उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थ समितिका सभापति चालिसेको आग्रह 

२०८०-०६-०७
 0  18
उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थ समितिका सभापति चालिसेको आग्रह 

काठमाडौं । संघीय सांसद एवं अर्थ समितिका सभापति सन्तोष चालिसे उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीहरुलाई आग्रह गर्नुभएको छ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा बोल्दै उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । 

‘मुलुकले खाद्यान्न लगायतका हरेक वस्तु विदेशबाट आयात गर्नुपरेको छ’ सभापति चालिसेले भने, ‘घरजग्गा, सवारीसाधन जस्ता क्षेत्रमा लगानीले राज्यलाई कुनै लाभ हुदैन, सहकारीले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्छ ।’ उहाँले अर्थसमितिको सभापति भएका नाताले केही समयभित्रै बैंकको ब्याजदर घटाइ बजारलाई चलायमान गराउन लागिपर्ने बताउनुभयो । 

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सदस्यहरुमा सहकारी मेरो हो भन्ने भावना जागृत हुनुपर्ने बताउनुभयो । सहकारीबाट नै सदस्यको आर्थिकस्तर माथि उक्सनेमा दुईमत नभएको भन्दै उहाँले संस्था बलियो भए सदस्यको आर्थिक सामाजिक हैसियत बलियो बन्ने उल्लेख गर्नुभयो । 

संस्थाकी अध्यक्ष शर्मिला अमात्यले संस्थाले व्यक्तिले होइन विधिले चल्नुपर्छ मान्यताले काम गर्दा विषम परिस्थितिलाई जित्न सकेको अनुभव सुनाउनुभयो । 

संस्थाले गत आर्थिक वर्षसम्ममा १७ करोड ८ लाख सेयरपुँजी, १ अर्ब ७७ करोड बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख ऋण लगानी गरेको छ । गत आवमा १ करोड ४४ लाख रुपैया खुद नाफा गरेको साधारणसभामा जानकारी दिइयो । सभाले शेयर सदस्यलाई १० प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

सहकारीपाना संवाददाता सहकारीपाना संवाददाता