बाढीपहिरो प्रभावितका लागि मध्य नेपाल साकोसको मानवीय सहयोग
मध्य नेपाल साकोसले भोटेकोशी बाढी प्रभावितका लागि रु. १,११,१११ सहयोग गरेको छ। यसले सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय प्रतिबद्धता देखाएको छ।
देवचुली । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. १,११,१११ (एक लाख एघार हजार एक सय एघार) आर्थिक सहयोग गरेको छ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएको अवस्थाप्रति संवेदनशील हुँदै संस्थाले उक्त सहयोग गरेको हो।
विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व (CSR) तथा मानवीय कर्तव्य भएको संस्थाले जनाएको छ।
संस्थाको सञ्चालक समितिको निर्णयअनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमितिका सदस्यहरू तथा सम्पूर्ण कर्मचारीहरूबाट सहयोग रकम संकलन गरी त्यसमा संस्थाको तर्फबाट समेत रकम थप गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। सहयोग रकममा समिति तथा उपसमितिका सदस्यहरूले प्राप्त गर्ने एक बैठकको भत्ता तथा सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब समेत समावेश गरिएको संस्थाले जनाएको छ।
मध्य नेपाल साकोसले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिँदै सहकारी संस्थाहरूले वित्तीय कारोबार र सदस्य सेवासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।
संस्थाले गरेको यस सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को समयमा एकअर्काको साथ र सहयोग नै मानवीयताको महत्वपूर्ण परिचय भएको संस्थाको धारणा छ।
“विपद्को पीडामा मल्हम लगाउनु केवल सहयोग होइन, मानवीय जिम्मेवारी हो” भन्ने भावनाका साथ गरिएको यस सहयोगले सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ।
What's Your Reaction?


