सहकारीमा लेखा समितिको भूमिका ओझेलमा : सापकोटा
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले आन्तिरिक लेखा नियन्त्रण प्रणाली कमजोर भएका सहकारी संस्थामा अहिले वित्तीय संकट आएको बताउनुभएको छ । नेपालको सहकारीमा लेखा समितिको अभ्यास ः व्यवस्था र अवस्थाका विषयमा कार्यपत्र पेश गर्दै उहाँले सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
राज्यले सहकारीको अनुगमनन गर्दा लेखा समितिले काम गरेको छ वा छैन, उसले दिएका सुझावहरु कार्यान्वयन गरेको छ छैन भन्ने जस्ता विषय समेत नहेर्दापनि सस्थाहरुमा समस्या बढेको सापकोटाले बताउनुभयो । संचालक समितिलाई सकृय बनाउन र उनीहरुले गरेका गतिविधिका विषयमा सुक्ष्म ढंगले अध्ययन गरी संस्थालाई सुव्यवस्थित गराउनलाई समिति सकृय रुपमा लाग्न उहाँले सुझाव दिनुभयो ।सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने काम लेखा समितिको भएको उहाँको बुझाइ छ ।
सहकारीमा वित्तीय जोखिम जहिले पनि आउन सक्ने हुँदा त्यसको समाधानको लागि समिति चनाखो हुनुपर्नेमा सापकोटाले जोड दिनुभयो । ‘सहकारी संस्थामा लेखा समितिको भुमिका ओझेलमा परेको छ । संस्थामा समितिको भुमिका के भन्ने? बुझाई प्रष्ट भएन’, उहाँले भन्नुभयो, ‘सहकारी ऐन २०७४ र नियमावलीले समितिको भुमिकाको विषयमा प्रष्ट रुपमा उल्लेख गरेको छ । समितिले आफ्नो भुमिकालाई बुझेर काम गर्नपर्ने हुन्छ ।’
कार्यक्रमको अध्यक्षता धर्मराज देवकोटा तथा टिप्पणीकर्ता नवराज सापकोटाले गर्नुभएको थियो । सस्थाको सम्पत्तिको सुरक्षण र सदस्यको बचतको संरक्षण गर्ने काम लेखा समितिको भएको टिप्पणीकर्ता सापकोटाले औल्याउनुभयो । कसैको दवाव र प्रभावमा नपरी समितिले काम गर्नपर्ने र ऐनले व्यवस्था गरेको अधिकारलाई प्रयोग गर्न उनले आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाका सहभागिहरुले लेखा समितिको तालिमहरु प्रयाप्त नभएको र समितिले उठाएका विषयहरुलाई सञ्चालकहरुले लागु नगरेको समेत गुनासो गर्नुभएको थियो ।
What's Your Reaction?


