूबीच सहकार्यलाई अझ सुदृढ बनाओस्, सहकारी संस्थाहरू सुधारको मार्गमा अग्रसर बनून्, र नेपालको सहकारी आन्दोलनलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानपूर्वक प्रस्तुत गर्ने प्रेरणा बनोस् भन्ने कामना गर्दछौँ।

सहकारी पाना परिवारको तर्फबाट सम्पूर्ण सहकारी परिवारलाई अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ को हार्दिक शुभकामना!

जय सहकारी!

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow