लयमा फर्किदै अर्थतन्त्र, सहकारीमा सकारात्मक असरको आशा
बैंक, वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बृद्धि हुन थालेपछि सहकारीमा पनि तरलता बढ्ने आशामा सहकारीहरु देखिएका छन् । बैंकको कर्जाले बजारमा आर्थिक गतिविधि बढ्ने र यसबाट सहकारीहरुको दैनिक बचत संकलन बढ्ने र ऋण असुली समेत सहज हुने उनीहरुको विश्लेषण छ । यसैगरी लामो समयदखि सुस्ताएको घरजग्गा, शेयर बजारलगायतका क्षेत्रको कारोबार पनि पुरानै लयमा फर्किनेमा सहकारीका संचालकहरु आशावादी देखिन्छन् ।

काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस–युक्रेन युद्दको प्रभावले शिथिल बनेको नेपाली अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदनले रेमिट्यान्स आप्रवाहमा बृद्धि, शोधानान्तर स्थिती र विदेशी मुद्रा संचितीमा उल्लेख्य सुधार भएको औल्याएको छ । यसैगरी बैंकहरुको निक्षेप तथा कर्जा प्रवाहका साथै सरकारको राजश्व संकलन पनि बढ्न थालेकाले आन्तरिक अर्थतन्त्र विस्तारै लयमा फर्किने थालेको संकेत देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको भदौ महिनासम्ममा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्सबाट भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष भदौमा रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेको थियो । यसैगरी भदौ महिनासम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ ।
भदौ महिनामा मात्र एक खर्ब १२ अर्ब रुपैयाँ विप्रेषणबाट भित्रिएको छ । साउन महिनामा १ खर्ब १६ अर्ब एक करोड रुपैयाँ विप्रेषणबाट भित्रिएको थियो ।
यसैगरी चालु आर्थिक वर्षको भदौसम्ममा देशमा भित्रने र बाहिरिने रकमको अन्तर अर्थात शोधानान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो गत आवको भदौमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको भदौमा ४० करोड ५६ लाखले बचतमा छ ।
ब्यापार र सेवा घाटा घट्नुका साथै रेमिट्यान्स आम्दानी राम्रो हुँदा शोधानान्तर बचत बढेको हो । शोधानान्तर बचत उच्च हुँदा विदेशी मुद्राको संचिती पनि हालसम्मकै उच्च भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी मुद्राको सञ्चिति ३ दशमलव ९ प्रतिशतले वृद्धि भई २०८० भदौमा १५ खर्ब ९८ अर्ब ९० करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असार मसान्तमा अर्ब ७१ करोड रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था रहेको छ ।
अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सहज भएसँगै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको छ । भदौ महिनामा बैंक, वित्तीय संस्थाको निक्षेप तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको छ । भदौसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७ अर्ब ५६ करोड (०.१ प्रतिशत) ले मात्र घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४३ अर्ब ६६ करोड (०.९ प्रतिशत) ले घटेको थियो ।
यस्तै चालु आवको भदौमा बैंक, वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२४ अर्ब १३ करोड (०.५ प्रतिशत) ले बढेको थियो । बैंक, वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बृद्धि हुनथालेपछि सहकारीमा पनि तरलता बढ्ने आशामा सहकारीहरु देखिएका छन् । बैंकको कर्जाले बजारमा आर्थिक गतिविधि बढ्ने र यसबाट सहकारीहरुको दैनिक बचत संकलन बढ्ने र ऋण असुली समेत सहज हुने उनीहरुको विश्लेषण छ । यसैगरी लामो समयदखि सुस्ताएको घरजग्गा, शेयर बजारलगायतका क्षेत्रको कारोबार पनि पुरानै लयमा फर्किनेमा सहकारीका संचालकहरु आशावादी देखिन्छन् ।
बैंकको कर्जाले बजारको गतिविधि बढ्ने र त्यसबाट सहकारीमा पनि निक्षेप बढ्ने जानकारहरु बताउछन् । यसबाट अहिले सहकारी क्षेत्रमा देखिएको समस्यालाई हल गर्न केही काम गर्ने उनीहरुको तर्क छ ।
What's Your Reaction?






